वाम एकताबारे ओलीको ‘ढुलमुल’

काठमाडौँ । नेकपा एमाले पार्टी कार्यालय च्यासलमा आइतबार आयोजित ‘वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ’को विमोचन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले सबै वामपन्थी पार्टीहरूका बीचमा एकताको आवश्यकता रहेको बताए । उनले भनेका छन्, ‘आफूलाई वामपन्थी र कम्युनिस्ट भन्ने सबै व्यक्तिलाई, एमाले सही धारमा छ, यसै धारमा समाहित हुन म आग्रह गर्न चाहान्छु । सबै आउनुहोस्, सबै एकजुट हौँ ।’

यसो भन्ने ओली तिनै व्यक्ति हुन्, जसले पटक–पटक सार्वजनिक मञ्चदेखि पार्टीको छलफलमा समेत ‘अहिले वामपन्थी एकताको आवश्यकता छैन’ भन्दै भाषण गर्ने गरेका थिए । तर, एक्कासि ओलीलाई अहिले वामपन्थी एकताको आवश्यकता किन पर्यो भन्ने विषय चासोमा छ ।

३ वैशाखमा संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले वामपन्थी एकता आजको आवश्यकता नभएको बताएका थिए । उनले भनेका थिए, ‘वामपन्थी एकता भन्ने कुराले न सरकार बन्छ, न देश चल्छ ।’ त्यस्तै, ओलीले वामपन्थी एकता नामको नक्कली कुरा भइरहेको पनि बताएका थिए ।

त्यस्तै, ८ वैशाखमा ललितपुरको गोदावरीमा आयोजित राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकमा राजनीतिक प्रस्ताव प्रस्तुत गर्दै ओलीले गम्भीर समस्या समाधानमा सबै दलबीच संवाद आवश्यक भएको, तर यसका लागि एकता र ध्रुवीकरण तत्काल आवश्यक नहुने बताएका थिए ।

उनले भनेका थिए, ‘अहिले नै निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अगाडि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुव या अन्य कुनै नाममा गरिने ध्रुवीकरण उचित, व्यावहारिक र लाभदायी हुँदैन ।’

राष्ट्रिय महाधिवेशनमा ओलीले निश्चित दल, विचार या शक्तिलाई निषेध गर्ने गरी अघि बढाइने वामपन्थी एकता या समाजवादी ध्रुवीकरण व्यावहारिक र लाभदायी नहुने भन्दै तत्काल वामपन्थी एकता सम्भव नहुने निष्कर्ष निकालेका थिए ।

वामपन्थी एकताको कुरा निकाल्दा हतारहतार त्यसको प्रतिवाद गर्ने ओली एकाएक त्यसको पक्षमा देखिनु नौलो विषय भएको राजनीतिक विश्लेषकहरू बताउँछन् । स्वार्थ देखिएपछि ओलीको उक्त भाषा बाहिर आएको हो भन्नेमा कुनै विमति छैन । सोमबार भएको कार्यक्रममा नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतम पनि सहभागी थिए । गौतमले आफू एमालेमा प्रवेश गर्न तयार रहेको बताइरहँदा त्यसमा आफ्नो स्वार्थ केलाउँदै वाम एकताको भाषा प्रयोग गरेको हुन सक्ने राजनीतिक विश्लेषक डम्बर खतिवडा बताउँछन् ।

सत्ता बाहिर हुँदा र वामपन्थीहरूसँग टाढिएका बेला वाम एकता चाहिँदैन भन्नु, सत्ता र शक्तिमा पुग्दा त्यसलाई टिकाउन वाम एकता चाहिन्छ भन्नु ओलीको द्वेध चरित्र मात्र भएको विश्लेषकको टिप्पणी छ ।

प्रतिक्रिया