आइपिएल स्थगित हुँदा २ हजार २ सय करोड घाटा

मुम्बई ।  इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ कोरोना महामारीको कारण अनिश्चित समयको लागि स्थगित भएको छ । आइपिएल स्थगित हुँदा ‘द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया’ (बिसिसिआई) लाई कम्तिमा २ हजार २ सय करोड भारु घाटा लाग्ने अनुमान गरिएको छ । आइपिएल स्थगित हुँदा मुख्य रुपमा प्रसारण अधिकारबाट सर्वाधिक धेरै रकम घाटा हुने छ ।

मंगलबार खेलाडी, प्रशिक्षक र अफिसलमा कोरोना देखिएपछि स्थगित भएको थियो । ‘मध्य सिजनमा आइपिएल स्थगित हुँदा बिसिसिआईले २ हजार देखि २ हजार ५ सय करोड सम्म गुमाउने छ । सबै प्रायोजकलाई आधा कटाउँदा २ हजार २ सय करोड भन्दा बढी घाटा हुन आउँछ’, प्रेस ट्रस्ट अफ इन्डियालाई बिसिसिआईका एक बरिष्ठ अधिकारीले भनेका छन् ।

आइपिएलमा लिग, प्लेअफ र फाइनल गरि कुल ६० खेल हुन्छन् । यस सिजनमा लिग चरणका २९ खेल मात्र सम्पन्न भएका थिए । सोमबार कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेंगलोरबीचको खेल स्थगित भएको थियो । कोलकाता दुई खेलाडीमा कोरोना देखिएको थियो । चेन्नईका बलिङ प्रशिक्षक एल बालाजी सहित तीन अफिसलमा कोरोना देखिएको थियो । मंगलबार दिल्ली क्यापिटल्सका स्पिनर अमित मिश्रा र हैदराबादका विकेटकिपर ऋद्धिमान शाहलाई कोरोना लागेपछि आइपिएलनै स्थगित भएको थियो ।

बिसिसिआईले सर्वाधिक रकम स्टार स्पोर्ट्सबाट गुमाउने छ । ब्रोडकाष्टिङ अधिकार पाएको स्टार स्पोर्ट्सले पाँच वर्षको लागि १६ हजार ३ सय ४७ करोड भारुमा सम्झौता गरेको थियो । स्टारले प्रत्येक वर्ष ३ हजार २ सय ६९.४ करोड दिने गर्दछ । एक सिजनमा ६० खेल हुन्छन् । जसमा एक खेलमा ५४.५ करोड पर्न जान्छ । स्टार स्पोर्ट्सले यस सिजनमा विसिसिआई भुक्तानी २९ खेलको १ हजार ५ सय ८० करोड गर्ने छ । अर्थात स्टार स्पोर्ट्सबाटमात्र बिसिसिआईलाई १ हजार ६ सय ९० करोड घाटा हुने छ ।

प्रमुख प्रायोजक भिभो प्रत्येक सिजनमा ४ सय ४० करोड भुक्तानी गर्ने गर्दछ । बिसिआईले बढीमा भिभोबाट आधामात्र भुक्तानी पाउने छ । सहप्रायोजकमा अनक्याडेमी, ड्रिम ११, सि रेड अपटक्स, टाटा मोटर्स लगायतले १ सय २० करोडको आसपासमा एक सिजनमा तिर्ने गर्दछन् । यी सबै प्रायोजकबाट आधा रकम मात्र पाउने छ । भारतमा हरेक दिन तीन लाख माथिको दरले तीव्र रुपमा कोरोना संक्रमण बढी रहेको छ । यसै वर्ष टि२० विश्वकप हुँदा अव यस सिजनको आइपिएल हुने सम्भावना निकै कम छ ।

आगामी अक्टोबर नोभेम्बरमा भारतमा टि२० विश्वक हुने कार्यक्रम छ । विश्वकप आउन पाँच महिना बाँकी छ । अब सबै टोली विश्वकप तयारीमा लाग्ने छन् । विश्वकप पनि कोरोना महामारीको कारण यूएईमा हुन सक्ने सम्भावना छ । यो सिजनमा आइपिएल हुने सम्भावना निकै कम देखिन्छ । विसिसिआईले आइपिएल स्थगित भएसँगै ठूलो रकम घाटा बेर्होर्नु पर्ने हुन्छ ।

प्रतिक्रिया