काठमाडौँ । गभर्नर नियुक्ति प्रक्रिया लम्बिँदै जाँदा सत्ता समीकरणमा देखिएको संकट गभर्नर नियुक्त भएसँगै तत्कालका लागि टरेको छ । कांग्रेस कोटाबाट विश्व पौडेल गभर्नर नियुक्त भएसँगै तत्कालका लागि गठबन्धनमा देखिएको अविश्वास हटेको सत्तारुढ दलका नेताहरू बताउँछन् ।
गभर्नरका लागि सत्तारुढ कांग्रेस र एमाले दुवै दलले उम्मेदवार खडा गरेका थिए । साथै विभिन्न स्वार्थ समूहहरू पनि आफू अनुकूल गभर्नर नियुक्तिका लागि लबिइङमा थिए । यो विषय पेचिलो बन्दै जाँदा करिब २ तिहाइको सरकार नै धर्मराउन पुगेको थियो । गभर्नर प्रकरणकै कारण सरकार ढल्ने हो कि भन्ने अनिश्चितता र आशंका बढिरहेको थियो । कांग्रेस नेताहरूले त पार्टीले सिफारिस गरेअनुरुप गभर्नर नियुक्त नभएमा ओली नेतृत्वको सरकार ढालेर आफ्नै नेतृत्वमा सरकार बनाउनुपर्ने सभापति देउवामाथि दबाब बढाएका थिए ।
सौर्य दैनिकसँग कुरा गर्दै नेकपा (एमाले) का एक नेताले सबै खालका परिस्थितिलाई परिपक्व बनाएर गभर्नर नियुक्तिमा सहमति जुटेको बताए । उनले गभर्नर नियुक्तिको विषयले सत्ता गठबन्धनमा समस्या सिर्जना गरेको स्वीकार्दै तत्कालका लागि गठबन्धनमा देखापरेको समस्या समाधान भएको उल्लेख गरे ।
देउवाले ‘खुट्टा उचाल्ने’ संकेत पाएपछि पछि हटे ओली
कांग्रेस सभापति देउवाले गभर्नर नियुक्त छिटो गर्न प्रधानमन्त्री ओलीलाई पटक–पटक ताकेता गर्दा पनि ओली टसमस भएका थिएनन् । तर, पछिल्ला दिनमा देउवा कडा रूपमा प्रस्तुत भएपछि ओली पछि हटेका हुन् । सोमबार प्रधानमन्त्रीले सभापति देउवालाई भेट गर्न चाहेका थिए र साँझ गभर्नर नियुक्तिका लागि मन्त्रिपरिषद् बैठक पनि बोलाएका थिए । तर, गभर्नर नियुक्ति नहुने भए आफूले भेट नदिने अडान राख्दै देउवा प्रधानमन्त्रीलाई भेट्न गएनन् । यसबाट झस्किएका ओलीले मंगलबारको भेटमा कांग्रेसले भनेकै पौडेललाई गभर्नर बनाउन तयार रहेको बताएपछि विषयले निकास पाएको हो ।
यद्यपि कांग्रेसका नेताहरूले भने प्रधानमन्त्री ओलीप्रति अझै पनि आशंका कायमै रहेको बताए । सौर्य दैनिकसँग कुरा गर्दै एक नेताले सहजै हुन सक्ने गभर्नर नियुक्ति प्रधानमन्त्री ओलीकै निर्देशनमा जटिल बनाइएको भन्दै यो विषयलाई पार्टीले गम्भीरतापूर्वक लिएको बताए । ‘फेरि पनि प्रधानमन्त्रीबाट अवरोध हुने रहेछ भन्ने कांग्रेसले ज्ञान पाएको छ । हामी प्रधानमन्त्रीको गतिविधिप्रति सचेत छौँ,’ उनले भने ।
याे पनि : डेढ महिनाको रिक्ततापछि राष्ट्र बैंकले पायो नेतृत्व
प्रतिक्रिया