बढ्दै आन्तरिक पर्यटक

विश्वव्यापी फैलिएको कोरोना भाइरसको प्रभावले नेपालको पनि हरेक क्षेत्रलाई प्रभाव पार्यो । यसले विभिन्न क्षेत्रमा पारेको असरका कारण मूलतः आर्थिक क्षेत्र नराम्रो गरी प्रभावित बनायो । कोरोनाको कारण प्रभावित मध्ये एक क्षेत्र हो, नेपालको पर्यटन । देशको आर्थतन्त्रको महत्वपूर्ण क्षेत्रका रूपमा रहेको पर्यटनलाई कोरोना भाइरका कारण निकै असर पु¥याएको छ । तर, बिस्तारै कोरोना संक्रमण दर घट्न थालेपछि यो क्षेत्रले बिस्तारै उठने तरखर गरेको छ । लामो समय कोरोना संक्रमणले त्रसित बनेको पर्यटन क्षेत्र विस्तारै सहज बन्दै गएको छ । दोस्रो चरणको कोभिड–१९ को संक्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढन थालेका छन् । यस क्षेत्रमा पर्ने मुख्य पर्यटकीय गन्तव्य खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् । तर पनि मान्छेको कोरोना भाइरसको त्रास भने पूर्ण रूपमा अन्त्य भएको छैन । संक्रमण घटेको देखिए पनि मान्छेमा सचेत हुन अझै आवश्यक छ ।

कोरोना महामारीका कारण लामो समयसम्म सुनसान रहेको यो क्षेत्रमा पर्यटक भित्रिन थालेपछि व्यापार व्यवसाय पनि बढ्दै गएको छ । सुदूरपश्चिमको प्रमुख पर्यटकीयस्थल खप्तडमा नेपाली र भारतीय पर्यटक प्रतिदिन बढ्न थालेका छन् । खप्तड पर्यटन विकास क्षेत्रका अनुसार पछिल्ला हप्तामा कोरोनाका संक्रमित घटेर निषेधाज्ञा खुकुलो भएसँगै खप्तड क्षेत्रमा पर्यटक भित्रिन थालेका हुन् । यसले यहाका व्यवसायी उत्सायी बनेका छन् ।  जिल्लामा रहेका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रमा अघिल्लो हप्ता मात्र एक हजारभन्दा बढी आन्तरिक पर्यटक यहाँका पर्यटकीय र धार्मिक क्षेत्रको भ्रमणका लागि आएको स्थानीयले जानकारी दिए । जिल्लाको अर्को प्रमुख पर्यटकीयस्थल जोरायल गाउँपालिका–२ बुडर बजार नजिक रहेको छहरा झरनामा पनि हिजोआज पर्यटकको घुइँचो लाग्न थालेको छ । यहाँ बढ्दो गर्मी छल्न पनि जिल्लाका पर्यटक उक्त झरनामा पुग्ने गर्दछन् । यहाँ दैनिक सयौँ पर्यटक आएर मनोरञ्जन लिने गरेका छन् । कैलाली तथा कञ्चनपुरसहितका यहाँका अन्य सात वटा पहाडी जिल्लाको केन्द्रविन्दुमा रहेको सो झरनामा रमाउन आउने पर्यटकका कारण यहाँको चहलपहल पनि निकै बढेको छ ।

अत्तरिया–स्याउले जोड्ने भीमदत्त राजमार्गसँगै जोडिएको उक्त पर्यटकीय क्षेत्रमा आउने पर्यटकका कारण यहाँको चहलपहल तथा व्यापार व्यवसाय बढेको जलादेवी फेन्सी स्टोर बुडरका सञ्चालक लोकबहादुर मल्लले बताए । उनले भने, ‘छहरा झरना निकै आनन्द दिने ठाउँ छ, बर्सातले अहिले उक्त झरनामा पानी पनि निकै बढेको छ, त्यही हेर्न पर्यटक आउने गरेका कारण यहाँ चहलपहलका साथै व्यवसाय पनि बढेको हो ।’ दोस्रो चारणको कोरोना भाइरस कोभिड–१९ का कारण निकै आक्रान्त बनेका यहाँका नागरिक कोरोना संक्रमण दर घटेसँगै अहिले मनोरञ्जन तथा आनन्द लिनका लागि पनि यहाँ आउने गरेको स्थानीयवासी बताउँछन् । कैलाली र कञ्चनपुर जिल्लाबाट आउने पर्यटक बिहान आएर दिनभर झरनामा रमाउने र बेलुका फर्कने गरेका छन् भने अन्य जिल्ला बैतडी, बझाङ, दार्चुला, अछाम, बाजुरा, डडेल्धुरा तथा डोटीबाट आउने पर्यटक एक÷दुई दिन बस्ने गरेका स्थानीय तथा सञ्चारकर्मी शिवसिंह ओलीले बताए ।

उनले भने, ‘नजिकैबाट आउने पर्यटक दिनभर झरनामा रमाइलो गरी फर्कन्छन्, टाढाबाट आउने एक÷दुई दिन यतै बसेर फर्कने गरेका छन् ।’ झरनामा रमाइलो गर्दा स्वर्गीय आनन्द आउने भएकाले पनि पछिल्लो समय उक्त झरना पर्यटकको प्रमुख रोजाइमा पर्न थालेको उनले बताए । झरनामा रमाउन आउने पर्यटक नजिकै रहेको छतिवन तालमा डुंगा सयर गर्नेदेखि पौडी खेल्ने गर्दछन् । ‘माथिबाट झरिरहेको पानीको आकर्षक छहरा, वरिपरि हरियाली जंगल, त्यसमाथि चराचुरुंगीको चिरबिर आवाज, यस्तो सुन्दर दृश्यले कसको मन लोभिदैन र ?,’ उनले भने । प्रकृतिको सुन्दर उपहार, अनुपम र आकर्षक छहरा झरना जोरायल–२ छतिवनमा पर्दछ । पछिल्लो समय झरनाले पर्यटकको प्रमुख आकर्षणका रूपमा पहिचान बनाएको छ । त्यसैले पनि यहाँको सुन्दरतामा रमाउन टाडाटाडाबाट मानिसहरू आउने गर्दछन र केही केक्ष रमाएर फर्कनछन् । छहरा अवलोकन तथा भ्रमणका लागि अहिले कैलाली, कञ्चनपुर, डडेल्धुरा, डोटीलगायत क्षेत्रका स्थानीय आउन थालेपछि भिड बढ्न थालेको छतिवन पर्यटन प्रवद्र्धन तथा संरक्षण विकास समितिका अध्यक्ष भरत कुँवरले बताए । उक्त क्षेत्रमा पछिल्लो समय समितिले प्याराग्लाइडिङ र छहरा झरनामा पर्यटकका लागि क्यानोइङको व्यवस्था गरेपछि पर्यटक दिनहुँ बढ्न थालेका हुन् । यहाँ आउने पर्यटक तथा यहाँका स्थानीय झरना, प्याराग्लाइडिङ तथा क्यानोइङ गरेको तस्बिर सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गर्दै यसको प्रचारप्रसारमा समेत जुटेका छन् । विगतमा खासै नाम नसुनिएको यो झरना अहिले सामाजिक सञ्जालका कारण प्रचारमा आएको बुडरका दानबहादुर कलेलले बताए ।

जिल्ला सदरमुकाम सिलगढी तथा कैलालीको अत्तरियाबाट करिब तीन÷चार घण्टाको गाडी यात्रामा पुगिने यो झरनामा प्रायः कैलाली र कञ्चनपुरका नागरिक बढी आउने गरेको समितिले जनाएको छ । कतिपय युवा समूह नै बनाएर यो झरनाको अवलोकन गर्न पुग्ने तथा एकदुई दिन त्यहीँ बसेर रमाइलो गरी फर्किने गरेको बताइएको छ । अहिले बुडर, गैरा, धारापानीलगायत क्षेत्रमा होटल थपिँदै छन् । यहाँका होटलले पनि राम्रो व्यवसाय सञ्चालन गरिरहेका छन् । गाउँपालिकाले छहरा क्षेत्रसम्म पुग्नका लागि कच्ची सडकको व्यवस्था भने गरेको छ । कच्ची सडक र पानी जम्ने हुँदा छहरा पुग्न केही समस्या हुँदै आएको छ । यहाँका छहरा झरनालगायत अन्य पर्यटकीयस्थललाई व्यवस्थित गर्दै गाउँमा पर्यटक भित्र्याउन सडकसहित पूर्वाधार विकास निर्माणका कार्य गर्न थालिएको गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताए । उनले भने, ‘भनेकै बेला सडक कालोपत्र गर्न सकिँदैन तर पनि पर्यटकीय क्षेत्रका सडक सुधार तथा विस्तारका लागि गाउँपालिका लागि परेको छ, छिट्टै यहाँका सडक ग्राभेल गरिनेछ ।’

छतिवनसहित जिल्लामा रहेका सम्पूर्ण पर्यटकीय क्षेत्रको प्रचारप्रसार तथा सडक विस्तार गरिए यहाँ आन्तरिक र बाह्य पर्यटक पनि भित्रिने सम्भावना उच्च रहेको छ । बाह्य पर्यटक बढेपछि यहाँको आर्थिक अवस्थामा सुधार हुने सम्भावना रहेको बुडर बजारका अर्का व्यवसायी मीनबहादुर मल्लले बताए । उनले भने, ‘छहरा झरनाको विकास गरेर देश विदेशमा चिनाउनका लागि थप प्रयास गर्नुपर्छ, यसका लागि पर्यटन मन्त्रालयले विशेष चासो देखाउनु जरुरी देखिन्छ ।’ उनले भने झै सरकारी निकाय पनि यस्ताक्षेत्रमा लगानी गरी विकास गर्ने हो भने पर्यटन क्षेत्रले गरेको विकासको प्रतिफल स्थानिय जनताले पनि पाउनेछन् ।

बुडरलगायतका बजारमा पछिल्लो समय होटेल तथा चमेनागृहको निर्माण धामधम भइरहेको उद्योग वाणिज्य संघ डोटीका अध्यक्ष मोहनबहादुर कलेलले बताए । उनले भने, ‘बुडर क्षेत्रमा पछिल्लो समय सुविधा सम्पन्न होटेल निर्माण भएका छन्, खाना र बस्न राम्रो पाइने भएकाले पनि पर्यटक छहरा र छतिवन तालमा रमाउने आउन थालेका छन् ।’ छहरा झरनामा पछिल्लो समय जोरायल गाउँपालिका तथा सुदूरपश्चिम प्रदेश सरकारले पनि मन्दिर निर्माण, बाटो निर्माणदेखि झरना छेउमा ट्रस निर्माण गरेका छन् । यहाँको वडा कार्यालयले झरना अवलोकनका लागि पर्यटकलाई निःशुल्क प्रवेश दिने व्यवस्था मिलाएको छ । गाउँपालिकाले झरना क्षेत्रमा निकै रमणीय भौतिक संरचना निर्माणदेखि झरनासम्म जाने मोटर बाटो निर्माण गरेकाले पर्यटकलाई सजिलो भएको छ । यहाँका स्थानीयवासीले छहरा झरनासम्म पुग्ने बाटो पिच गर्न स्थानीय सरकारसँग माग गरेका छन् । प्राकृतिक रूपमा भएका रमाणीय स्थलको विकास गरी त्यहाँसम्म पुग्ने सडकको मर्मत र विकास गर्ने काममा भने सरकारी निकायले ध्यान दिनु पर्ने देखिन्छ । ठाउँ सुन्दर भएर मात्रै पनि त्यसको मानोरञ्जन लिन जाने सडक भएन भने त्यसको उचित उपयोग हुन सक्दैन । त्यसैले यसमा सबैले चासो दिनुपर्ने स्थानीयले माग गरेका छन् ।

प्रतिक्रिया