जिम्बाब्बेविरुद्ध पाकिस्तान बलियो

कराँची । ओपनर आबिद अली र अजहर अलीको शतकको सहयोगमा पाकिस्तानले जिम्बावेसँगको दोस्रो टेष्ट खेलमा सानदार सुरुवात गरेको छ । हरारे स्पोर्ट्स क्लबमा टस जितेर ब्याटिङ थालेको पाकिस्तानले पहिलो इनिङमा पहिलो दिन ९० ओभरमा ४ विकेट गुमाउँदै २ सय ६८ रन जोडेको छ ।

पाकिस्तानका ओपनर आबिद अली २ सय ४६ बलमा १७ चौका सहित १ सय १८ रनमा अविजित छन् । आबिदको यो टेष्ट करिअरको तेस्रो शतक हो । तेस्रो नम्बरमा ब्याटिङ गरेका अजहर अलीले २ सय ४० बलमा १७ चौका र १ छक्का सहित १ सय २६ रन बनाउँदै क्याच आउट भए । अजहरको यो टेष्ट करिअरको १८ औं टेष्ट शतक हो ।

१२ रन जोड्दानै पहिलो विकेट गुमाएको पाकिस्तानलाई दोस्रो विकेटका लागी अजहर र आबिदले २ सय ३६ रनको दोहोरो शतकीय साझेदारी गर्दै बलियो योगफलमा पुर्याएका थिए । ओपनर इमरान बुट र कप्तान बाबर आजम भने २–२ रनमै क्याच आउट हुन पुगे । फवाद आलमलाई मुर्जाबानीले ५ रनमा बोल्ड आउट गरे ।

जिम्बावेका तीव्र गतिका बलर मुर्जाबानीले ३ र रिचर्ड नगारावा १ विकेट लिए । पहिलो टेष्ट खेलमा १ सय १६ रनको इनिङ अन्तरले पराजित गर्दै पाकिस्तानले दुई टेष्ट सिरिजमा १–० को अग्रता लिएको छ ।

प्रतिक्रिया