इलाम । नेपाल प्राकृतिक सौन्दर्य, जैविक विविधता र सांस्कृतिक सम्पन्नताले भरिपूर्ण देश हो । यहाँका हिमाल, पहाड, कुना, कन्दरा, खोँच, नदी, झरना, भिर तथा पखेराहरूले देशलाई अद्वितीय बनाएका छन् । त्यस्ता थुप्रै भूभागहरूमध्ये कतिपय पर्यटकीय दृष्टिले चम्किएका छन् भने कतिपय अझै ओझेलमा नै छन् । त्यस्तै भूभागमध्ये एक हो, पूर्वी नेपालको इलाममा अवस्थित घोर्ले भिर । जिल्लाको माङसेबुङ गाउँपालिका–१ गजुरमुखीमा अवस्थित घोर्ले भिर साहसिक पर्यटनका लागि प्रशस्त सम्भावना रहेको स्थल हो ।
ठाडो स्वरूप, टाढाबाट पर्खालजस्तो देखिने चट्टानी बनावटमा रहेको घोर्ले भिर करिब १५५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यो समुद्री सतहबाट अनुमानित १ हजार ५०० देखि १ हजार ७०० मिटरसम्मको उचाइमा अवस्थित छ । भिरको अधिकांश भूभाग ठुला चट्टानहरूले भरिएका छन् । वरिपरि भने हरियाली डाँडाकाँडा छन् ।
घोर्ले भिर नाम आफैँमा आकर्षक र अर्थपूर्ण छ । स्थानीय ज्येष्ठ नागरिक मनबहादुर बुढाथोकीका अनुसार जंगली जनावर घोरल प्रशस्त मात्रा पाइने भएकाले यस भिरको नाम घोर्ले भिर रहन गएको हो । पहिले–पहिले त्यस भिरमा स्थानीय गाउँलेले गाईवस्तु, बाख्रा चराउन लैजाँदा बाख्रासँगै घोरल चर्ने, रमाउने र खेल्ने गरेकाले त्यस भिरको नाम घोर्ले भिर रहन गएको उनको भनाइ छ ।
‘हामी केटाकेटी हुँदा बाख्रा चराउन घोर्ले भिर जान्थ्यौँ । त्यतिबेला घोरलहरू बाख्रासँगै चर्ने गर्दर्थे । बेलुका बाख्रा घरतिर ल्याउँदा घोरलहरू पनि बाख्रासँगै आउँथे । बाख्राहरू खोरमा पसेपछि ती घोरलहरू जंगलतिरै जाने गर्दथे’, बुढाथोकीले सुनाए । त्यसरी घोरलहरूको बासस्थान भएको कारणले नै घोरल चर्ने भिरबाट अपभ्रंश हुँदै बोलीचालीमा सहजताका लागि घोर्ले भिर नामाकरण गरिएको उनको भनाइ छ ।
घोर्ले भिर प्राकृतिक सुन्दरता र जैविक विविधताको दृष्टिलेसमेत महत्वपूर्ण छ । यहाँको भिर ठाडो र विशाल छ, तर मनोरम पनि उत्तिकै छ । एकातिर साहसिक गतिविधिको सम्भावना र अर्काेतर्फ हरियाली शान्त वातावरण । पहिलो पटक घोर्ले भिर पुग्ने जो कोहीले स्वर्गीय आनन्दको अनुभूति गर्न सक्छन् ।
घोर्ले भिर वरपरको जंगलमा घोरलसँगै अन्य जंगली जनावरहरूको बासस्थान रहेको पाइन्छ । घोर्ले भिरमा दर्जनौँ गुफा, ओढार, चेप र खोपहरू छन् । ती गुफा, ओढार, चेप र खोपमा घोरल, मृग, चितुवाहरू बस्दथे । अहिले पनि घोरल र मृगहरू प्रसस्त देख्न सकिने तर चितुवाहरू भने पाउन छाडिएको छ ।
‘मैले बाल्यकालदेखि घोर्ले भिर हेर्दै आएको हुँ । पहिले हामी गाई बाख्रा चराउने, जडीबुटी टिप्ने ठाउँ हो यो । यहाँ प्रसस्त जंगली जनावरहरू पाइन्थे’, स्थानीय गणेश नेपाल भन्छन्, ‘अहिले कम हुँदै गएको छ ।’ घोर्ले भिरको बीच भागमा घोरल र मृगले चाट्ने ‘खार’ पाइन्छ । त्यो नुनिलो स्वादको हुने भएकाले घोरल र मृगले नुनको स्वाद त्यही खार चाटेर लिने गर्दछन् ।
घोर्ले भिर वरपरका जंगलमा जैविक महत्वका विभिन्न जडीबुटीजन्य वनस्पतिहरूसमेत प्रशस्त पाइन्छन् । भोर्ला, चिउरी, लालीगुँरास, सुनाखरी, कुरिलो, असुरो, बुढो ओखर, हटचुर, अमला, हर्रा, बर्रा, पुदिना, तितेपाती, मालागिरी, पाङ्ग्रा, बल्ढ्याङ्ग्रा, कुकुरडाइनो, सिकारी लहरा, बाबियो, दार, गुर्जोलगायत जैविक महत्वका लोपोन्मुख जडीबुटीहरू पाइने स्थान पनि हो घोर्ले भिर ।
साहसिक पर्यटनको सम्भावना
साहसिक पर्यटन भन्नाले त्यस्तो भ्रमण हो, जसमा केही जोखिम, शारीरिक सशक्तता र मानसिक साहस आवश्यक पर्छ । यो ‘दर्शनीय स्थल’ घुम्नेभन्दा बिल्कुल फरक हुन्छ । यसमा माउन्टेन क्लाइम्बिङ, रक क्लाइम्बिङ, ट्रेकिङ, हाइकिङ प्याराग्लाइडिङजस्ता गतिविधिहरू पर्छन् ।
नेपालमा साहसिक पर्यटन व्यवसायको इतिहास निक्कै लामो भइसकेको छ । सन् १९५० को दशकमा ब्रिटिस नागरिक जिम्मी रोबर्टले माउन्टेन ट्राभलमार्फत नेपालमा साहसिक पर्यटनको व्यावसायिक सुरुआत गरेको इतिहास छ । विदेशीको प्रयासमा ट्रेकिङको सुरुआतसँगै नेपालमा साहसिक पर्यटनको विकास हुन थालेको हो ।
नेपालका विभिन्न क्षेत्रमा अहिले बञ्जी जम्प, र्याफ्टिङ, माउन्टेन क्लाइम्बिङ, प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, हाइकिङ, ट्रेकिङजस्ता साहसिक गतिविधिहरू सञ्चालन हुँदै आएका छन् । त्यस्ता साहसिक पर्यटनमा रुची राख्ने पर्यटकहरूका लागि घोर्ले भिर आकर्षक गन्तव्य बन्न सक्छ ।
‘घोर्ले भिर क्षेत्र आसपासमा ट्रेकिङका लागि उत्कृष्ट गन्तव्य र वातावरण छ । माङसेबुङ गाउँपालिका कार्यालयदेखि घोर्लेभर डाँडासम्म र वडा–१ कार्यालयदेखि घोर्ले भिर डाँडासम्मको ट्रेकिङ ट्रेल निर्माण गर्न सकिन्छ’, स्थानीय यामकुमार बुढाथोकी भन्छन्, ‘घोर्ले भिरको चट्टानी संरचना रक क्लाइम्बिङको लागि पनि उत्तिकै सम्भावनायुक्त छ ।’
त्यस्तै सफा मौसम, हावाको सन्तुलित प्रवाह, उचाइ र खुला भूक्षेत्रको उपलब्धताको कारण घोर्ले भिरमा प्याराग्लाइडिङको समेत प्रचुर छ । घोर्ले भिरबाट उडेर तलतिर फेवा खोलाको बगरमा अवतरणका लागि दुरीसमेत पर्याप्त हुने भएकाले प्याराग्लाइडिङको सम्भावना पनि उत्तिकै छ ।
प्याराग्लाइडिङ, रक क्लाइम्बिङ, ट्रेकिङजस्ता साहसिक गतिविधिका लागि घोर्ले भिर नयाँ गन्तव्य बन्न सक्छ । तर, त्यसको हालसम्म सरकारी निकाय र निजी क्षेत्रबाट कुनै सम्भाव्यता अध्ययन भने भएको छैन । साहसिक पर्यटनमा प्रशस्त सम्भावना भए तापनि त्यसको सानो हिस्सा पनि उपयोग गर्न नसक्नु दुर्भाग्य हो ।
‘घोर्ले भिर नजिकै लामिडाँडाको शिवालय मन्दिरसम्म त गाउँपालिकाको लगानीमा सडक पुर्याइएको छ । बाँकी कुनै काम गर्न सकिएको छैन’, वडा अध्यक्ष भूपाल योङहाङ भन्छन्, ‘आगामी दिनमा वडाको तर्फबाटसमेत घोर्ले भिरको प्रवद्र्धनका लागि कार्यक्रम समावेश गर्ने छौँ ।’
माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राईले पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रहरूको संरक्षण र सम्बद्र्धनका लागि योजनाबद्ध रूपमा काम गरिरहेको बताउँछन् । घोर्ले भिरलाई साहसिक पर्यटकीय क्षेत्रको रूपमा विकास गर्न सम्भाव्यता अध्ययनको तयारी भइरहेको उनी बताउँछन् ।
‘घोर्ले भिरमा रक क्लाइम्बिङ र प्याराग्लाइडिङ जस्ता साहसिक गतिविधि गर्न सम्भाव्यता अध्ययनका लागि प्रदेश सरकार र संघीय सरकारसमक्ष पेस गरेका छौँ’, अध्यक्ष राई भन्छन्, ‘नेपालका थुप्रै डाँडा टाकुराहरू पर्यटकीय गन्तव्य बनेका छन् । घोर्ले भिर त झन् प्रशस्त सम्भावना भएको क्षेत्र हो ।’
पर्यावरण संरक्षणसँग जोड्दै पालिका पर्यटन विकासमा अघि बढिरहेको उनी बताउँछन् । ‘विशेष गरी वन्यजन्तु ‘घोरल’ पाइने भएकाले त्यसको संरक्षणका लागि पनि अध्ययन गर्नेकी भनेर छलफल भइरहेको छ’, उनी भन्छन् ‘स्थानीयको सहभागितामा स्थानीय नै लाभान्वित हुने नीति अपनाएर काम गर्ने छौँ ।’
अध्यक्ष राईले घोर्ले भिरमा पर्यटन प्रवद्र्धन गर्न योजनाबद्ध रूपमा काम गरिने बताउँछन् । त्यसकै लागि पालिकाभित्रका सबै ऐतिहासिक, धार्मिक र पर्यटकीय क्षेत्रको योजनाबद्ध रूपमा प्रवद्र्धन गर्नका लागि गएको साता त्यस्ता १८ वटा क्षेत्रको अध्ययन र अनुसन्धान गर्न पर्यटन पदयात्रा सम्पन्न गरेको उनले बताए ।
यता, साहसिक पर्यटन विकासका लागि सरकारी नीति स्पष्ट हुन नसक्दा उल्लेख्य प्रगति हुन सकेको छैन । सरकारी नीति उदार नहुँदासम्म साहसिक पर्यटनको विकास चुनौतीपूर्ण छ ।
घोर्ले भिरको टुप्पोबाट चारैतिरका डाँडाकाँडा, स्थानीय जीवनशैलीका वस्तीहरू, हरियाली फाँटहरू एकैसाथ देखिन्छन् । मौसम सफा भएको बेला कञ्चनजंघा र कुम्भकर्ण हिमालसमेत देख्न सकिन्छ । यहाँको मौसम परिवर्तनसँगै देखिने प्राकृतिक दृश्यले जो कोहीलाई स्वर्गीय आनन्दको अनुभूति हुन्छ । भौगोलिक बनावटका कारण घोर्ले भिरले प्रकृतिप्रेमी र फोटोग्राफरहरूलाई विशेष आकर्षित गर्ने गर्दछ ।
स्थानीय बोटबिरुवाको विविधतामा वैज्ञानिक अनुसन्धान, औषधीय अध्ययन र बोटानिकल टुरिजमका लागि पनि घोर्ले भिर सम्भावनायुक्त मानिन्छ । साथै यहाँ जैविक कृषि, मौरीपालन र जडिबुटी खेतीको सम्भावनासमेत प्रशस्त छ ।
घोर्ले भिरलाई साहसिक पर्यटनको उत्कृष्ट गन्तव्य बनाउन स्थानीय सरकार, निजी क्षेत्र, पर्यटन व्यवसायी र स्थानीय समुदायहरूबीच सहकार्यको आवश्यकता छ । घोर्ले भिरको पर्यटन प्रवद्र्धनका लागि सडक निर्माण, विद्युत् विस्तार, खानेपानीको व्यवस्थापन, शौचालय व्यवस्थापन इन्टरनेटको व्यवस्थापनजस्ता आधारभूत कामको थालनी गर्नुपर्छ । त्यस्तै, सरकारको तर्फबाट घोर्ले भिरको प्राकृतिक र सांस्कृतिक विशिष्टतालाई हाइलाइट गर्ने ब्रान्डिङ रणनीति बनाई समुदायमा आधारित पर्यटन मोडल अपनाएर दिगो पर्यटन विकास गर्न सकिन्छ ।
घोर्ले भिर र आसपासका क्षेत्रमा भौतिक पूर्वाधारको विकास भने हुन सकेको छैन । त्यहाँसम्म पुग्न मोटरेबल बाटो बन्न सकेको छैन । विद्युत् र खानेपानी पनि विस्तार हुन सकेको छैन । गाउँपालिका कार्यालयबाट बताहा दोभान हुँदै तोभाङ भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्ले भिर पुग्न सकिन्छ । त्यसैगरी अर्काे बाटो गजुरमुखी धामदेखि तोभाङ हुँदै भञ्ज्याङसम्म र वडा–१ कार्यालयबाट भञ्ज्याङसम्म सवारी साधनमार्फत र त्यहाँबाट करिब आधा घण्टाको उकालो पैदल यात्रापछि घोर्ले भिर पुग्न सकिन्छ । त्यसैगरी दमक–चिसापानी–रवि सडकअन्तर्गत हुलाकदेखि देउराली हुँदै लामिडाँडाबाट पनि पैदल यात्रा गरेर घोर्ले भिर पुग्न सकिन्छ ।
घोर्ले भिरलाई पर्यटकीय गन्तव्यको रूपमा विकास गर्नसके स्थानीयलाई रोजगारीको अवसर सिर्जना हुनका साथै आम्दानीसमेत बढ्ने देखिन्छ । यदि यहाँको सम्भावनालाई योजनाबद्ध ढंगले उपयोग गर्न सकियो भने यो केबल माङसेबुङको मात्र होइन, समग्र इलाम र नेपालकै गौरव बन्नेमा दुई मत छैन ।
इलाम
प्रतिक्रिया