न रह्यो वास, न बच्यो गाँस

असार १ गते साँझ हेलम्बु गाउँपालिका–१ सेमेसिदाङ हिमालमुनि रहेको भेमाथाङ चौरमा गएको भीषण पहिरो र यसपछि मेलम्ची खोलामा आएको आकस्मिक र अकल्पनीय बाढीले मानवीय तथा भौतिक संरचनामा ठूलो क्षति पु¥याएको छ । यहाँका स्थानीय यति बेला गाँस न वासको अवस्थामा छन् । बाढीका कारण विशेष गरी तिम्बु, किउल, चनौटे, ग्याल्थुम, तालामाराङ र मेलम्चीमा नोक्सान पु¥यायो । व्यक्तिगत घर, संघसंस्था, विभिन्न कार्यालय, खेतीयोग्य जमिन, विद्यालयलगायत भौतिक संरचनामा अपूरणीय क्षति भयो । साँझमा भागेर ज्यान बचाउन सफल भएका मानिस बिचल्लीमा परेका छन् । विद्यालयका पक्की संरचनासमेत भत्किँदा बालबालिका विद्यालय जानबाट वञ्चित भएका छन् । स्थानीय सञ्चार माध्यममा पुगेको क्षतिले आमनागरिक सूचनाको पहुँचबाट टाढा भएका छन् ।

कोरोेनाको कहरका बीचमै पनि तेर्से मावि तालामाराङले विभिन्न माध्यमबाट शैक्षिक गतिविधि अगाडि बढाउँदै आएको थियो । विद्यार्थी भर्ना, पुस्तक वितरणजस्ता कार्यले गर्दा विद्यालयले आफ्नो गतिविधि अगाडि बढाउँदै थियो । मेलम्ची भेगको अग्रणी विद्यालय, गुणस्तरीय शिक्षा प्रदान गर्दै मेलम्ची नगरपालिकाको नमुना विद्यालयका रूपमा परिचित छ । असार १ को बाढीले सामान्य क्षति पु¥याएको विद्यालयलाई शनिबार पुनः आएको बाढीले भौतिक रूपमा अझै क्षति गरेको छ । विद्यालय मात्र नभएर प्रहरीचौकी र स्थानीयवासीको घरमासमेत जोखिम बढाएको छ । विद्यालयको भौतिक क्षति त भयो । यसले गर्दा हजारौँ विद्यार्थीको भविष्य अन्धकारमा धकेलिएको छ । गुणस्तरीय शिक्षा कसरी प्रदान गर्न सकिन्छ भन्दै अहोरात्र खटिरहेको विद्यालयका प्रधानाध्यापक कृष्ण ढुंगाना, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलबहादुर शाहीलगायत सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावक र अन्य शिक्षापे्रमी महानुभावले चासो र चिन्ता लिइरहेको बेला प्रकृतिले किन चिन्ता लिन सकेन ?

स्याउलाले बार खरको छाना बनाएर भए पनि यस भेगमा शिक्षा दिनुपर्छ भन्दै ०४७ सालमा स्थापना भएको तेर्से माविले ढुक्कको श्वास फेर्न कहिल्यै पाएन । विभिन्न संघसंस्था, दातृ निकाय र अभिभावकहरूको पहलमा निर्माण गरिएको विद्यालय ०७२ सालको भूकम्पले माटोमा मिलाइदियो । त्यतिबेला विद्यालय सञ्चालनका लागि गरिएको पहल र संघर्ष अभिभावक, विद्यार्थी तथा शिक्षकहरूले भुलेका छैनन् । काठका खम्बा, टिनले बारेको विद्यालय, जस्ताले छाएको छानो भूकम्पपछिको अवस्था हो । एउटा कक्षामा पढाएकोदेखि हल्ला गरेकोसम्म अर्को कक्षाका विद्यार्थीले सुन्थे । त्यतिबेलाको फाइदा भनेको विद्यालयको भवन ढले पनि जमिनचाहिँ थियो । अहिले न भवन छ न जमिन । यो दर्दनाक अवस्थाबाट तेर्से मावि फेरि पनि उठ्न प्रयासरत छ । विद्यालयका प्रधानाध्यापक ढुंगाना जस्तोसुकै चुनौती सामना गरेर भए पनि विद्यालय सञ्चालनका लागि निरन्तर लागिरहने बताउँछन् । भूकम्पको बेला जस्तै आमअभिभावक, शिक्षाप्रेमी महानुभाव, सरोकारवाला निकायलगायत सम्पूर्णको सहयोगले खोलामा तारजाली लगाएर विद्यालयको बाँकी भूभाग बचाउन सकिन्छ कि भन्ने अभियानमा लागेको उनले बताए ।
मेलम्ची बजारदेखि हेलम्बुको चनौटेसम्मका विद्यार्थीको भविष्य बोकेको विद्यालय क्षणभरमै खोलामा मिल्नुले विद्यार्थीको मात्र होइन, यस भेगको सम्भावना तुहिने हो कि भन्ने चिन्ता लाग्नु स्वाभाविक हो । यता विद्यालयका अध्यक्ष शाही पनि विद्यार्थीको भविष्यको चिन्ता लिँदै पुनः गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि विद्यालय अगाडि बढ्ने बताउछन् ।

हेलम्बु गाउँपालिका–४ ढुंगे बजारमा रहेको इस्ट पोइन्ट एकेडेमी बोर्डिङ स्कुलमा ५ सय ५० जना विद्यार्थी अध्यनरत छन् । सरकारी स्कुलको सन्दर्भमा बोर्डिङ स्कुलमा पूर्णतया अंग्रेजी माध्यमबाट पढाइ हुने भएकाले अभिभावकको ध्यान बोर्डिङ स्कुलतर्फ केन्द्रित हुने गरेको छ । निजी विद्यालय भए पनि समुदायको आशा बोकेको विद्यालय खोलामा सीमित हुँदा विद्यालयका प्रधानाध्यापक दामोदर भारती निःशब्द छन् । उनको घर, खेत पूरै खोलाले बगाएको छ । तर, उनलाई बगेका घर खेतभन्दा धेरै विद्यालय र विद्यार्थीको भविष्यको चिन्ता छ । घरको पिल्लर मात्र देखाउँदै उनले भने, ‘मेरो आफ्नै घर छैन, वर्षभरि खाने खेत छैन जिन्दगी सुम्पेको विद्यालय पनि छैन ।’ केही सोच्नै सकेको छैन भावुक हँुदै उनले भने, ‘प्रकृतिसँग कसैको केही नलाग्ने रैछ । भूकम्पले ढलाएको विद्यालय पुनर्निर्माणपश्चात् गुणस्तरीय शिक्षामा नै केन्द्रित थियो ।’
विद्यालयको भवन त ढल्यो नै अभिभावकहरूले पनि चासो र चिन्ता लिइरहेका छन् । विडम्बना चासो दिनैपर्ने निकायले चासो नदिँदा भने उनी दुःखी छन् । विद्यालयमा त्यति धेरै क्षति हुँदा स्थानीय सरकार, प्रदेश सरकार, केन्द्र सरकारदेखि सरोकारवाला निकायको एक कल फोनसमेत नआउँदा र सहानुभूतिका शब्द वर्षा नहुँदा दुःखित भएका उनले कोही नभए पनि अभिभावक त हुनुहुन्छ भन्दै चित्त बुझाउने प्रयास गरेका छन् । अबको विद्यालय के हुने ? कहाँ स्थानान्तरण गर्ने ? शैक्षिक गतिविधि कसरी अगाडि बढाउने लगायतका प्रश्नको वर्षाले चिन्तित छन् उनी ।

यस्तै बाढीले रेडियो मेलम्ची १०७ दशमलव २ मेगाहर्जको कार्यालयमा पूर्ण क्षति पु¥याएको छ । बाढीको सूचना दिँदादिँदै आफैँ बाढीमा डुबेको रेडियो मेलम्चीले ठूलो क्षति बेहोर्नु परेको छ । समुदायको सहयोगमा भर्खरै निर्माण सम्पन्न भएको रेडियोको भवन क्षणभरमै बाढीमा विलिन हुँदा समुदायको मन रोएको छ । समुदायसँगै सहयोग संकलन गरेर ठडिएको भवन अहिले डुबानमा छ । रेडियोको सम्पूर्ण सामानमा क्षति पुगेको छ । ल्यापटप, कम्प्युटर, विभिन्न डिभाइस, क्यामेरा, नगदपैसालगायत रेडियोसँग सम्बन्धित सम्पूर्ण कागजपत्रहरू बाढीले बगाउँदा अहिले रेडियो सञ्चालन गर्न हम्मेहम्मे भएको छ । धरै मिहिनेतपछि आफ्नै भवनबाट सञ्चालनमा आएको रेडियो फेरि पनि पुरानै अवस्थामा जस्ताको टहरोमा सीमित भएको छ । रेडियोमा भएको क्षतिका कारण ग्रामीण भेगका नागरिकको सारथी गुमेको छ भने रेडियोको हालत बिचल्ली भएको छ । करिब ६५ लाख लागतमा निर्माण गरिएको भवन र त्यहाँको संरचनामा पुगेको क्षतिले करिब १ करोड २० लाखभन्दा धेरैको क्षति पुगेको छ । अहिले रेडियो सञ्चालनका लागि हारगुहार गर्दै अगाडि बढ्नुको विकल्प छैन ।

विभिन्न व्यक्ति तथा संस्थाले तत्कालका लागि केही सहयोग गरे पनि दीर्घकालीन रूपमा रेडियो सञ्चालनका लागि बाटो हेरिरहेको रेडियो मेलम्चीका अध्यक्ष डम्बर रसिक भारतीले बताए । रेडियो सञ्चालनका लागि तत्काल ल्यापटप, कम्प्युटर, रेकर्डर, फर्निचर, अडियो कन्भर्टर, डेबालगायत उपकरणको आवश्यकता छ । छिटोभन्दा छिटो रेडियो व्यवस्थित ढंगले सञ्चालन गर्नका लागि सहयोगको अपिलसमेत गरिएको छ ।

अहिलेको मेलम्ची पीडितहरू विभिन्न स्थानमा छरिएर रहेका छन् । ग्रामीण तथा विकट कतिपय स्थानमा अझै पनि राहत नपुग्दा सुविधासम्पन्न र बेँसी इलाकामा राहतको ओइरो लागेको छ । खाद्यान्नभन्दा पनि आवश्यकता हेरेर राहत ल्याउनका लागि स्थानीय सरकारले आग्रह गरिरहेका छन् । जोखिममा रहेका घर तथा बस्तीको अस्थायी रूपमा स्थानान्तरण गर्ने काम लगभग सकिएको छ भने स्थायी रूपमा पीडितहरूका लागि के गर्ने भन्ने विषयमा स्थानीय सरकार रनभुल्लमा छ । क्षतिको विवरण संकलन र राहत वितरणको कामलाई निरन्तरता दिइरहेको स्थानीय सरकार मैदानमा नै निरन्तर भए पनि स्थानीयवासीले भने आलोचना गर्न छाडेका छैनन् । अहिले मेलम्चीदेखि हेलम्बुको अवरुद्ध सडक खोल्नका लागि प्रयास भइरहे पनि पानीको बहावले निरन्तर काटिरहने हुनाले समस्या भएको मेलम्ची नगरपालिकाका प्रमुख डम्बर अर्यालले बताए ।

प्रतिक्रिया