विश्व टेष्ट च्याम्पियनशिपको फाइनल शुक्रबार : भारत र न्यूजिल्याण्ड भिड्दै

लण्डन । न्युजिल्यान्ड क्रिकेट बोर्डले शुक्रबार देखि इंग्ल्यान्डको साउथ ह्याप्टनमा सुरु हुने भारतसँगको विश्व टेष्ट च्याम्पियनसिप फाइनलको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । न्युजिल्यान्डले इंग्ल्यान्डसँगको दुई टेष्ट सिरिजपछि पाँच खेलाडीलाई हटाउँदै अन्तिम टोली घोषणा गरेको छ । घोषणा टोलीमा इंग्ल्यान्डसँग टेष्ट डेब्यूमै दोहोरो शतक प्रहार गर्ने डेभन कन्वे, दोस्रो टेष्टमा राम्रो प्रदर्शन गरेका स्पिनर अजाज पटेल र तीव्र गतिका बलर म्याट हेनरीलाई टोलीमा समेटेको छ । इंग्ल्यान्डसँगको सिरिजमा रहेका डग ब्रेसवेल, जेकब डुफी, ड्र्याल मिशेल, रचिन रविन्द्र र मिचेल सान्टनरले भारतसँगको फाइनलमा स्थान बनाउन सकेनन् । केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्डको टोलीमा पाँच प्रमुख तीव्र गतिका बलर छन् । कोलिन डी ग्रान्डहोमले अलराउन्डरमा स्थान बनाएका छन् । इंग्ल्यान्डसँगको दोस्रो टेष्टमा उत्कृष्ट प्रदर्शन गरेका विल योंग स्पेलिष्ट ब्याटिङको रुपमा स्थान बनाएका छन् ।

आइसिसीका टेष्ट वरियता शीर्ष नौं टोलीबीच दुई बर्ष चलेको टेष्ट च्याम्पियनसिपमा भारत शीर्ष र न्युजिल्यान्ड दोस्रो स्थानमा रहँदै फाइनल खेल्न लागेका हुन् । टेष्ट च्याम्पियनसिपको विजेताले १.६ मिलियन डलर प्राप्त गर्ने छ । उप विजेता अर्थात दोस्रो हुने टोलीले ८ लाख अमेरिकी डलर प्राप्त गर्ने छन् । टेष्ट च्याम्पियनसिपको अंक तालिका तेस्रो स्थानमा रहेको अष्ट्रेलियाले ४ लाख ५० हजार, चौथो स्थानको इंग्ल्यान्डले ३ लाख ५० हजार र पाँचौं स्थानमा आफ्नो स्थान अन्त्य गरेको पाकिस्तानले २ लाख अमेरिकी डलर पाउने आइसिसीले जनाएको छ ।

अंक तालिकामा छैटौं स्थानमा दक्षिण अफ्रिका, वेस्टइन्डिज सातौं, आठौंमा श्रीलंका र पुछारमा बंगलादेश छन् । पुछारका यी चार टोलीले समान एक एक लाख अमेरिकी डलर प्राप्त गर्ने छन् । शुक्रबारबाट सुरु हुने टेष्ट च्याम्पियनसिप फाइनलको लागि दुबै टोली इंग्ल्यान्डमा आफ्नो तयारी अन्तिम चरणमा पुर्याएका छन् । न्युजिल्यान्डले फाइनल अघि इंग्ल्यान्डसँग दुई टेष्ट सिरिज खेल्दै १–० ले जितेको छ । भारतले आन्तरिक अभ्यास गरि रहेको छ । वर्तमान समयमा विश्व टेष्ट वरियता शीर्ष स्थानमा न्युजिल्यान्ड र दोस्रो स्थानमा भारत छन् । टेष्ट च्याम्पियनसिप फाइनल बराबरी भएमा भने संयुक्त रुपमा विजेता घोषणा गरिने आइसिसीले जनाई सकेको छ । साउथह्याप्टनमा विश्वका दुई उत्कृष्ट टोलीबीच हुने फाइनल निकै प्रतिस्पर्धात्मक र रोचकको अपेक्षा गरिएको छ ।

प्रतिक्रिया