क्यानद्धारा सातै प्रदेशमा प्रशिक्षक नियुक्त

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले आफ्नो सातै प्रदेशमा प्रशिक्षक नियुक्त गरेको छ । प्रदेश प्रशिक्षक नियुक्तिको लागि आवेदन मागेको १३ महिनापछि क्यानले प्रदेश प्रशिक्षक नियुक्त गरेको छ । क्यानले प्रदेश दुई, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा दुई दुई प्रदेश प्रशिक्षक नियुक्त गरेको छ । अन्य बाँकी चार प्रदेशमा एक एक प्रशिक्षक नियुक्त गरेको छ । क्यानले प्रदेश १ मा नेपालबाट अन्तर्राष्ट्रिय यू१९ खेलेका पुष्प थापालाई नियुक्त गरेको छ । पुष्पले गतवर्ष देखि घरेलु क्रिकेट छाडेका थिए । लामो समय सम्म प्रदेश एकबाट उनले घरेलु क्रिकेट खेलेका थिए ।

प्रदेश दुईमा क्यानले प्रकाश शर्मा र सुनिल कुमार शाहलाई नियुक्त गरेको छ । बागमती प्रदेशको प्रशिक्षकमा सन्जय महर्जन नियुक्त भएका छन् । गण्डकी प्रदेशमा रिजन प्रजुलाई नियुक्त गरेको छ । लुम्बिनी प्रदेशमा नेपाली यू१६ प्रशिक्षक समालि सकेका वसन्त शाही ठकुरी र जमिल अन्सारीलाई नियुक्त भएका छन् । कर्णाली प्रदेशमा विरेन्द्र शाही, सुदूरपश्चि प्रदेशमा खेमराज भट्ट र जानकी भट्टलाई नियुक्त गरेको छ ।
क्यानले गत जेठमानै १६ प्रशिक्षकको अन्तरवार्ता लिइसकेको थियो । क्यानले गतवर्ष भदौमा नेपाली क्रिकेट टोलीको मुख्य प्रशिक्षक सहित सातै प्रदेश प्रशिक्षक नियुक्त गरेको थियो । प्रशिक्षक पदका लागि कुल २४ प्रशिक्षकले आवेदन दिएका थिए । क्यानको आवेदन अनुसार प्रदेश प्रशिक्षकमा कम्तिमा लेभल एक क्रिकेट कोचिङ गरेको र २५ देखि ५५ सम्म उमेर भएको नेपाली नागरिक हुनुपर्ने योग्यता चाहिन्थ्यो ।

प्रतिक्रिया