इलाममा एमालेका सुहाङले अग्रता बढाउँदै, कांग्रेसको रुखलाई टक्कर दिँदै मुढा

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम– २ मा भएको उपनिर्वाचनको मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उम्मेदवार सुहाङ नेम्वाङले निरन्तर अग्रता बढाएका छन् ।

फाकफोकथुम, चुलाचुली, माङसेबुङ गाउँपालिका, माई नगरपालिका र देउमाई नगरपालिका–१ र २ को मतगणना सकिँदा नेम्वाङले नेपाली कांग्रेसका उम्मेदवा डम्बरबहादुुर खड्काभन्दा पाँच हजार ३०२ मतान्तरले अग्रता लिएका छन् । नेम्वाङले १४ हजार ६१३ मत प्राप्त गर्दा दोस्रो स्थानमा रहेका कांग्रेसका खड्काले ९ हजार ३११ मत पाएका छन् ।

कांग्रेसका उम्मेदवार खड्कालाई पहिचानवादी स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बू थेगिमले कडा टक्कर दिइरहेका छन् । ‘मुढा’ चिन्ह पाएका थेगिमले आठ हजार ५८५ मत प्राप्त गरी कांग्रेसका खड्कालाई टक्कर दिइरहेका छन् । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार मिलन लिम्बूले दुई हजार ७५ मतसहित चौथो स्थानमा छन् ।

यही क्रममा नतिजा आउने हो भने सुहाङको जित निश्चित देखिन्छ भने मिलनको जमानत जफत हुनेछ । ६ वटा पालिका रहेको सो क्षेत्रको अहिले देउमाई नगरपालिका ३, ४ र ५ को मतगणना भइरहेको छ । इलाम नगरपालिकाको मतगणना गर्न बाँकी छ ।

एक लाख १५ हजार ८८९ मतदाता रहेको सो क्षेत्रमा ६९ हजार २८७ जनाले मतदान गरेका थिए । इलाम– २ मा तत्कालीन प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको निधन भएपछि उपनिर्वाचन भएको हो ।

प्रतिक्रिया