राष्ट्रिय सभा बैठक पन्ध्र मिनेटको लागि स्थगित (भिडियोसहित)

काठमाडौं । राष्ट्रिय सभा बैठक पन्ध्र मिनेटको लागि स्थगित भएको छ । आज पनि प्रमुख प्रतिपक्षी दल एमालेको विरोध कायमै रहेको छ ।  नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा दिउँसो १ बजे बैठक शुरू भएलगत्तै एमाले सांसदहरुले सभामुख अग्नि सापकोटाको भूमिका तटस्थ नभएको भन्दै अवरोध जनाएका हुन् ।

एमाले सांसदको अवरोधपछि अध्यक्ष गणेश तिमिल्सिनाले आफ्नो भनाइ राख्न दिएको समयमा राष्ट्रियसभा सदस्य देवेन्द्र दाहालले सरकारले ‘गुरिल्ला’ शैली अपनाएको भन्दै आक्रोश पोखे ।

सरकारले प्रमुख प्रतिपक्षीको विरोधका बीच जवरजस्ती वजेट अध्यादेश अघि बढाउँदा अर्थमन्त्री जनार्दन शर्माले मर्यादा नाघेको उनले आरोप लगाए ।

‘संसदीय अभ्यासमा मर्यादा हुन्छ, बजेटको प्रतिस्थापन अध्यादेश पेस गर्नुपूर्व अर्थमन्त्रीको आसन कुनामा थियो, अझ बजेट पेस गर्न त उहाँ कुदेर नै रोष्ट्रममा पुग्नु भयो । भन्न पनि अप्ठ्यारो लागेको छ तर भन्नै पर्छ उहाँले गुरिल्ला शैली अपनाउनुभयाे’, दाहालले भने ।

मन्तव्यको अन्त्यमा उनले राष्ट्रियसभा पनि चल्न नदिने बताएपछि अध्यक्ष तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका छन् । बैठकमा सरकारले सोमबार प्रतिनिधि सभाबाट पारित बजेट अध्यादेश पेस गर्ने सम्भावित कार्यसूची छ ।

प्रतिक्रिया