धनगढी । कैलाली जिल्लामा ७० जना औलो रोगका बिरामी फेला परेका छन् । चालु आवको हालसम्मको करिब साढे नौ महिनाको अवधिमा सो संख्याका बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलाली जनाएको छ । जिल्लामा ६८ आयातित र दुई जना स्थानीय औलो रोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीका प्रमुख लालबहादुर धामीले जानकारी दिए ।
उनले भने, ‘रोजगारीको सिलसिलामा भारत गई काम गरेर फर्किएका नेपालीहरूमा आयातित औलो रोग दखिने गरेको छ ।’ जिल्लाको धनगढी उपमहानगरपलिकामा पाँच, गोदावरी नगरपालिकामा १९, गौरीगंगा नगरपालिकामा १३ जना औलो रोगका बिरामी फेला परेको स्वास्थ्य कार्यालय कैलालीको तथ्यांकमा उल्लेख गरिएको छ ।
त्यसैगरी कैलारी गाउँपालिकामा एक, घोडाघोडी नगरपालिकामा एक, मोहन्याल गाउँपालिकामा दुई, बर्दगोरिया गाउँपालिकामा तीन, भजनी नगरपालिकामा दुई, लम्कीचुहा नगरपालिकामा नौ, जानकी गाउँपालिकामा सात र टीकापुर नगरपालिकामा आठ जना औलो रोगका बिरामी फेला परेको कार्यालयले जनाएको छ । कैलाली यो रोगको जोखिममा रहेको जिल्लामा पर्दछ ।
जिल्लाको गोदावरी नगरपालिका–१२, धनगढी उपमहानगरपालिका–९ र भजनी नगरपालिका–५ औलो रोगको उच्च जोखिममा रहेको जनाइएको छ । कैलालीमा आव ०७४–७५ मा ३ सय १ जनामा औलो रोग देखिएको थियो भने आव ०७५–७६ मा २ सय ६ जनामा र आव ०७६–७७ मा ६९ जनामा औलो रोग देखिएको थियो ।
बिगतका दुई वर्षमा औलो रोगका बिरामी घटेपनि गत आव ०७६–७७ को तुलनामा चालु आवमा बिरामी बढेको देखिन्छ । आव ०७६–७७ मा ६९ जनामा औलो रोग देखिएकोमा चालु आवको करिव साढे नौ महिनामै ७० जना बिरामी फेला परेकाले चालु आवको अन्तिमसम्म बृद्धि हुने संकेत देखिन्छ । यो रोग संक्रमित पोथी लामखुट्टेले टोकेपछि लाग्ने र रोग लागेमा ज्वरो आउने, टाउको दुख्ने, पसिना आउने, शरीर सिथिल हुने जस्ता सामान्य लक्षण देखा पर्दछन् ।
यस रोगबाट बच्न सबैले सधैं झुल लगाएर सुत्ने, आफ्नो घर वरपर पानी जम्न नदिने दिउँसोमा पूरै शरीर ढाक्ने लामो लुगा लगाउन कार्यालय प्रमुख धामीले सबैलाई आग्रह पनि गरे । सरकारले औलो रोग नियन्त्रका लागि सम्पूर्ण सरकारी स्वास्थ्य संस्थाहरूमा औलो रोगको निःशुल्क परीक्षण गर्ने, रोग देखिएमा निःशुल्क उपचार गर्ने,औलो रोग सम्बन्धि जनचेतना जगाउने साथै ग्लोवल फन्डको आर्थिक सहयोगमा गर्भवती महिलालाई र उच्च जोखिम रहेका क्षेत्रमा झुल वितरण गर्ने गरेको उनले जानकारी दिए । नेपाल सरकाले सन् २०२० सम्ममा स्थानीय औलो रोगलाई शून्यमा पुर्याउने र २०२५ सम्ममा नेपाललाई औलोमुक्त बनाउने रणनीतिक योजना बनाएको छ ।
कैलाली
प्रतिक्रिया