क्रिकेट टोलीको उत्कृष्ट जर्सी डिजाइनरलाई एक लाख

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) र नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रायोजक माई सेकेन्डटिचर (एमएसटी)ले राष्ट्रिय क्रिकेट टोलीको जर्सी डिजाइन गर्नका लागि प्रतिस्पर्धा खुल्ला गरेको छ । क्यान र एमएसटीले सोमबार एक संयुक्त विज्ञप्ती जारी गर्दै जर्सीको डिजाइनका लागि प्रतिस्पर्धा खुल्ला गरेको जनाएको हो । डिजाइन गर्नेले राष्ट्रिय टोलीको जर्सीको अगाडि र पछाडिको भाग दुवैलाई ध्यानमा राखेर डिजाइन गर्नुपर्ने हुन्छ । कुनै पनि व्यक्तिले जर्सीको डिजाइन गर्दा नेपालको राष्ट्रिय झण्डामा प्रयोग हुने रातो र निलो रङ्गको प्रयोग गर्न पर्ने विज्ञप्तिमा जनाइएको छ । डिजाइनरले जर्सीको डिजाइन गर्दा राष्ट्रिय टोलीले पालना गर्न पर्ने अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को नियम अनुसार नै डिजाइन गर्नुपर्ने हुन्छ ।

माई सेकेन्ड टिचरका सह संस्थापक सुलभ बुढाथोकीले भने, ‘हामीले नेपाली टोलीको जर्सी राम्रो र उत्कृष्ट होस् भन्ने हिसाबले क्यानसँग खुल्ला प्रतिस्पर्धाबाट डिजाइन छनौटको लागि सहकार्य गरेका हौँ । आशा छ, यसमा धेरै भन्दा धेरैले भाग लिने छन् र नेपाली टोलीले सबैको आँखामा बस्ने खालको जर्सीको डिजाइन पाउने छ । उत्कृष्ट हुने डिजाइन नेपाली टोलीले आगामी दिनमा हुने प्रतियोगिताहरूमा त्यसै अनुरूप प्रयोग गर्नेछ भने उत्कृष्ट डिजाइन गर्नेलाइ पुरस्कार स्वरुप नगद १ लाख पनि माई सेकेन्डले प्रदान गर्नेछ। ’

क्यानले विज्ञापन एजेन्सी एड प्याड मार्फत माई सेकेन्ड टिचरलाई राष्ट्रिय टोलीको प्रमुख प्रायोजकको रुपमा पाएको हो । एड प्याडको प्रबन्ध निर्देशक सुरज गिरीका अनुसार उत्कृष्ट डिजाइन बनाउनेले पुरस्कार स्वरुप नगद १ लाख पनि हात पार्ने छ ।

नेपालले जुलाईमा विश्वकप लिग टु अन्तर्गतको स्पेनमा आयोजना हुने आफ्नो दोश्रो शृंखलामा स्कटल्याण्ड र नामिबियाको सामना गर्नेछ । आफ्नो डिजाइन दिने अन्तिम मिति यसै महिनाको १७ तारिखसम्म रहेको छ । डिजाइन क्यानको इमेल [email protected] मा गर्न पर्ने हुन्छ भने यस सम्बन्धी सम्पूर्ण जानकारी क्यानको वेबसाइटमा पनि राखिएको गिरीले जानकारी दिए । यसै बीच माई सेकेन्ड टिचरले यसै महिनाको सुरुवातमा आयोजना भएको नेपाल, नेदरल्याण्डले र मलेसिया सम्मिलित त्रिकोणात्मक शृंखलाको उपाधि जित्ने नेपाली टोलीलाई नगद ५ लाखका साथै उक्त शृंखलाको क्रममा डेब्यु गर्ने ४ जना खेलाडीहरु, कुशल भुर्तेल, आसिफ शेख, शाहब आलम र कमल सिंह ऐरीलाई जनही नगद एक लाख केही दिनमा नै एक कार्यक्रमको आयोजना हस्तान्तरण गर्ने भएको छ ।

प्रतिक्रिया