बारम्बार फुटले मधेसी दलप्रति सर्वसाधारण असन्तुष्ट

रौतहट । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट प्रभावशाली नेता राजेन्द्र महतो अलग्गिएको केही महिना बित्न नपाउँदै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालबाट दोस्रो वरीयताका अशोक राई अलग्गिएका छन् ।

जसपा नेपालका प्रभावशाली नेता राई मात्र अलग्गिएका भए त्यसले मधेसमा प्रभाव पर्ने थिएन, तर मधेसवादी पहिचान बनाएको जसपा नेपालबाट पहाडी समुदायका राईसँगै मधेसमा पहिचान बनाइसकेका रेणु यादव, नवलकिशोर साह सुडी, वीरेन्द्र महतो, हसिना खान पनि अलग्गिएका छन् । आइतबार अलग्गिएका राइको समूहले निर्वाचन आयोगबाट जनता समाजवादी पार्टी नामको नयाँ पार्टीको दल प्रमाणपत्र पनि पाएका छन् ।

जसपा नेपाल अध्यक्ष उपेन्द्र यादव चुनावमा हारेपछि मन्त्री बन्नकै लागि बाराको उपचुनावमा जितेको भन्दै पार्टीभित्र व्यापक असन्तुष्टि थियो । जुनसुकै हालतमा पनि मन्त्री पद चाहिने नेताको पहिचान बनाएका जसपा नेपालका अध्यक्ष तथा उपप्रधानमन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा रहेकै बेला जसपा नेपालका बहुमत प्रतिनिधिसभा सदस्यले नयाँ पार्टी बनाएका हुन् ।

केही महिनाकै अन्तरालमा मधेसवादी पहिचान बनाएका २ प्रमुख दलमा आएको फुटप्रति सर्वसाधारण असन्तुष्ट देखिएका छन् । मधेस प्रदेशका अधिकांश सर्वसाधारणले स्वार्थका कारण मधेशवादी दलमा बारम्बार फुट आउने गरेको भन्दै असन्तुष्टि जाहेर गरेका हुन् ।

रौतहटका केदार यादवले मधेसी नेता आ–आफ्नो स्वार्थमा लागेर एकले अर्कालाई स्वीकार नगर्नाले गुट उपगुट भएर फुट्ने गरेको बताए । यसै गरी रन्जन साहले सन् १९८५ को दशकमा गजेन्द्र नारायण सिंहले उठाएको मधेस र मधेसीको मुद्दालाई कमाई खाने बाटो बनाएका नेताहरूले मधेस र मधेसीलाई ठग्न कुनै कसर बाँकी नराखेको आरोप लगाएका छन् । मधेसवादी दलमा आइरहेको टुटफुटले मधेसवादी दलको अस्तित्व नै खतरामा परेको साहको बुझाइ रहेको छ ।

पत्रकार प्रदीप सम्राटले मधेसवादी दलका नेताहरूमा पार्टीको अध्यक्ष नै बन्ने सपना हुने गरेको कारण दलमा बारम्बार फुट आउने गरेको आरोप लगाए । यसैगरी ओमप्रकाश यादवले पनि कुर्सी नपाएर नेताहरू आफ्ना केही समर्थकसहित फुटने गरेको आरोप लगाएका छन् । उनीहरूले लगाएको आरोप पछिल्ला घटना क्रमले सिद्ध गर्दै छ ।

उपेन्द्र यादव र महन्थ ठाकुरप्रति लक्षित गर्दै लालबाबु प्रसाद बनिया भन्छन्, ‘ठुलो दाइ स्वार्थी भएपछि साना भाइहरूले आफ्नो हिस्सा पाउन पार्टीमा फुट ल्याउने गरेका छन् ।’ मधेसवादी दलमा फुटको मूल कारण स्वार्थबाहेक अरू केही पनि नभएको बनियाको आरोपमा राजा हुसैनको पनि विचार मिलेको छ । हुसेन भन्छन्, ‘व्यक्तिगत स्वार्थको कारण मधेसवादी दलहरूमा फुट आउँछ । जसपा नेपालबाट जन्मेको जसपाले पार्टीको नीति तथा कार्यक्रम मात्र नभएर सरकारलाई दिएको समर्थनसमेतमा पहिलेकै अवस्था रहने बताएको छ ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया