खोजखबर

हराउँदै सनपाट खेती

गोपालप्रसाद बराल २०७८ जेठ २८ गते ६:४४ मा प्रकाशित

करिब दुई दशक अघिसम्म सानाठूला सबै किसानले गर्ने सनपाट खेती अब बिस्तारै हराउँदै गएको छ । घरायसी प्रयोजनका नाम्ला/दाम्ला, डोरी र ठूलो रस्सा बनाइने र सनपाट बेचेर नगद जोहो गर्ने यो खेती महोत्तरीमा अब देखिन छाडेको हो । अहिले नौलो जस्तै बनेको छ सनपाट खेती । अझ नयाँ पुस्ता त यसबाट बेखबर जस्तै छ । जिल्लाको भंगहा नगरपालिका–४ का ८० वर्षीय हस्तबहादुर श्रेष्ठका हातमा अन्य कामबाट फुर्सत हुनासाथ अहिले पनि सुत्री कात्ने ढेडुवा (काठको तीन मुख भएको फिरफिरे ) हुन्छ । यो काम सनपाटको खेती हुन छाडेपछि केही दशक पहिलेभन्दा केही फरक भएको छ । पहिले आफैँले उत्पादन गरेको सनपाटको सुत्री कात्ने श्रेष्ठ अब भने पाटका बोरा उधिन्दै त्यसको धागो छुट्याएर सुत्री कात्ने गर्न थालेका छन् । सनपातको विकल्पमा उनले बोराको धागो प्रयोग गर्न थालेका छन् ।

‘पहिले उमेर छँदा टन्न सनपाट खेती गरिन्थ्यो, आफूलाई वर्षभरि चाहिने नाम्ला, दाम्ला, डोरी र रस्सा बनाएर घरमा चलाएर धेरै भएको बेचिन्थ्यो,’ श्रेष्ठले भने, ‘अब सनपाट लगाउने आफ्नो हुति (तागत) छैन, गरिआएको काम के गरौँ ? बोरा उधिनेर सुत्री कातिन्छ ।’ उनले बिगत सम्झदै अहिलेको अवस्था सुनाए । उनको त्यो सनपाटसँगको साइनो टुटे पनि त्यसलाई माया मार्न सकेका छैनन् । श्रेष्ठ मात्रै होइन, मधेशमा पाका उमेरका आम किसान अन्य कामबाट फुर्सत भएको समय डोरी, दाम्लो र मोटो रस्सा बनाउन फुर्सतको समयमा ढेडुवा नचाउँदै सुत्री कात्छन् । सुत्री कात्नु उखरमाउलो गर्मीबीच समवयस्कसँग कुराकानी गर्दै आरामका बेलामा गरिने पाका किसानहरूको आम कुरा हो । पहिले सनपाटबाट बनाइने सुत्री अब पुराना बोरा उधिनेर कात्नुपरेको अहिले पनि फिरफिरे नचाइरहेका श्रेष्ठले बताए । उनको हात र मुख एकै नासले चलेको छ । उनले कुरा गर्दाको अवस्थामा पनि आफ्ना हात चलाउन भने छोडेनन् ।

करिब दुई दशक अघिसम्म जिल्लाका सबैजसो भेगमा धेरथोर सनपाट खेती गरिन्थ्यो । कुत्रुङ्, कश्मिरा र पटुवा जातका सनपाटको खेतीबाट आफूलाई आवश्यक पर्ने सुत्री कात्थे उनीहरू । त्यसरी बनाइएका सुत्री घरमा प्रयोग गरेर बढी भएको बेचेर घरखर्चका लागि नगदको जोहो गर्ने गरेको श्रेष्ठसँगै रहेका रामनन्दन महतोले बताए । ‘आफ्ना नाडी गले, गर्न सकिँदैन, छोराहरूले यो खेतीमा ध्यान दिँदैनन्’ महतोले भने, ‘तैपनि घरका पशुवस्तुलाई चाहिने दाम्ला आफैँ पु¥याउँ भनेर थोत्रा बोरा उधिन्दै सुत्री कातेको हूँ ।’ उनलाई आफुले युवा अवस्थामा गरेको काम छाडन सकेका छैनन् । सनपाट नभए पनि उनी बोराबाट निकालिएको सुत्रीले त्यस्तै डोरी बनाउन छाडेका छैनन् । पछिल्ला केही दशकयता हाटबजारमा प्लाष्टिकका दाम्ला, नाम्ला र डोरी प्रचुर आउन थालेपछि पछिल्लो पुस्ताका किसानले सनपाट सम्झन नै छाडेका महतोले बताएइ । हुन पनि सनपाटका दाम्ला, नाम्ला र डोरीको ठाउ प्लाष्टिकले लिएको छ । एक प्रकारले भन्दा प्लाष्टिकले सनपाटलाई विस्थापित गरे जस्तै भएको छ ।

सनपाट घरायसी प्रयोजनका डोरी, नाम्ला, दाम्ला र रस्साका लागिमात्र नभई कागज, बोरा, झोला, कपडा बुन्न उद्योगले किन्ने गथ्र्यो । यसबाहेक असारमा धान रोपाइँ गर्नुअघि खेत हिल्याउँदा सनपाटसहित जोतेर सम्याएपछि मलको आवश्यकता पूरा हुने गरेको किसान सम्झन्छन् । ‘जेठ निगल्दो खेतमा लहलहाएको सनपाटसहितै जोतेर हिल्याएपछि पाँच÷सात दिनमा गलेर मल बन्थ्यो,’ बर्दिबास–९ का किसान महेन्द्र महतोले सम्झदै भने, ‘त्यही मलले धान राम्रो उत्पादन हुन्थ्यो ।’ तर अहिले त्यो ठाउँ पनि रसायनीक मलले लिएको छ । खेतका हिलामा सनपाट भेटिदैन ।

सनपाट खेतीले जग्गाको उर्वरा शक्ति बढाउने किसान बताउँछन् । ‘डाँठ र पात कुहाएर प्राङ्गारिक मल हुने र जराका गिर्खाहरूले नाइट्रोजन मल बनाउने हुँदा यो जग्गाको उर्वरा शक्ति बढाउन उपयोगी भएको हो,’ महतोले भने । तर ती दिन उनीहरूका लागि अहिले सम्झना मात्रै भएका छन् । केही वर्ष अघिसम्म पूर्वपश्चिम राजमार्ग छेउमा पानी जम्ने ठाउ वा अन्य ठाउँमा पानी जमाएर सनपान पिटदै गरेका दृश्य निकै देखिन्थ्यो तर अहिले त िदृश्य देखिदैनन् ।

सनपाट खेतीका लागि बोट छिप्पिएपछि काटेर गहिरो पानीमा डुबाएर केही दिन राख्नुपर्छ । महोत्तरीमा लगाइने गरिएका सनपाटमध्ये कुत्रुङ् २२ दिन, कश्मिरा तीन दिन र पटुवा १०/१२ दिन पानीमा गलाएपछि चुटेर सफा पार्दै रेशा निकालिन्छ । पछिल्ला केही दशकयता पोखरी, दह र नदीमा पानी सुक्दै गएपछि यो खेतीको सम्भावना पनि सुक्दै गएको किसान बताउँछन् । सनपाटको रेशा (धागो) सुत्री कात्न र उद्योगलाई बेच्न सकिने र सन्ठी (डाँठ) दाउरामा प्रयोग गर्ने गरिन्छ । सनपाटको सन्ठी अत्यन्त प्रज्वलनशील हुने हुँदा गाउँघरमा आगो सल्काउन÷जगाउन गृहिणीले बचाएर राख्ने पुरानो चलन पाका गृहिणी बताउँछन् । सन्ठी दीपावली पर्वमा ‘हुक्कालोली’ खेल्न प्रयोग गर्ने मधेशको चलन छ । भूतप्रेत र दुष्ट आत्माहरूको बस्ती र बालीनालीमा आँखा नलागोस् भनेर सन्ठी बालेर ‘हुक्कालोली’ भन्दै नचाइने यो परम्परालाई खेलकै संज्ञा दिइएको छ । यस प्रयोजनका लागि सन्ठी जोगाएर राखिने गरेको पाका किसान सम्झन्छन् । सनपाटको सबै चीज उपयोगी हुन्छ ।

यो बहुउपयोगी खेती अब जिल्लामा हराउँदै गएको छ । कतैकतैमात्र पुराना किसानले थोरै जग्गामा लगाएको देखिन्छ । पशुपालक किसानलाई दाम्ला, डोरी चाहिरहने सामग्री हुन् । त्यस्तै पाटको रेशा राम्रो मूल्यमा बिक्री हुन्छ । यो खेतीको अर्को महत्वपूर्ण पाटो खेतबारीलाई उर्वर बनाइराख्न मलको आवश्यकता पूरा गर्ने हुँदा मल पाइएन भनेर छटपटिनु नपर्ने कृषि क्षेत्रको सरकारी सेवाबाट निवृत्त भएका भंगाहा–६ का बासिन्दा कृषिविज्ञ राजकिशोर यादवले बताए । जमीनको सामान्य चिस्यानमा हुनसक्ने सनपाट खेतीमा किसानलाई उत्प्रेरित गर्नुपर्ने यादवको भनाइ छ । सनपाट खेती गर्मी हावापानीमा हुने गर्छ । छरेको ठिक ४५ दिनमा काट्न तयार हुने यो खेतीका लागि महोत्तरीको माटो र वातावरण अनुकूल भएको कृषि प्राविधिक बताउँछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय