खोजखबर

वर्षाले कारागारको पर्खाल भत्काएपछि कैदीबन्दी जाखिममा

सौर्य अनलाइन २०७८ असार ६ गते १४:५९ मा प्रकाशित

मान्म । लगातारको वर्षाका कारण जिल्ला कारागार कालीकोटको पर्खाल भत्किएको छ । पुरानो जीर्णाद्धार भवनसहितको चिरा परेको पर्खा वर्षाले भत्काएको हो । कारागारको पर्खाल भत्किँदा कैदीबन्दी जाखिममा परेका छन् ।

जेलर नरबहादुर सार्कीले १५ मिटर जति पर्खाल भत्कि सकेको जानकारी दिए । ‘कारागारको एउटातर्फको पर्खाल भत्किएको छ र अर्कोतर्फ पर्खाल भत्किन लागेको छ’, उनले भने, ‘पर्खाल भत्किँदा कारागार सुरक्षामा खटिएका प्रहरीले पाल टाँगेर सुरक्षा दिएका छन्, कैदीबन्दी पनि जोखिममा परेका छन् ।’

पच्चीस जनाको क्षमता भएको ‘घ’ श्रेणीको कारागारमा हाल कारागारमा ७४ कैदीबन्दी रहेको छन् । २०३२ सालमा बनेको कारगार भवनको अति जीर्ण अवस्था भएका कारण ०७३ साल चैत १३ मा एकजना कैदी भागेका थिए ।

कालीकोटका खाडाँचक्र र तिलागुफा नगरपालिका, शुभकालिका, नरहरिनाथ , पचालझरना र पलाता गाउँपालिकामा २७ घरटहरा भत्किँदा १३७ जना विस्थापित भएका छन् ।

जिल्लाका केही स्थानीय तहबाट पहिराको क्षतिबारे विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक भुपेन्द्र शाहीले बताए । उनले नरहरिनाथ–९ लालुको शीतलपानीको दलित बस्ती पनि पहिराका जोखिममा परेको जानकारी दिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय