महामारी रोकथाममा जुट्यो, हुम्ला

कोरोना भाइरसको दोस्रो लहरका रूपमा नेपालमा पुनः संक्रमण बढेपछि हिमाली जिल्ला हुम्लामा पनि यसको प्रभाव देखिएको छ । जिल्लामा संक्रमितको संख्या बढ्दै गएपछि यहाँका स्थानीय तहले संक्रमण थप फैलन नदिन विभिन्न तयारी थालेका छन् । सदरमुकाम सिमकोटमा हरेक दिन संक्रमितको संख्या बढ्न थालेपछि जिल्लाका सबै तहले प्रतिकार्यको तयारी थालेका हुन् । जिल्ला बाहिरबाट आउनेहरूका कारण जिल्लामा संक्रमणको जोखिम बढ्दै गएपछि जिल्लाका सातओटै स्थानीयतहले आफ्नो तयारीको कामलाई अघि बढाएका हुन् ।

जिल्लाका प्रायः सबै स्थानीय तहले हेल्थ डेस्क स्थापनाको कामलाई प्राथमिकता दिएका छन् । त्यस्तै स्वास्थ्यका मापदण्डको पालना गराउन जिल्लाका स्थानीय तहले ध्यान दिएका छन् । उपचारमा स्थानीय तहले प्रयोग गरेका सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रायोग गर्नेदेखि आफैले चिकित्सक नियुक्त गर्नेसम्मका काम गरेका छन् । जिल्लाको सिमकोट, खार्पुनाथ र सर्केगाड गाउँपालिका बाहेक अन्य चारवटा स्थानीय तहले भने आइसोलेशन र संक्रमितको परीक्षणको काम सुरु गर्न सकेका छैनन् । यी बाहेकका अन्य पालिकाले आफ्नो क्षेत्रमा संक्रमितको संकेत देखिएमा मात्रै काम सुरु गर्ने बताएका छन् । सात वटा स्थानीय तह भएको हिमाली जिल्ला हुम्लामा कोरोना संक्रमणलाई थप फैलन नदिन र आवश्यक पूर्वाधारको स्थापनाका लागि पहलका थालेका हुन् ।

सुदूरपश्चिम प्रदेशको बाजुरासँग सीमा जोडिएको ताँजाकोट गाउँपालिकाले हुम्ला प्रवेश गर्ने मुख्य नाका कवाडीमा दुई जना स्वास्थ्यकर्मी सहितको हेस्थ डेस्क राखेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लालप्रसाद ढकालले बताए । गाउँपालिकाले तत्काल आइसोलेसन निर्माणको तयारी गर्न यसका लागि शय्या बनाउन सामान खरिद प्रक्रिया अघि बढाएको उनले बताए । उनका अनुसार गाउँपालिकामा भित्रिएका नागरिकहरूको पिसिआर परीक्षण गर्न गाउँपालिकाले पाँच सय थान एन्टिजेन किट खरिद गरेको छ ।

एन्टिजेन किट सुर्खेतबाट खरिद गरेर गाउँपालिकामा पुग्ने बित्तिकै सोमबारदेखि बिरामीलाई पहिलो प्राथमिकता दिएर परीक्षण सुरु गर्ने ताँजकोटका अध्यक्ष बागदल मल्लले बताए । ‘गाउँपालिकामा केही संख्यामा बिरामी देखा परेका छन,’ उनले भने, ‘हरेक वडामा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीलाई लिएर बिरामीहरूको एकिन गर्ने काम भएका छ । अब एन्टिजेन किट पुग्ने बित्तिकै परीक्षण गरेर आवश्यक उपचारको व्यवस्था गर्छौं ।’

यस्तै बाहिर जिल्ला र गाउँपालिकाबाट आउने मुख्य मार्गका दुई वटा स्थानमा हेल्थ डेस्क राखेको अदानचुलीले पदाधिकारीलाई प्रयोग गर्न खरिद गरेको गाडी र मोटरसाइकललाई बिरामी बोक्ने एम्बुलेन्सका रूपमा प्रयोग गर्ने तयारी गरेको छ । भर्खरै राष्ट्रिय सडक सञ्जालमा जोडिएको अदानचुलीले संक्रमितको संख्या बढेर अवस्था जटिल भएमा प्रदेश अस्पताल र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लैजान आफ्नो पालिकामा भएका सबै सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने गाउँपालिका अध्यक्ष दल फडेराले बताए ।

‘हामीले एक महेन्द्रा स्कार्पिओ गाडी र केही मोटरसाइकल समेत खरिद गरेर आन्तरिक प्रयोजनका काममा लगाएका छौँ,’ फडेराले भने, ‘संक्रमितको संख्या बढेर उपचार गर्न समस्या भएमा तिनै सवारी साधनलाई एम्बुलेन्सका रूपमा प्रयोग गर्ने तयारीसमेत गरेका छौँ ।’ जिल्ला बाहिरबाट आएका नागरिकलाई होम आइसोलेसनमा बस्ने निर्णय गरेको र पालिकाका ६ वटै वडामा स्वास्थ्यकर्मी सहितको टोली पठाएको अध्यक्ष फडेराले बताए । अदानचुली–१ को भिइघाट र वडा–३ को इप्लामा स्वास्थ्यकर्मीसहित हेल्थ डेस्क स्थापना गरेको अदानचुलीले केही दिनमै एन्टिजेन किटको व्यवस्था गरेर परीक्षणको दायरा फराकिलो पार्ने योजना बनाएको छ ।

गाउँपालिकाभित्र संक्रमितको संख्या नदेखिएकाले तत्काल आइसोलेसनको व्यवस्थालाई बिस्तारै अघि सार्ने योजना बनाएको सबै वस्तीमा स्वास्थ्यकर्मीहरूलाई परिचालन गरेको अध्यक्ष फडेराले बताए । यसैगरी तुम्चमा हेल्थडेस्कसहित स्वास्थ्यकर्मी खटाएको सर्केगाड गाउँपालिकाले बाहिरबाट आउने नागरिकलाई तापक्रम र सामान्य स्वास्थ्य परीक्षण गर्ने गरेको गाउँपालिकाका अध्यक्ष कृष्ण रोकायाले बताए । सम्भावित संक्रमणलाई ध्यानमा राखेर प्रत्येक वडामा पाँच वटा शय्याको र गाउँपालिकाको केन्द्र सर्केगाडमा १५ शय्याको आइसोलेसन निर्माण गर्न सुरुआत गरेको गाउँपालिकाका अध्यक्ष रोकायाले बताए । उनले भने, ‘आठवटै वडाका आइसोलेसनका लागि हामीले आवश्यक सामग्री खरिद प्रक्रियालाई अघि बढाएका छौँ ।’

अहिले आफ्नो पालिकामा संक्रमित भने छैनन् । अध्यक्ष रोकायाले भने, ‘तैपनि सम्भावित जोखिमलाई ध्यानमा राखेर हामीले स्वास्थ्यकर्मी खटाउने र अन्य व्यवस्थाको काम सुरु गरेका हौँ । सर्केगाडले गाउँपालिकाभित्रका नागरिकको कोरोना परीक्षणका लागि आफ्नै तर्फबाट एन्टिजेन किट खरिदको प्रक्रियासमेत थालेकोे छ ।’ मुगुसँग सडक सञ्जालले जोडिएको चंखेली गाउँपालिकाले मिमी स्वास्थ्य चौकीलाई आइसोलेसनका रूपमा निर्माण गर्ने गर्ने तयारी थालेको छ । गाउँपालिकाले सलिसल्ला र बोहोराबाडामा राखेका हेल्थ डेक्सको रिर्पोटअनुसार तीन सयभन्दा बढी व्यक्ति जिल्ला बाहिरबाट गाउँपालिका प्रवेश गरेको पालिका अध्यक्ष धनलाल चौलागाईले बताए । कोरोना परीक्षण अघि नै संक्रमण पुिष्ट भएका नागरिकलाई छुट्टै राख्न गाउँबाट केही टाढा रहेको मिमी स्वास्थ्य चौकीको भवनलाई आइसोलेसन केन्द्रका रुपमा तयारी गर्ने गाउँ कार्यपालिकाले निर्णय गरेको उनले दिए ।

गाउँपालिकाका सबै वडाका वडाध्यक्ष र सदस्यलाई कोरोना संक्रमणबाट बचाउन आवश्यक सचेतना जगाउने र बिरामीको संख्या एकिन गर्ने जिम्मा दिएर खटाएको जानकारी दिँदै अध्यक्ष चौलागाइँले, स्वास्थ्यकर्मीको अभावलाई पूर्ति गर्न अध्ययन गरेर घरमै बसेका स्वास्थ्यकर्मीलाई पनि खटाउने योजना पालिकाले अघि सारेको बताए । गाउँपालिकामा ६ दर्जन भन्दाबढी विभिन्न बिरामी भए पनि उनीहरूमा कोरोना संक्रमण भए नभएको पुष्टि गर्ने पालिकाकै खर्चमा ऐन्टिजेन खरिद प्रक्रिया अघि सारेको र त्यसको परीक्षण गर्ने तरिका सिक्न दुई जना स्वास्थ्यकर्मी सिमकोट पठाएको अध्यक्ष चौलागाईंले बताए ।

जिल्लाको खार्पुनाथ गाउँपालिकाले छिप्राको स्वास्थ्यचौकीमा पाँच शय्याको आइसोलेसन तयारी अवस्था राखिएको छ । सदरमुकाम सिमकोटसँग जोडिएको खार्पुनाथका स्थानीयमा चार जनामा संक्रमण पुष्टि भएर जनस्वास्थ्य कार्यालयको प्रत्यक्ष निगरानीमा रहेकाले थप संक्रमण बढ्ने डरले सुरुमै पाँच शय्याको आइसोलेसन तयारी अवस्थामा राखेको गाउँपालिकाका अध्यक्ष कर्ण रावलले बताए । जिल्लाका मध्य तथा दक्षिण क्षेत्रका स्थानीय तहलाई जोड्ने मुख्य बाटोमै पर्ने खार्पुनाथले मूल बाटोमा स्वास्थ्यकर्मी सहितका हेल्थ डेस्क राखेर नियमित विवरण संकलन गर्ने र प्रारम्भिक स्वास्थ्य परीक्षण गर्ने गरेको अध्यक्ष रावलले बताए । उनले भने, ‘अवस्थालाई मध्यनजर गरेर आइसोलेसन थप्ने काम गर्छौं,’ उनले भने, ‘अहिले तत्काल कोरोना परीक्षणको दायरा फराकिलो गर्न एन्टिजेन किटको खरिद प्रक्रिया अघि बढाउनेछौँ ।’

सरकारको नीतिअनुसार गाउँपालिकाले चिकित्सक नियुक्त गरेको नाम्खा गाउँपालिकाले लिमी बाहेकका सबै वस्तीमा स्वास्थ्य शिविर सञ्चालन गरेको बताइएको छ । औषधिसहितको स्वास्थ्य शिविर सञ्चालन गरेको नाम्खाले पालिकाका तीन स्थानमा स्वास्थ्य जाँचचौकी स्थापना गरेको नाम्खाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज न्यौपानेले बताए । हेप्का खोला, केर्मी र खगालगाउँ जानेबाटोमा हेल्थ डेस्क स्थापना गरिएको छ भने गाउँपालिका केन्द्र याल्वाङमा रहेको सामुदायिक भवनमा शय्यासहितको आइसोलेसन बनाउने तयारी भएको उनले बताए । उनले भने, ‘कोरोना संक्रमणदेखि अन्य स्वास्थ्यलाई मध्यनजर गरेर हामीले चिकित्सक नै नियुक्त गरेकाले हामीले कुनै वस्तीमा स्वास्थ्य समस्या देखा पर्नेबित्तिकै चिकित्सकीय सेवा दिन कुनै समस्या छैन ।’ उनका अनुसार नाम्खा चिकित्सक नियुक्त गर्ने जिल्लाको पहिलो पालिका हो ।

जिल्लाको सदरमुकामसमेत रहेको सिमकोट गाउँपालिकाले गत वर्षका ११ शय्याको आइसोलेसन केन्द्रलाई सञ्चालनमा ल्याएको छ । कोरोना संक्रमण अनपेक्षित बढ्दै गएपछि संक्रमितको संख्या बढ्ने अपेक्षासहित सिमकोटले आइसोलेसन सेन्टर निर्माणको कामलाई प्राथमिकता दिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले बताए । ‘काठमाडौं, सुर्खेत, बाँकेलगायतका सहरमा पूर्ण निषेधाज्ञा जारी भएपछि विभिन्न कामले गएका जिल्लाका नागरिक हवाई माध्यमबाट आउनेको संख्या बढेपछि उनीहरूको विमानस्थलमै एन्टिजेन किटबाट कोरोना परीक्षण गर्ने काम ग¥र्यांै, गाउँपालिकाका अध्यक्ष पदमबहादुर लामाले भने, ‘जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) र जनस्वास्थ्य केन्द्रसँग मिलेर आवश्यक तयारी गर्ने काम भइरहेको छ ।’

हवाई मार्गबाट सिमकोट भएर आउने यात्रुहरूका कारण संक्रमण बढेको र गाउँपालिकाका आठवटै वडामा समेत संक्रमण फैलन नदिन स्वास्थ्यकर्मी र जनप्रतिनिधिलाई परिचालन गर्ने काम भइरहेको अध्यक्ष लामाले बताए । गाउँपालिकाका सबै वस्तीमा नमुना परीक्षणका रूपमा कोरोना टेस्ट गर्न पाँच सय एन्टिजेन किट खरिदका लागि प्रक्रिया अघि बढाएको र किट पुग्ने बित्तिकै परीक्षणको दायरालाई बढाउने उनले बताए ।
बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै जिल्लास्तरीय कोभिड व्यवस्थापन केन्द्र (डिसिसिएमसी) ले अक्सिजनसहितको २५ शय्याको आइसोलेसन केन्द्र निर्माणको काम थालेको छ । जिल्लामा १६ जना कोरोना संक्रमित रहेका र थपिने क्रम बढेको भन्दै डिसिसिएमसीले थप १५ शय्याको आइसोलेसन थप्ने तयारी गरेको डिसिसिएमसीका सदस्य सचिवसमेत रहेका स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख पे्रमबहादुर सिंहले बताए ।

‘६० युनिटका तीनवटा मात्र अक्सिजन प्लान्ट रहेको जिल्ला अस्पतालमा ४० युनिटका दुई वटा अक्सिजन प्लान्ट थप्न प्रक्रिया अघि बढाएको छौँ’ सिंहले भने ‘स्वास्थ्य सेवा कार्यालयमा सम्भावित संक्रमितलाई राखेर उपचार गर्न तयारीको काम तीव्र पारेका छौँ ।’ कोरोना परीक्षणको दायरालाई बढाउनुका साथै स्वास्थ्य सेवा कार्यालयसँग अहिले एक हजार दुई सय भिटियम रहेको र केही भिटियम परीक्षणका लागि सञ्चालनमा आएको उनले बताए । उनका अनुसार ६ सयओटा एन्टिजेन किटसमेत जगेडा राखिएको छ ।

पछिल्लो समय सोमबार १२ जनामा गरिएको एन्टिजेन परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या १५ पुगेको र जिल्लामा संक्रमित बढ्न सक्ने अनुमान गरिएको डिसिसिएमसीका संयोजक तथा प्रमुख जिल्ला अधिकारी गणेश आचार्यले बताए । जिल्लाका प्रायः सबै वस्तीमा बिरामीको संख्या बढेको खबर प्राप्त भएको बताउँदै प्रजिअ आचार्यले जिल्लाका सातओटै स्थानीय तहलाई परीक्षणको कार्यको थालनी गर्न आग्रह गरिसकेको बताए ।

मौसमी फ्लु र कोरोना संक्रमणको डरले जिल्ला स्वास्थ्यको चिकित्सकसहितको टोलीलाई गाउँगाउँमा पठाउने तयारी भइरहेको र जिल्लाभर निषेधाज्ञा कडाइका साथ कार्यान्वयन हुनुका साथै जिल्ला प्रवेश गर्ने मुख्य नाकामा थप कडाई गरिएको प्रजिअ आर्चायले बताए । उनका अनुसार तत्काल गाउँ आएका यात्रुहरूलाई टेलिफोनबाट ट्रेसिङ गर्ने कामसमेत गरिएको छ ।

प्रतिक्रिया