भित्तोको प्रदर्शनीमा टिकेको सनातन धर्म

मोहनप्रसाद सापकोटा

काँधमा जनै सधैँ भिर्दैन भने ऊ चार वर्णमध्येको पछिल्लो वर्णमा गणना हुन्छ । उसले त्यही वर्णले गर्ने सबै धर्मकर्म गरे पुग्दछ । तैपनि ऊ अरूलाई देखाउन ब्राह्मण, क्षत्रीय वा वैश्य बनिरहेको हुन्छ । लाशलाई दागबत्ती दिने बेलामा मागेर जनै लगाउँदछ तर ऊ चिता पिण्ड दिई टोपल्दछ ।

अधिकांश तागाधारी वर्गमा गणना हुनेहरूले जनै भिर्न छोडे । ब्राह्मण ब्राह्मणत्वमा, क्षत्रीय क्षत्रीयत्वमा र वैश्य वैश्यत्वमा बस्न नसक्ने भएकाले पनि सबैलाई चौथो वर्ण प्रिय लागेको हुनुपर्दछ । आफैँ चौथो वर्णमा पुगिसकेपछि पनि जन्मका आधारमा दम्भ र विवाद अनि विभेदचाहीँ किन ऊ छोड्न सक्दैन, मलाई यस कुरामा बढी अचम्म लागिरहने गर्दछ । काँधमा जनै सधैँ भिर्दैन भने ऊ चार वर्णमध्येको पछिल्लो वर्णमा गणना हुन्छ । उसले त्यही वर्णले गर्ने सबै धर्मकर्म गरे पुग्दछ । तैपनि ऊ अरूलाई देखाउन ब्राह्मण, क्षत्रीय वा वैश्य बनिरहेको हुन्छ । लाशलाई दाग बत्ती दिने बेलामा मागेर जनै लगाउँदछ तर ऊ चिता पिण्ड दिई टोपल्दछ । तपाईं हामीबाट यस्तो विरोधाभाषपूर्ण चरित्र किन छाड्न नसकिएको होला ?

धर्मकर्म, संस्कार आदिमा सबैभन्दा बढी छुट चौथो वर्णलाई छ । हामी पूरै चौथो वर्णमा समाहित हुन किन सकिरहेका छैनाँै ? न रहेका बाँस न बझेगा बाँसुरी ? चौथो वर्ण पनि हिन्दू नै हो नि होइन र ? हामीले अंगिकार गरिरहेको द्वैध चरित्रले ‘सनातन धर्म जोगाउने’ वा ‘धर्म र संस्कारले गर्दा हुन नसकेको विकास क्रान्तिकारी परिवर्तन गरेर गर्ने’ यी दुबै थरी सोचलाई धराशायी बनाइरहेछ ।

संकलनमा रहेका ऋषितर्पणीसम्बन्धी केही गहकिला कुरा शेयर गरौँ किजस्तो लागेको थियो । तर, स्खलित वंशानुगत परम्परा देखेपछि, भोगेपछि र आफू स्वयं त्यसमा असफल भएपछि यी कुरा असान्दर्भिक जस्ता लागे र सेयर गरिनँ । चाहे जे होस् जनै फेर्ने र आज एकदिन र एकछिन जनै लगाउने अनि तस्बिर सामाजिक सञ्जालमा हालेर जात जोगाउन खोज्ने तथा जनै लगाएर पदोन्नति भएको ठान्ने तपाईंहामी सबैलाई शुभकामना ।

यसबेला पण्डितहरू पनि रमाइलोसँग परिवर्तन भएका छन् । आय घट्दछ त्यसैले जजमानले चाहे अनुसार लचकदार हुन्छन् र तिनले जे भने पनि ‘हस’ र ‘हुन्छ’ भनी दिन्छन् । यस्ता कलियुगका क्रान्तिकारी महापण्डित जनलाई पनि शुभकामना । यस्ता पण्डित छन् त्यसैले त म आजसम्म बाहुन बनिरहेको छु, नत्र….। (फेसबुकबाट)

प्रतिक्रिया