काठमाडौँ । समाजवादी मोर्चामा रहेका राजनीतिक दलसँग ‘एकता गर्न’ असफल भएपछि प्रमुख प्रतिपक्षी दल नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ती दलहरूलाई फुटाउने प्रयास थालेका छन् । मोर्चामा आवद्ध कुनै पनि सिंगो राजनीतिक दलसँग एकता नहुने निश्चित भएसँगै उनले ती दलभित्रका समूह तथा नेतालाई औपचारिक रूपमा माओवादी पार्टीमा भित्र्याउने कसरत सुरु गरेका हुन् । उनले आफू प्रधानमन्त्री भएका बेला नेकपा(एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मिलाएर गत ४ असार, २०८० मा समाजवादी मोर्चा, नेपालको गठन गरेका थिए ।
उपेन्द्र यादवको जसपा नेपालबाट ७ सांसद लिएर अशोक राईले अर्को पार्टी जसपा बनाएपछि पार्टी फुटाउन प्रधानमन्त्री प्रचण्ड स्वयंले सघाएको आरोप लगाउँदै जसपा नेपाल मोर्चाबाट बाहिरिएको थियो । तर, ३१ असार, २०८१ मा सत्ताच्यूत भएसँगै मोर्चालाई पुनः क्रियाशील बनाउन खोजेका प्रचण्डले १ साउन, २०८१ मा मोर्चामा महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टीलाई भित्र्याएका थिए । यी सबै पार्टीहरूका बीचमा अन्ततोगत्वा एकता गर्नेगरी कार्यगत एकता र गतिविधि गर्दै जाने भनिए पनि मोर्चा प्रभावकारी बन्न सकेको थिएन । समाजवादी मोर्चालाई पार्टीमा रूपान्तरण गर्ने सपना साकार नभएपछि प्रचण्डले तिनै दलहरूलाई फुटाएर आफ्नो पार्टीलाई मजबुत बनाउनेतिर लागेका छन् ।
नेसपालाई फुटाइँदै, १२ जेठमा सहअध्यक्ष श्रेष्ठसँग पार्टी एकता
गत आमनिर्वाचनपछि तत्कालै पार्टी एकता गर्ने सहमतिका साथ डा.बाबुराम भट्टराई र महिन्द्र राय यादवले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीसँग एउटै चुनाव चिन्हमा माओवादी केन्द्र निर्वाचनमा गयो । डा.भट्टराईले आफ्नो क्षेत्र गोरखा–२ प्रचण्डलाई बुझाए पनि । तर निर्वाचनपछि पार्टी एकता गर्न दुवैतर्फबाट तदारुकता भएन । त्यसपछि डा.भट्टराईले एकतामा अनिच्छा देखाएपछि अर्का अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ र महासचिव रमेशप्रसाद यादवले ३ चैत, २०८० मा माओवादी केन्द्रसँग पार्टी एकता गर्ने ३ बुँदे सहमति गरे । प्रचण्डकै अध्यक्षतामा बसेको बैठकले दुवै पार्टीका बीचमा एकता गर्ने र एकीकृत पार्टीको नयाँ नामका सन्दर्भमा महाधिवेशनमा टुंगो लगाउने निर्णय भएको थियो । माओवादी केन्द्रको चुनाव चिन्हमा पार्टीका अध्यक्ष यादव प्रतिनिधिसभा सदस्य र सहअध्यक्ष श्रेष्ठ बागमती प्रदेश सभा सदस्य, उमरावती देवी प्रतिनिधिसभा सदस्य र फणिन्द्र देवकोटा गण्डकी प्रदेशसभा सदस्य निर्वाचित भएका थिए । देवकोटा भने अहिले पनि डा.भट्टराई नेतृत्वको नेसपा (नयाँ शक्ति)मा आवद्ध छन् । ३ सांसद भएको यादव नेतृत्वको नेसपाबाट सहअध्यक्ष श्रेष्ठको नेतृत्वमा १२ जेठमा माओवादी केन्द्रसँग एकता गर्ने तयारी गरिएको छ । त्यसका लागि सहअध्यक्ष श्रेष्ठले ११ जेठमा केन्द्रीय समितिको बिस्तारित बैठक बोलाएका छन् ।
सौर्य दैनिकसँग कुरा गर्दै सहअध्यक्ष श्रेष्ठले ११ जेठमा पार्टीले निर्णय गर्ने र १२ जेठमा माओवादी केन्द्रसँग एकता घोषणा गर्ने तयारी भएको जानकारी दिए । उनले पार्टी अध्यक्ष यादवले एकताको लागि पूर्वसहमति अनुरूप राजनीतिक इमानदारी नदेखाएको भन्दै केन्द्रीय समितिको बहुमत सदस्यले निर्णय गरेर पार्टी एकता गर्न लागिएको बताए । ‘अध्यक्ष यादव आफैँले गरेको हस्ताक्षरबाट पछि हट्नुभयो । विगतमा एकता गर्ने भनेर पछि हटेका डा.बाबुराम भट्टराईकै शैली पुनरावृत्ति गर्नुभएको छ’, उनले भने, ‘हामी सहमतीलाई इमानदारीपूर्वक कार्यान्वयन गर्दै एकता प्रक्रियामा जान्छौँ ।’
माओवादीकै सांसद रहेका यादवको पार्टीको नाम फेर्नुपर्ने सर्त
अध्यक्ष यादव भने माओवादी केन्द्रसँग एकता गर्ने पूर्वसहमतिबाट पछि हटेका छन् । पार्टी एकता गर्ने र महाधिवेशनबाट एकीकृत पार्टीको नयाँ नाम टुंगो लगाउने भनेर आफैँले हस्ताक्षर गरे पनि अहिले उनी एकतामा जान अनिच्छुक देखिएका हुन् ।
सौर्य दैनिकसँग कुरा गर्दै अध्यक्ष यादवले माओवादी केन्द्रको आगामी महाधिवेशनले नाम परिवर्तन गरे मात्रै एकता गर्ने बताए । तत्कालीन अवस्थामा आफू एकतामा नजाने उनले स्पष्ट पारे । उनले तत्कालीन अवस्थामा नेकपा (एकीकृत समाजवादी), नेकपा र नेसपा एकता हुन जाँदा मात्रै महाधिवेशनमा नाम टुंगो लगाउन सकिने भनि विश्वासको आधारमा सहमति गरेको बताए । उनले नेसपा मात्रै एकतामा जानुपर्ने हुँदा माओवादी केन्द्रको महाधिवेशनको निर्णय कुरेर मात्रै जाने उल्लेख गरे । ‘माओवादी केन्द्रले महाविधेशनपछि जुन नाम राखे पनि महाधिवेशनपछि एकता हुन्छ, त्यसअघि हुँदैन’, उनले भने ।
उनले ११ जेठमा सहअध्यक्ष श्रेष्ठले बोलाएको बैठक अनधिकृत भएको भन्दै निर्णय पनि अनधिकृत नै हुने बताए । यता श्रेष्ठले भने केन्द्रीय समितिको बहुमत जता उभिन्छ त्यही नै पार्टी भएको भन्दै आधिकारिक रुपमै पार्टी एकतामा जान लागेको दाबी गरे ।
यादवको दोहोरो चरित्रमाथि दुवै दलमा उठ्यो प्रश्न
माओवादी केन्द्रसँग एकता नगर्ने मुडमा पुगेपछि तत्कालीन नेसपाका अर्का अध्यक्ष डा.बाबुराम भट्टराईले पार्टी वा सांसद पद छोड्न यादवलाई आग्रह गरेका थिए । तत्कालीन सरकारको खानेपानी मन्त्री रहेका यादवले बाबुराम स्वयं एकताबाट पछि हटेको भन्दै माओवादीसँग एकता गर्ने निर्णय गराएका थिए । तर मन्त्री पद गुमेसँगै उनी एकतामा नजाने भएका हुन् । माओवादी केन्द्रको संसदीय दलको बैठकमा भने उनी आउने गरेका छन् । माओवादीको नामले २०८४ सालमा चुनाव नजित्ने भन्दै उनी नाम फेरे मात्रै एकतामा जाने भन्दै आएका छन् । प्रतिनिधिसभा बैठकमा पनि उनी प्रतिपक्ष दलको अघिल्लो लहरमा अध्यक्ष प्रचण्ड लगायतसँगै बस्दै आएका छन् । पार्टीको अस्तित्व नै स्वीकार नगरेको भन्दै उनको माओवादी केन्द्रभित्र पनि तीव्र विरोध हुने गरेको छ । जनतासँग माओवादी तराई–मधेस जागरण अभियानमा पनि उनी पार्टी सदस्य बन्न इन्कार गरेको तर अभियानमा आएको भन्दै नेताहरूले विरोध जनाएका थिए ।
प्रतिक्रिया