नेपाल आईपुगे ह्वाटमोर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका मुख्य प्रशिक्षक देभ ह्वाटमोर आज नेपाल आई पुगेका छन् । कोरोना महामारीको कारण नेपालको घरेलु क्रिकेट ठप्प भएपछि अघिल्लो महिना श्रीलंका फर्किएका ह्वाटमोर सोमबार विहान ९ : २० मा त्रिभुवन विमानस्थलमा आई पुगेको नेपाल क्रिकेट संघ (क्यान) का म्यानेजर विनोद दासले जानकारी दिएका छन् । ह्वाटमोरलाई क्वारेनटाइनमा राखिएको छ । उनी चार दिनसम्म क्वारेनटाइनमा बस्ने छन् । पिसिआर परिक्षण हुने छ । क्यानले प्रशिक्षणको लागि सरकारको नियमलाई हेरेर प्रशिक्षण थाल्ने छ । ह्वाटमोरले क्वारेनटाइन अवधि सकिएपछि मात्र प्रशिक्षण थाल्ने छन् । बन्द प्रशिक्षणको मिति तय भएसँगै खेलाडीको नाम पनि सार्वजनिक हुने दासले बताए । दुई दिनभित्रमा नाम सार्वजनिक हुन सक्ने उनले बताए । छनोट समितिले क्यानलाई खेलाडीको नाम भने पठाई सकेको छ ।

आइसिसी विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीचको खेल जुलाई तेस्रो साता स्पेनमा हुँदै छ । स्कटल्यान्डमा हुनुपर्ने उक्त सिरिज कोरोना महामारीको कारण स्पेनमा हुने पक्का भनिएपनि यद्यपी नेपाल क्रिकेट संघ (क्यान) र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले औपचारिक रुपमा भने जानकारी दिएका छैनन् । क्यानले बन्द प्रशिक्षणमा २५ भन्दा कमनै खेलाडी बोलाउने तयारी गरि रहेको छ । कोरोना महामारीको कारण क्यानले २० खेलाडी स्पेन भ्रमणको लागि माग गर्दै आएको छ ।

अष्ट्रेलिया पूर्व खेलाडी तथा विश्वकप विजेता ह्वाटमोर गत माघमा नेपाल आएका थिए । उनको प्रशिक्षकमा नेपालले वैशाख पहिलो साता घरेलु मैदान टियुमा नेदरल्यान्ड्सलाई फाइनलमा १ सय ४२ रनको फराकिलो अन्तरले हराउँदै उपाधि जितेको थियो । नेपाल, मलेसिया र नेदरल्यान्ड्सबीचको त्रिकोणात्मक सिरिजमा नेपाली खेलाडीको ब्याटिङमा देखिएको सुधारले ह्वाटमोरबाट धेरै आशा र अपेक्षा गरिएको छ । सन् १९९६ मा श्रीलंकालाई प्रशिक्षकको रुपमा एकदिवसिय विश्वकप जिताएका ह्वाटमोरको परिवार भने श्रीलंकामा वसोवास गर्दै आएका छन् ।

प्रतिक्रिया