युरोकप सुरु, यी हुन् उपाधि दाबेदार टिम

रोम । कोरोना महामारीका कारण एक वर्षपछि सरेको युरोपेली च्याम्पियनसिप अर्थात युरोकप २०२० शुक्रबारदेखि सुरु हुँदैछ । मिनी विश्वकपको रुपमा चिनिने युरोकपको यो १६औं संस्करण हो । जसमा कूल २४ टिमले प्रतिस्पर्धा गर्दैछन् । त्यसमा ९ टिम त पूर्वविजेता मात्रै छन् । अहिलेसम्म १० टिमले उपाधि जित्दा ग्रीस मात्र यसपटक छनोट हुन सकेन । त्यसैले पनि यसपटक युरोकप प्रतिस्पर्धात्मक हुन सक्छ ।
युरोकपको ६०औं वर्षको अवसरमा यस पटक प्रतियोगिता ११ देशमा हुँदैछ । उदघाटन खेल इटली र टर्कीबीच रोममा हुनेछ भने जुलाई ११ मा लण्डनस्थित वेम्बलीमा फाइनल खेल हुनेछ ।

उपाधि दाबेदार भएर पनि अहिलेसम्म युरोकप जित्न नसकेका बेल्जियम र इंग्ल्याण्ड पनि यस पटक खेल्दैछन् । सहभागी २४ मध्ये झण्डै एक तिहाइ टिम उपाधिको दाबेदारको रुपमा छन् । साविक विजेता पोर्चुगल, विश्व विजेता र साविक उपविजेता फ्रान्स, सर्वाधिक ३ पटकको च्याम्पियन जर्मनी र स्पेन अनि विश्व वरीयताको शीर्ष स्थानमा रहेको बेल्जियम प्रमुख दाबेदारको रुपमा छन् । यस्तै इंग्ल्याण्ड, एक पटकको विजेता इटली र नेदरल्याण्ड्स पनि उपाधि दाबेदारकै रुपमा छन् ।

पूर्व च्याम्पियनमध्ये डेनमार्क, रसिया र चेक रिपब्लिकलाई उपाधि दाबेदारको रुपमा हेरिएको छैन । डेनमार्क र नेदरल्याण्ड्स २०१६ मा छनोट हुन नसके पनि यस पटक पुनरागमन गरेका छन् । यसबाहेक सन् २०१८ मा फ्रान्सले विश्वकप जित्दा अप्रत्यासितरुपमा फाइदा पुगेको क्रोएसियाले पनि अर्को अप्रत्यासित नतिजा निकाल्न सक्छ ।

पोर्चुगल, फ्रान्स र जर्मनी एउटै समूहमा रहेकाले एक पूर्व विजेताको यात्रा समूह चरणबाटै समाप्त हुन पनि सक्छ । तर ६ वटै टिमको शीर्ष दुई टिमसँगै तेस्रो हुनेमध्ये चार टिम पनि प्रिक्वाटरफाइनलमा पुग्ने भएकाले तीनवटै टिम नकआउट पनि पुग्न सक्छन् । त्यसका लागि सबै ६ टिमको नतिजा र अन्य समूहको नतिजा निर्णायक हुनेछ । कोरोना महामारीले गर्दा गत वर्ष नै हुनुपर्ने युरोकप एक वर्ष पछि सरेको थियो ।

युरोकपको यस संस्करणमा उपाधि दाबेदारको रुपमा रहेका टिमहरु यस्ता छन् –
फ्रान्स
पाँच वर्षअघि घरेलु मैदानमा भएको युरोकप फाइनलमा पराजित फ्रान्सले २०१८ मा विश्वकप जित्दै आफूलाई प्रमाणित गरेको थियो ।
साविक उपविजेता एवम् विश्व विजेता फ्रान्सलाई यसपटक उपाधि दाबेदारको रुपमा हेरिएको छ । विश्व वरीयतामा बेल्जियमभन्दा पछि रहेको फ्रान्स दोस्रो स्थानमा छ ।

पोर्चुगल
सन् २००४ मा घरेलु मैदानमा भएको युरोकपमा उपविजेता बनेको पोर्चुगलले २०१६ मा फ्रान्सलाई उसैको मैदानमा पराजित गर्दै पहिलो पटक युरो कप जितेको थियो ।
दुई पटकको च्याम्पियन फ्रान्स तेस्रो पटक युरो उपाधि जित्ने योजनामा छ । सुपर स्टार क्रिस्टियानो रोनाल्डोको नेतृत्व पोर्चुगल फेरि एक पटक उपाधि जित्ने लक्ष्यमा छ ।

स्पेन
जर्मनीसँगै सर्वाधिक ३ पटक विजेता स्पेन लगातार दुई पटक युरोकप जित्ने पहिलो टिम हो । २००८ मा स्पेनको गोल्डे जेनेरेसनले युरोकप जित्दै त्यसको सुरुआत गरेको थियो । सन् २०१० मा विश्वकप जितेको स्पेनले २०१२ मा फेरि युरोकप जित्दै लगातार तीन ठूला प्रतियोगिताको उपाधि जितेको थियो ।

बेल्जियम
पछिल्लो समय बेल्जियमको टिमलाई गोल्डेन जेनेरेसनको रुपमा हेरिएको छ । तर २०१६ को युरोकप र २०१८ को विश्वकपमा उपाधि दाबेदार मानिए पनि बेल्जियम फाइनल पुग्न सकेन ।
फिफा विश्व वरीयतामा अहिले शीर्ष स्थानमा रहेको बेल्जियम छनोटमा समूह ‘आई’मा अपराजित रहँदै सबै खेल जितेको रहेको थियो ।
जर्मनी

सन् २०१८ को विश्वकपमा साविक विजेता भएर पनि समूह चरणबाटै बाहिरिएको जर्मनी यस पटक युरोकपमा त्यो खराब क्षणलाई बिर्साउने लक्ष्यमा हुनेछ । २०१६ को युरोमा जर्मनी सेमिफाइनलमै पराजित भएको थियो ।
फिफा वरीयतामा १२औं स्थानमा रहेको जर्मनीलाई पुनरागमनका लागि पनि यो युरोकप महत्वपूर्ण सक्नेछ । छनोट चरणमा जर्मनी समह ‘सी’ मा अपराजित रहँदै शीर्ष स्थानमा रहेको थियो ।

इंग्ल्याण्ड
फिफा वरीयतामा चौथो स्थानमा रहेको इंग्ल्याण्ड जुनसुकै ठूलो प्रतियोगितामा सदाबहार दाबेदारको रुपमा रहन्छ । तर सन् १९६६ को विश्वकप विजेता इंग्ल्याण्डले अहिलेसम्म युरोकप उपाधि जित्न सकेको छैन । हरेक प्रतियोगिताअघि इंग्ल्याण्डको जति चर्चा हुन्छ प्रतियोगितामा इंग्ल्याण्डको प्रदर्शन उस्तै देखिँदैन । छनोटमा समूह ‘ए’ मा अपराजित रहेको इंग्ल्याण्ड शीर्ष स्थानमा रहेर छनोट भएको थियो ।

इटली
इटली सन् २०१८ को युरो कपमा जर्मनीसँग क्वाटरफाइनलमा पराजित भएको थियो । त्यसको दुई वर्षपछि भएको विश्वकपमा इटली छनोट हुन सकेन । त्यसपछि टिममा अहिले धेरै परिवर्तन आइसकेको छ ।

नेदरल्याण्ड्स
इटली जस्तै पछिल्लो समय नेदरल्याण्ड्सको टिममा धेरै परिवर्तन भएको छ । २०१६ को युरोकपमा छनोट हुन नसकेको सन् १९८८ को विजेता नेदरल्याण्ड्सले प्रतियोगितामा पुनरागमन गरेको छ । समूह ‘सी’ मा जर्मनीपछि दोस्रो स्थानमा रहेर नेदरल्याण्ड्स युरोकपका लागि छनोट भएको हो ।

प्रतिक्रिया