इन्टर उपाधिबाट एक जित टाढा

इटाली । इटालियन सिरी ‘ए’ को उपाधि होडमा रहेको इन्टर मिलान र एसी मिलानले सफलता हात पारेका छन् । इन्टरले क्रोटोनमाथि २–० को सहज जित दर्ता गरेको हो । क्रोटोनको मैदानमा शनिबार राति भएको खेलमा इन्टरको जितमा क्रिस्टियन इरिक्सन र अचरफ हाकिमीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । घरेलु टोलीविरुद्ध खेलको सुरुवातदेखि नै बल पोसेसेनमा पकड बनाएको इन्टरले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ६९औं मिनेटमा क्रिस्टियन इरिक्सनले गोल गर्दै मिलानलाई अग्रता दिलाए ।

उनले रोमेलु लुकाकुको पासमा गोल गरेका थिए । ८३औं मिनेटमा लुकाकुले गोल गरेपनि उनको गोलले भिएआरबाट मान्यता पाएन । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा अचरफ हाकिमीले निकोलो बरेल्लाको पासमा गोल गर्दै इन्टरलाई २–० को सहज जित दिलाए । जितपछि शीर्षस्थानमा रहेको इन्टरको ३४ खेलबाट ८२ अंक पुगेको छ । समान खेलबाट एसी मिलानको ६९ अंक छ ।

इन्टर दोस्रो स्थानको मिलानभन्दा १३ अंकले अघि छ । अब सिरी ए मा चार राउन्डको खेल बाँकी रहँदा इन्टरलाई १ अंकको खाँचो छ । अब चार खेलबाट १ अंक जोड्न सके इन्टर २०१० पछि सिरी ए च्याम्पियन बन्नेछ । इन्टरसँगको हारसँगै क्रोटोन रेलिगेसनमा परेको छ । क्रोटोन १८ अंक जोडेर पुछारमा रहेको छ ।

शनिबार राति नै भएको खेलमा एसी मिलानले बेनेभेन्टोलाई २–० ले पराजित गरेको छ । मिलानको जितमा हकान कलहानो ग्लु र थियो हर्नान्डेजले गोल गरे । जितपछि मिलानको ३४ खेलबाट ६९ अंक पुगेको छ । पराजित बेनेभेन्टो ३१ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।

प्रतिक्रिया