अफगानिस्तानमा रहेका नेपालीकाे तत्काल उद्धार गर्न निर्देशन

काठमाडौं । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले अफगानिस्तानमा रहेका सम्पूर्ण नेपाली नागरिकलाई सुरक्षित रुपमा तत्काल उद्धार गर्न कुटनीतिकलगायतका सबै उपाय अवलम्बन गर्न सरकारलाई निर्देशन दिएको छ । समितिले तालिवान विद्रोहीहरु राजधानी कावुल नियन्त्रणमा लिने प्रयासमा रहेकाले भिडन्तका क्रममा नेपाली नागरिक अप्ठ्यरोस्थितिमा पर्न सक्ने भन्दै छिटोभन्दा छिटो हवाई उद्धार गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको हो । बैठकमा परराष्ट्र मन्त्रालका सचिव भरतराज पौड्यालले अफगानिस्तानमा भइरहेको घटनालाई केही समयदेखि नियालिरहेको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीलाई सकुशल स्वदेश ल्याउन मन्त्रालयले गम्भीर रुपमा प्रयास गरिरहेको बताए ।

उनले भने, ‘अफगानिस्तानको स्थिति जटिल हुँदै गएको छ, त्यहाँ रहेका नेपालीको सुरक्षा चिन्ताप्रति सरकार चिन्तित छ, सुरक्षित रुपमा उद्धारका लागि मन्त्रालयले चासो र चिन्तकासाथ काम गरिरहेको छ, विभिन्न प्रयास भइरहेको छ ।’ भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावाससँगको नियमित सम्पर्र्कमा अफगानिस्तानका नेपालीको उद्धारका लागि प्रयास भइरहेको उनले बताए । श्रम स्वीकृत लिएर सङ्गठित तथा औपचारिक रुपमा त्यहाँ गएर रहे बसेका नेपाली एक हजार ५०० को हाराहारीमा रहेको आँकलन गरिएको सो अवसरमा जानकारी दिइयो ।

अफगानिस्तानमा विदेशी सहायता परियोजना तथा विदेशी नियोगमा आकर्षक तलब सुविधाका कारण दक्ष कामदार जाने हुनाले त्यहाँ रहेका नेपालीको सङ्ख्या बाहिर सञ्चारमध्यममा आएजस्तो नभएको पनि सचिव पौड्याले स्पष्ट पारे ।

प्रतिक्रिया