पार्टी बनाउने होइन, हामी गुट बनाउनतिर लाग्यौँ : प्रचण्ड

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेता कार्यकर्ताहरू पार्टी बनाउने होइन, गुट बनाउनतिर लागेको भन्दै असन्तुष्टि पोखेका छन् ।

पोष्टबहादुर बोगटीको ७औँ स्मृति दिवसको अवसरमा बुधबार आयोजित कार्यक्रममा प्रचण्डले अधिकांश नेता कार्यकर्तामा व्यक्तिगत स्वार्थका निम्ति अलि बढी नै लगाव देखिएको भन्दै असन्तुष्टि जनाएका हुन् ।

उनले आफ्नो पार्टी यो बीचमा कहीँ न कहीँ आफ्नो उद्देश्यबाट विचलित भएको पनि उल्लेख गरे । ‘वर्ग, उत्पीडित जाति समुदायको निम्ति जसरी सम्पूर्ण रूपले समर्पित भएर आफ्नो व्यक्तिगत हित स्वार्थलाई त्याग गरेर बलिबेदीमा हामी होमिन हिँड्थ्यौँ । लडाइँको मोर्चामा जान पाउँ भनेर हुन्थ्यो, तर आज त्यस्तो छैन ।

आज हामी व्यक्तिगत पद र स्वार्थका निम्ति अलि बढी नै लगाव देखाएका छौं । गुट बनाउनेतिर जाँगर देखाएका छौँ । पार्टी बनाउने होइन, गुट बनाउनेतिर फाइदा हुन्छ भनेर सोच्ने प्रवृत्ति देखिएको छ । पार्टीको क्रान्तिकारी चरित्र विस्तारै विस्तारै स्खलित हुँदै अरु बुर्जुवा पार्टीजस्तै हुने दिशातिर गइराखेको छ,’ प्रचण्डले भने ।

पार्टीलाई क्रान्तिकारी बनाउन आवश्यक संरचना निर्वाचन निर्देशिका, निमयवाली, विधि, पद्धति विकास गरेर चल्नुपर्ने उनले बताए । ‘हामी एउटा विशाल पार्टी हौँ । नेता कार्यकर्ताको संख्याको कुरा गर्ने हो भने, आन्दोलनमा समर्पण र भावनाको कुरा गर्ने हो भने अहिले पनि माओवादी केन्द्र देशको सर्वाधिक विशाल पार्टी हो । यसको तुलना अरुसँग हुँदैन,’ उनले भने, ‘आन्दोलनमा जाने जुर्मुराएर उठ्ने पार्टी नेता कार्यकर्ता यसै पार्टीमा छन् । ५ पुसको प्रतिगमनविरुद्ध आन्दोलन नेतृत्व गर्यौँ ।

क्रान्ति भनेपछि अहिले पनि त्यसरी नै लाखौको संख्यामा सडकमा आउन तयार रहेछन् । हामी अलिअलि बिग्रयौ भनेर ठानेको जनता बिग्रेका रहेन छन् । ग्रास लेभल कार्यकर्ता बिग्रेको होइन । जनता बिग्रेको होइन । माथि हामी नेताहरू, गुट गर्दै रमाउने हामी नेताहरू बिग्रेको सावित भयो । गलत बाटोतिर हाम्रा पाइला छन् । हामी सुधार्नुपर्छ भनेर जनताले भनिरहेका छन्,’ प्रचण्डले भने ।

देशको राजनीति दुर्घटनातिर जाँदै गर्दा धेरै ठूलो आन्दोलनबाट देशलाई रक्षा गर्ने, संविधान र परिवर्तनको एजेन्डाको रक्षा गर्ने, गणतन्त्र राष्ट्रको रक्षा गर्ने अभियानमा सफलता हात पारेको उनले बताए । ‘झन्डै झन्डै प्रतिगमनमा जाने हो कि भनेर देशमा राजनीतिक घटना भए र क्रान्तिका उपलब्धि धरापमा पर्ने हुन् कि भन्ने परिस्थितिबाट हामीले जोगाएका छौँ, नेपाली जनताले जोगाएका छन्,’ उनले भने ।

प्रतिक्रिया