ऋतिक थ्री स्टारमा अनुबन्धित

काठमाडौं । रुस्लान थ्री स्टार क्लबले आसन्न ‘ए’ डिभिजन लिगका लागि युवा विंगर ऋतिक खड्कालाई क्लबमा अनुबन्ध गरेको छ । थ्री स्टार र युवा विंगर ऋतिकबीच शुक्रबार सम्झौतामा हस्ताक्षर भएको हो । यु–१९ राष्ट्रिय टोलीबाट खेलिसकेका सर्लाहीका २० वर्षीय ऋतिकले गत वर्ष थ्री स्टारलाई चौथो संस्करणको बागमती गोल्डकपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएका थिए । उनी बागमती गोल्डकपदेखि नै थ्री स्टारसँग जोडिएपनि क्लबले आधिकारिक रुपमा शुक्रबार मात्रै सार्वजनिक गरेको हो । ऋतिकले गत सिजनको लिग ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बाट खेलेका थिए । थ्री स्टारमा आबद्ध भएसँगै खड्काले थ्री स्टार जस्तो चर्चित क्लबसँग जोडिन पाउँदा खुशी लागेको बताए ।

सर्वप्रथम म मेरो प्रशिक्षक उर्जन श्रेष्ठ र सम्पुर्ण थ्री स्टार क्लब परिवारलाई धन्यवाद दिन चहान्छु । क्लबले मलाई विश्वास गरेर टोलीमा आबद्ध गरेको छ । म यो प्रतिष्ठित क्लबमा सामेल हुन पाउँदा धेरै खुशी छु । मैले आफ्नो योग्यता प्रमाणित गर्ने एउटा ठुलो अवसर पाएको छु । यो टोलीबाट मैले उपाधि जितिसकेको छु । मलाई भरोस गर्न टोलीलाई निराश हुन दिने छैन ।’ खड्काले भने । नयाँ सिजनका लागि थ्री स्टारले यसअघि कप्तान विक्रम लामा, उपकप्तान अनन्त तामाङ, सन्जोक राई, निशान खड्का, मनग्य नकर्मी, सुसान श्रेष्ठ, मिक्चेन तामाङ र निशान खड्काको सम्झौता नविकरण गर्दा नयाँ खेलाडीको रुपमा डोना थापा, आयुष घलान, राफयल रिमगागो, गोलरक्षक रोशन गुरुङ र मिडफिल्डर लाकेन लिम्बुलाई अनुबन्ध गरिसकेको छ । ‘ए’ डिभिजन लिग कात्तिक २९ बाट सुरु हुदैछ ।

प्रतिक्रिया