पाँचथर । पाँचथर जिल्ला अस्पतालमा महिलाहरूका लागि लक्षित निःशुल्क स्तन तथा पाठेघर क्यान्सर परीक्षण शिविर सुरु गरिएको छ । फिदिम नगरपालिकाको आयोजनामा भक्तपुर क्यान्सर अस्पतालको प्राविधिक सहयोगमा सञ्चालन गरिएको यो दुई दिने शिविर शुक्रबार बिहान ८ बजेदेखि सुरु भएको हो ।
फिदिम नगरपालिकाका उपप्रमुख राधाकृष्ण न्यौपानेका अनुसार शिविर शनिबारसम्म सञ्चालन हुनेछ । नगरप्रमुख मित्रप्रसाद काफ्लेले शिविर ग्रामीण क्षेत्रका महिलाहरूका लागि अत्यन्त उपयोगी हुने बताउँदै यसअघि पनि नगरपालिकाले विभिन्न रोगसम्बन्धी निःशुल्क स्वास्थ्य शिविरहरू सञ्चालन गर्दै आएको बताए ।
काफ्लेका अनुसार जिल्लाभरिबाट दुई हजारभन्दा बढी महिलाले शिविरमा स्वास्थ्य परीक्षण गराउने अपेक्षा गरिएको छ । भक्तपुर क्यान्सर अस्पतालका निमित्त निर्देशक डा. उज्ज्वल चालीसेको नेतृत्वमा १८ सदस्यीय क्यान्सर विशेषज्ञ चिकित्सकहरूको टोलीले सेवा प्रदान गरिरहेको छ ।
डा. चालीसेले शिविरमा आएका सबै सेवाग्राहीलाई निःशुल्क सेवा दिइने बताए । क्यान्सर देखिएका बिरामीलाई औषधि र उपचार पनि निःशुल्क प्रदान गरिने छ भने अन्यलाई सामान्य स्वास्थ्य परीक्षण गरिनेछ ।
नगरप्रमुख काफ्लेले यस महत्त्वपूर्ण शिविर सञ्चालनमा दीर्घकालदेखि क्यान्सरसँग लडिरहेका पत्रकार कबिन्द्र शेर्माको योगदान विशेष रहेको उल्लेख गरे । शर्माको घाटीमा क्यान्सर देखिएपछि उपचार गराइरहेका शेर्मालाई हाल हड्डीमा समेत क्यान्सर देखिएको छ ।
पत्रकार शेर्माले भने, ‘म जस्तै अरू कोही क्यान्सरबाट नतड्पिउन भन्ने उद्देश्यले समयमा नै परीक्षणको महत्त्व बुझाउन यो पहल गरिएको हो, समयमै परीक्षण गरियो भने क्यान्सरबाट बच्न सकिन्छ ।’ शुक्रबार बिहान आयोजित विशेष समारोहमा फिदिम नगरप्रमुख काफ्लेले शिविरको औपचारिक उद्घाटन गरेका हुन् ।
प्रतिक्रिया