वीरगञ्जमा पूर्वमन्त्री शर्माको पहलमा सडक ढलान, स्थानीय खुसी

वीरगञ्ज । वीरगञ्जस्थित वडा नम्बर ९ र १० को सीमानामा पर्ने घडिअर्वा पोखरी हुँदै रानिघाट जाने करिब २१० मिटर सडक ढलानको काम तीव्र गतिमा भइरहेको छ । मधेस प्रदेश सरकारले विनियोजन गरेको १० लाख रुपैयाँको लागतमा ढलान सुरु गरिएको हो ।

वीरगञ्ज महानगरपालिकाको सहायक मेन रोडको रुपमा रहेको उक्त सडक बनाउनका लागि मधेस प्रदेश सरकारका पूर्वउर्जा तथा खानेपानी मन्त्री ओमप्रकाश शर्माको पहलमा प्रदेश सरकारले रकम विनियोजन गरेको थियो । त्यस्तै उनको पहलमा वडा नम्बर १० मा रहेको शिव पार्वती धर्मशालाको लागि समेत रु १० लाख रकम विनियोजन भएको छ ।

वीरगञ्ज महानगपालिका– १० का पूर्ववडा अध्यक्ष राम नगिना प्रसाद कानुले अहिले आफ्नो वडामा भइरहेको सडक ढलान, कालोपत्रे सडकको तुलनामा टिकाउ हुने भएकाले ढलान सडक निर्माणलाई प्राथमिकता दिएकोमा मधेस प्रदेश सरकार र सडक बनाउन पहल गरिदिएका पूर्वमन्त्री शर्मालाई धन्यवाद समेत दिएका छन् ।

उनले निश्चित मापदण्डमा आधारित भएर सडक ढलान गर्ने कमलाई प्राथमिकतामा राखेमा यस्ता सडक टिकाउ र गुणस्तरीय हुने र बिटुमिन आयात समेत घट्ने बताए । आफ्नै ठाउँको सडक ढलान हुने भएपछि स्थानीयवासी खुसी हुँदै श्रमदानमा लागेका छन् ।

प्रदेश सरकारले विनियोजन गरेको बजेटबाट सडक निर्माण सुरु गरे पनि आफ्नो ठाउँको विकास हुँदा आफूूहरुको पनि केही योगदान रहोस् भनेर श्रमदान गरिरहेको स्थानीयवासीन्दा तथा नेपाली कांग्रेस पर्साका कार्यसमिति सदस्य हिरालाल साह कानुले बताए ।

देशको विकासमा हरेक नागरिकले सक्दो श्रमदान गर्नुपर्नेमा उनले जोड दिए । त्यस्तै सडक ढलानमा श्रमदान गर्नेहरुमा स्थानीयवासी तथा नेपाल पत्रकार महासंघ पर्साका कार्यलय प्रमुख शिव शंकर साह कानु, सुकान महतो, विनोद साह, हरि शंकर कानु, उमेश गुप्ता, रामकुमार गुप्ता, मोनु साहलगायत रहेका थिए ।

वीरगञ्ज महानगपरपालिकाको लापरबाहीले समयमै सडकको मर्मतसम्भार नहुँदा खाल्डो भएर धेरै पटक मोटरसाइकल, टेम्पोलगायत सवारीसाधन दुर्घटना हुने गरेको थियो । सो सडक ढलान भएपछि सवारीसाधन आवतजावतमा सहज हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया