गोपीले बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने

काठमाडौं । नेपाली म्याराथन धावक गोपीचन्द्र पार्कीले जर्मनीमा हुने विश्व चर्चित बर्लिन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । गत जुलाई–अगष्टमा जापानमा भएको टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्नबाट बञ्चित भएका पार्कीले २६ सेप्टेम्बर (१० असोज) मा हुने बर्लिन म्याराथनको ४७ औं संस्करणमा दौडिने भएका हुन् । त्यसका लागि उनी असोज ५ गते (२१ सेप्टेम्बर) मा जर्मनी प्रस्थान गर्दैछन् । ‘म र मेरो प्रशिक्षक सन्तोष श्रेष्ठ सेप्टेम्बर २१ मा जानेछौँ । यो मेरो लागि ठूलो अवसर हो’ ३० वर्षीय गोपीले भने ।

टोकियो ओलम्पिकमा अन्तिम समयमा आयोजकले म्याराथनमा सहभागी संख्या धेरै भएको भन्दै नेपालबाट सहभागी गराउन नसक्ने जानकारी गराएपछि पार्की ओलम्पिकमा प्रतिस्पर्धा गर्नबाट वञ्चित भएका थिए । त्यसपछि नेपालबाट १०० मिटर दौडमा सरस्वती चौधरीले प्रतिस्पर्धा गरेकी थिइन् ।

गोपीको सहभागिताका लागि पूर्वधावक तथा गोपीचन्द्र आबद्ध रहेको विभाग एपीएफ क्लबकी प्रशिक्षक दिलमाया कार्कीले पहल गरेकी हुन् । दिलमायाले जर्मनीमा प्रशिक्षण गर्दा बर्लिन म्याराथनको रोस डिरेक्टर र त्यहाँको प्रोफेसरसंगको सम्बन्ध बनाएकी थिइन् । सोही सम्बन्धका आधारमा पार्कीले बर्लिन म्याराथनमा सहभागी हुन पाएकी हुन् ।

गोपीको जर्मनी बसाई र त्यहाँको खर्च जर्मन नागरिकले नै ब्यहोर्ने भएका छन् । ‘मेरो खेलाडी ओलम्पिक खेल्नबाट बन्चित भयो । अहिले राम्रो फर्ममा रहेको खेलाडी छ । बर्लिनमा रेकर्ड तोड्न सक्छ भनेर दिलमायाले रिक्वेस्ट गर्नुभयो । त्यसपछि अवसर पाएको हो’ गोपीले भने । गोपी जर्मनी आउने जाने हवाइ खर्च राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले ब्यहोर्ने बताएका छन् । ‘बर्लिन म्याराथनमा सहभागिता जनाउन पाउँदा खुशी छु’ गोपीले भने, ‘म्याराथनमा संसारकै उत्कृष्ट मध्ये एक हो यो । त्यसमा सहभागिता जनाउँदा पाउदा राम्रो गर्ने आशा छ ।’

गोपीले बर्लिन म्याराथनमा राष्ट्रिय कीर्तिमान तोड्ने लक्ष्य राखेका छन् । नियमित प्रशिक्षण गरिरहेकाले बर्लिन म्याराथनमा पनि राम्रो गर्न सक्ने उनले बताए । ‘२ घण्टा १८ मिनेट नेपालको बेस्ट टाइम हो । त्यो भन्दा बेस्ट गर्छु नै भन्नेमा ढुक्क छ । पहिलो लक्ष्य भनेकै नेसनल रेकर्ड हो ।’
गोपीले गत मंसिरको नेपालगन्ज म्याराथनमा २ घण्डा १८ मिनेट ५९ सेकेण्डमा दौड पूरा गरेका थिए । नेपालको कीर्तिमान भने धावक बैकुण्ठ मानन्धरको नाममा छ । उनले १९८७ मा भारतको कोलकातामा भएको दक्षिण एसायली खेलकुदमा २ घण्टा १५ मिनेट ०३ सेकेण्डको कीर्तिमान बनाएका थिए । जुन कीर्तिमान अहिलेसम्म कसैले तोड्न सकेको छैन ।

गोपीचन्द्रले बर्लिन म्यारथनमा सकेसम्म उक्त रेकर्ड तोड्ने नभएपनि आफ्नो व्यक्तिगत समयमा सुधार गर्ने बताए । ‘शरीरले साथ दियो र अहिलेको ट्रेनिङ अनुसार भन्ने हो भने २ घण्टा १५–१६ मिनेट भन्दा तल जाँदैन भन्ने लाग्छ ।’ टोकियो ओलम्पिकमा प्रतिस्पर्धा गर्न नपाएपनि सन् २०२४ मा फ्रान्सको पेरिसमा हुने ओलम्पिमा छनोट हुने लक्ष्यसहित गोपी तयारीमा लागेका छन् । उनलाई सुदूरपश्चिमको दिनेश फाउन्डेसनले मासिक १० हजार रुपैयाँ खर्च प्रदान गर्दै आएको छ ।

फाउन्डेसनले पेरिस २०२४ ओलम्पिकसम्म ३६ महिनाका लागि कूल ३ लाख ६६ हजार रकम गोपीलाई उपलब्ध गराउने भएको छ । गोपीले २०७६ मंसिरमा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुदमा ५ हजार मिटरमा स्वर्ण जितेका थिए ।

प्रतिक्रिया