मध्यावधि निर्वाचनको ‘मुड’ मा देउवा !

काठमाडौं । प्रधानमन्त्री भएको दुई महिना नाघे पनि शेरबहादुर देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । संसदमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले उनी नेतृत्वको सरकारविरुद्ध खनिँदै आएको छ । सरकार र सदन दुवै देउवा अनुकूल छैन । नभएपछि उनी मध्यावधि निर्वाचनमा जाने ‘मुड’ मा पुगेका छन् । उनलाई पार्टीका अन्य नेताहरूले पनि संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जान दबाब दिँदै आएका छन् । ‘मन्त्रिपरिषद् विस्तार गर्न नसकेको र संसद् पनि चलाउन नसकेको भनेर कांग्रेस बदनाम भइसक्यो, त्यही भएर हामीले सभापतिजीलाई बरु मध्यावधि निर्वाचनमा जाऔं, नयाँ जनादेशसहित पहिलो शक्ति भएर पाँचै वर्ष सरकार चलाऔँ भनेर दबाब दिइरहेका छौं र उहाँ ‘सकारात्मक हुनुहुन्छ’, देउवा निकट नेता भीष्मराज आङदेम्बेले बताए ।

देउवा गठबन्धन सरकारका प्रधानमन्त्री हुन् । तत्कालीन प्रधानमन्त्री केपी ओलीले दोस्रो पटक ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि सर्वोच्च अदालतको परमादेशअनुसार २९ असारमा उनी प्रधानमन्त्री बनेका हुन् । गठबन्धनमा उनको पार्टी कांग्रेसबाहेक नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चा रहेका छन् । देउवाले मन्त्रिपरिषद् विस्तार गर्न नसक्नुको कारण गठबन्धनकै दुई घटक जसपा र एकीकृत समाजवादीले मन्त्रीको नाम नपठाउनुलाई ठानेका छन् ।

यहि कारण देखाएर संसद् विघटन गर्ने र मध्यावधि निर्वाचनमा जाने मनस्थितिमा देउवा रहेको नेता आङदेम्बे बताउँछन् । कांग्रेसकै अर्का नेता कल्याणकुमार गुरुङले पनि मध्यावधि निर्वाचनमा जानेबारे पार्टीमा कुरा चलिरहेको बताए । तर, निर्वाचनमा गइहाल्ने भन्ने निर्णय भने भइनसकेको उनको भनाइ छ ।

‘१३/१४ महिनापछि निर्वाचन त हुने नै हो तर अहिले मन्त्रिपरिषद् विस्तार गर्न नसकिएको र संसद् पनि विपक्षीको अवरोधका कारण सुचारु गर्न नसकिएको भन्ने छ’, नेता गुरुङले भने, ‘त्यही भएर पार्टीभित्र मध्यावधि निर्वाचनको कुरा चल्दै आएको छ र जाउँ नै भन्ने चाहिँ टुंगो छैन ।’
संसद्मा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) को समर्थक कांग्रेस मात्रै देखिएको छ । बाँकी दलहरू विरुद्धमा छन् । सत्तामा हुन्जेल एमसिसीलाई अनुमोदन गराउन कस्सीएका हालका प्रमुख विपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली अहिले एमसिसी पार गरेर देखाउन देउवालाई चुनौती दिइरहेका छन् ।

एमसिसीबारे ओली पनि नकारात्मक भएपछि देउवाले संसदबाट अनुमोदन हुने सम्भावना देखेका छैनन् । अमेरिकाले एमसिसी संसदबाट अनुमोदन गरेर कार्यान्वयन गर्न निरन्तर दबाब दिँदै आएको छ । अमेरिकाले सम्झौतामा रहेका कुनै प्रावधान संशोधन नहुने स्पष्ट पारिसकेको छ ।

गठबन्धनका घटकमध्येको माओवादी केन्द्रले संशोधन भए अनुमोदन गराउने जनाएको छ । संशोधन हुने सम्भावना भने छैन । यसले गर्दा अनुमोदनका लागि संसद्मा आवश्यक गणित देउवाले देखेका छैनन् । एमसिसी अनुमोदन गराउन देउवाले बल गर्दा अर्को निर्वाचनमा कांग्रेसलाई असर पर्न सक्ने अनुमान देउवाको छ । यस्तै सुझाव देउवालाई दिइएको आङदेम्बेले बताए ।

५ पुसमा संसद् विघटन गरेर तत्कालीन प्रधानमन्त्री केपी ओलीले मध्यावधि निर्वाचन घोषणा गर्दा त्यसप्रति देउवा ‘नरम’ देखिए । कारण, उनी मध्यावधि निर्वाचनमा जान चाहन्थे । गएको अवस्थामा कांग्रेस पहिलो शक्ति हुने र पाँच वर्ष सरकार चलाउन पाइने अनुमान उनको थियो । अहिले पनि उनको यही चाहना छ ।

अझ मध्यावधि निर्वाचनमा जाँदा उनले हेरेको अर्को फाइदा छ । त्यो हो– पार्टी महाधिवेशन । निर्वाचनमा टिकट दिने भनेर संस्थापनइतर पक्षमा उभिएका नेताहरूलाई तान्न सकिने देउवालाई लागेको उनी निकट एक नेताले बताए । ‘निर्वाचन हुने भए त त्यसको असर स्वाभाविक रूपमा पार्टी महाधिवेशनमा पर्छ नै, महाधिवेशनमा सहयोग गर्नु, पछि निर्वाचनमा टिकट दिने भन्न सकिने अवस्था रहन्छ, सभापतिज्यूले त्यसरी नेता पौडेलपक्षीय नेताहरूलाई प्रभावित पार्न सक्नुहुन्छ’, ती नेता बताउँछन् । यी कारणहरूले देउवा संसद् विघटन गरेर मध्यावधि निर्वाचनमा जाने मुडमा रहेको देखिन्छ ।

यद्यपि, गठबन्धनमा रहेको दल नेकपा (एकीकृत समाजवादी) का शीर्ष नेता डा. बेदुराम भुसाल भने प्रधानमन्त्री देउवाले संसद् विघटन नगर्नेमा विश्वस्त छन् । ‘प्रतिगमनविरुद्ध लडेर पुर्नस्थापना गरेको संसद् उहाँ (प्रधानमन्त्री) ले विघटन गर्नुहुन्छ र मध्यावधि निर्वाचन घोषणा गराउनुहुन्छ भनेर हामीलाई विश्वास छैन’, भुसालले बताए ।

तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले संसद् विघटन गरेर प्रतिगमन गरेको आरोप लगाउँदै उनले प्रतिगमनविरुद्ध कांग्रेस पनि लडेको र पूरा अवधि संसद्लाई जीवित राख्नुपर्नेमा जोड दिए । उनका अनुसार मन्त्रिपरिषद् विस्तारमा ढिलाइ गठबन्धनमा रहेका विभिन्न दलका शीर्षस्थ नेताहरूको समझदारी अनुसार नै भएको दाबी पनि गरे ।

गठबन्धनकै अर्को घटक राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष तथा सांसद दुर्गा पौडेलले गठबन्धनको बैठकमा आफूले मन्त्रिपरिषद् विस्तार छिटो गरेर सरकारको कामकारबाही प्रभावकारी बनाउन सुझाएको बताइन् । बैठकमा मध्यावधि निर्वाचनमा जानेबारे कुनै चर्चा पनि नचलेको उनको भनाइ छ । उनले थप भनिन्, ‘गठबन्धनमा यसबारे छलफल भएको छैन, भए त्यसैबेला धारणा राखौंला तर प्रधानमन्त्रीजी विघटन गरेर मध्यावधि निर्वाचनमा जानु होला भन्ने लाग्दैन, किनभने उहाँ पनि प्रतिगमनविरुद्ध लड्नु भएको हो ।’

प्रतिक्रिया