सान्चो युनाइटेडमा अनुबन्धित

लण्डन । इंग्लिस युवा विंगर जेडान सान्चो प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा अनुबन्धित भएका छन् । युनाइटेडले २१ वर्षीय युवा विंगर सान्चोलाई जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट ५ वर्षको लागि ७३ मिलियन पाउन्डमा शुक्रबार अनुबन्धित गरेको हो । सम्झौतासँगै उनी सन् २०२६ सम्म युनाइटेडमा रहनेछन् । सान्चोसामु सम्झौता थपको विकल्प पनि राखिएको छ । युनाइटेडले लामो मिहेनतपछि आफुले चाहेको मिफफिल्डरलाई अनुबन्ध गर्न सफल भएको हो । युनाइटेडमा अनुबन्ध भएपछि सान्चोले लगातार पहिलो रोजाईमा खेल्न दिने डर्टमुन्डप्रति आभारी रहेको जनाउँदै कुनै एक दिन इंग्ल्यान्ड फर्कने थाहा थाहा रहेको बताएका छन् । उनले युनाइटेडमा सम्मिलित हुने सपना साकार भएको समेत बताएका छन् ।

डर्टमुन्डको सिनियर टोलीमा झन्डै चार सिजन बिताउँदा सान्चोले १३७ खेलमा ५० गोल गरेका छन् । यस्तै ५७ असिस्ट उनको नाममा रहेको छ । इंग्लिस क्लब वाटफोर्डको एकेडेमीमा २००७ देखि १५ सम्म रहेका सान्चो त्यसपछि म्यानचेस्टर सिटीको एकेडेमीमा आबद्ध भएका थिए । सिटीको एकेडेमीमा २ वर्ष बसेपछि उनी सन् २०१७ मा सान्चो डर्टमुन्ड पुगेका थिए ।

फ्रान्कफर्टविरुद्ध खेल्दै सान्चोले डर्टमुन्डको सिनियर टोलीबाट डेब्यु गरेका थिए । उनले २०१८ मा बायरलिभरकुसनविरुद्धको खेलमा डर्टमुन्डका लागि पहिलो गोल गरेका थिए । त्यसयता उनी डर्टमुन्डको प्रमुख खेलाडीको रुपमा रहदै आएका थिए ।

सान्चोले इंग्ल्यान्डका लागि २२ खेलमा ३ गोल गरिसकेका छन् । नेसन्स लिग अन्तर्गत २०१८ मा क्रोएसियाविरुद्ध उनले इंग्ल्यान्डको लागि डेब्यु गरेका थिए । सान्चो सन् २०१७ मा इंग्ल्यान्डले यू–१७ को विश्वकप जित्दा टोलीका महत्वपुर्ण सदस्य थिए । सान्चोले डर्टमुन्डबाट डिएफवी पोकल र डिएर्फल सुपरकप जितेका छन् ।

प्रतिक्रिया