नेपोलीको सानदार जित

इटाली । इटालियन सिरी ‘ए’ मा नेपोलीले सानदार जित दर्ता गरेको छ । नेपोलीले उडिनेसमाथि ५–१ को फराकिलो जित निकालेको हो ।
घरेलु मैदानमा मंगलबार राति भएको खेलमा नेपोलीको फराकिलो जितमा पिओटर जिलिन्स्की, फावियन, हिर्भिङ लोजानो, जियोभानी डि लोरेन्जो र लोरेन्जो इन्सिग्नेले गोल गरे । उडिनेसका स्टेफानो ओकाका चुकाले एक गोल फर्काए ।

डिएगो अर्मान्डो म्याराडोना स्टेडियममा घरेलु टोलीले खेलको २८औं मिनेटमा जिलिन्स्कीको गोलबाट अग्रता लिएको थियो । ३१औं मिनेटमा फावियनले गोल गर्दै नेपोलीको अग्रता दोब्बर पारे । ४१औं मिनेटमा स्टेफानो ओकाका चुकाले गोल गरेपछि पहिलो हाफ २–१ मा टुंगिएको थियो ।

५६औं मिनेटा हिर्भिङ लोजानोले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । ६६औं मिनेटमा जियोभानी डि लोरन्जोले गोल गरेपछि नेपोली फराकिलो जिततर्फ अग्रसर बन्यो । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा लोरेन्जो इन्सिग्नेले गोल गर्दै नेपोलीलाई ५–१ को फराकिलो जित दिलाए । यो जितसँगै नेपोली ३६ खेलबाट ७३ अंक जोडेर दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेका एटलान्टा र एसी मिलानको समान ७२ अंक छ । युभेन्टसको ६९ अंक छ । च्याम्पियन बनिसकेको इन्टर मिलानको ८५ अंक छ । पराजित उडिनेस ४० अंक जोडेर १२औं स्थानमा रहेको छ ।

प्रतिक्रिया