गणतन्त्रप्रति ओली बढी निष्ठावान कि बालेन ?

सोमबार सिंहदरबारमा बसेको १८औँ गणतन्त्र दिवस मूल समारोह समितिको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) प्रति गरेको टिप्पणीलाई धेरैले अभद्र भनेका छन् । त्यसैगरी प्रधानमन्त्री ओलीको टिप्पणीबारे सामाजिक संजालमा मेयर शाहले दिएको प्रत्युत्तरलाई पनि धेरैले भद्र भनेका छैनन् ।

समारोह समितिका पदेन सदस्य रहेका मेयर शाहलाई बैठकमा नदेखेपछि अध्यक्षको आशनबाट प्रधानमन्त्री ओलीले भनेका थिए, ‘कहिले पनि नआउने, नाम राखिरहनुपर्ने, मानका खातिर मानको चलनचाहिँ छोड्दा पनि हुन्छ कि क्या हो ! कहिले पनि नआउने, नाम सधैँ टाँस्नुपर्ने ? कुनै व्यक्तिलाई कुनै अर्थ छैन । वास्तै छैन, महत्व नै छैन भने सधैँ नाम झुन्ड्याइरहने नगरे पनि हुन्छ कि ?’

ओलीको यो टिप्पणीको जवाफ दिँदै मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘जुन देशमा राजधानीको मेयरले भ्रष्टाचार रोक्छुभन्दा देशका सबै पार्टीका सबै लागेर भ्रष्टाचारी जोगाउँछु भन्छन्, त्यसको नाइकेको कार्यक्रममा म गइदिनुपर्ने ? सरी केपी ओली ! आइ डन्ट सपोर्ट योर करप्ट सिस्टम ।’

प्रधानमन्त्री ओली र मेयर शाहबीचको यो दोहोरीमाथि टिप्पणी गर्दै पूर्वमन्त्री जयप्रकाशप्रसाद गुप्ताले आफ्नो फेसबुकमा लेखेका छन्, ‘गिरिजाप्रसाद कोइराला राजाकै शासनमा धेरैपटक प्रधानमन्त्री हुनुभयो । तर दरबारमा गई एकपटक पनि दसैँको टीका थाप्नु भएन । मातृकाप्रसाद कोइराला बाँचुन्जेल ठुल्दाजुको हातबाट साइतको टीका थाप्ने भनेर बिराटनगर पुग्नु हुन्थ्यो । न भए बानेश्वर । उहाँ सबै पटक प्रमका साथ राजदरबारसम्बन्धी विभागीय मन्त्रीसमेत रहनुभयो । दरबारिया समारोहको प्रोटोकलमा उहाँको नाम हुन्थ्यो । छापिएको पनि हुन्थ्यो । अन्तर्यामी दरबारले सबै कुरा जानेको थियो । बुझेको थियो । न त राजा स्वयंले, न त पशुपतिभक्त महर्जनका माध्यमबाट प्रम तपाई दरबारले नआई दिने ? दरबारको अवज्ञा गर्ने भनी कहिले भनेन ।

कुराको बुझाई मनमनै हुन्थ्यो । म प्रति कोइराला ‘आध्यात्मिक भक्तिभाव’ राख्दैनन् अथवा राजनीतिक प्रयोजनका लागिबाहेक सभक्ति राजतन्त्र मानेका छैनन् यति बुझ्ने तीक्ष्णता त दरबारको थियो नै । तर, दरबार त्यता लागेन । दरबार भित्तातिर नधकेलिँदासम्म संरक्षक र संहारक दुबै थियो । प्रधानमन्त्री हुनेहरूलाई दाम राखेर ढोग्न लगाउँथे । तैपनि आफ्नो मर्यादा एवं गरिमाका लागि चुप बस्दथ्यो ।

सर ! डियर कमरेड प्रधानमन्त्री ओलीजी, कहाँ अल्झिनु भएको छ तपाई ? दिनहरू थोरै छन् । अगाडि हिँडनुपर्ने खाल्डाखुल्डीबाला बाटातिर हेर्नुस् सम्माननीय जी ।’

यस्ता बैठक तथा सार्वजनिक समारोहमा काठमाडौंका मेयर शाहको अनुपस्थिति नयाँ होइन । गणतन्त्र दिवसका अवसरमा संघीय सरकारद्वारा आयोजित यस अघिका बैठक तथा समारोहमा समेत उनी उपस्थित थिएनन् । तर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वास्ता गरेनन् । त्यसो त २०८० सालको संविधान दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले रात्रिभोजको आयोजना गरेका थिए । त्यसबेला विभिन्न व्यक्तित्वसँगै बालेनलाई पनि निमन्त्रणा गरिएको थियो । तर, उनी सहभागी भएनन् । उनका असहभागिता चासोको विषय पनि भएन । यसपटक भने प्रधानमन्त्री ओलीले मेयर शाहको अनुपस्थितिलाई राष्ट्रिय चासोको विषय बनाए ।

यस्ता बैठक तथा समारोहमा कसैको उपस्थिति अनिवार्य हुन्छ, कसैको उपस्थिति आलंकारिक हुन्छ । गणतन्त्र दिवस समारोहमा पनि धेरैको उपस्थिति आलंकारिक हो । मेयर शाहको अनुपस्थितिलाई राष्ट्रिय चासोको विषय बनाउनुको अर्थ हो, प्रधानमन्त्री ओलीको दिमागमा अझै पनि अधिनायकवादको भूत सवार भइरहेको छ । पञ्चायतकालमा तत्कालीन प्रधानपञ्च हरिबोल भट्टराईमाथि सरकारले गरेको व्यवहार र अहिले प्रधानमन्त्री ओलीले मेयर शाहमाथि गरेको व्यवहारमा तात्विक अन्तर छैन । मुलुकमा स्थापना भएको लोकतान्त्रिक शासन व्यवस्था देशबासी सबैका लागि हो भन्ने हेक्का प्रधानमन्त्री ओलीले राख्न सकेको देखिएन ।

गणतन्त्रमाथिको निष्ठामा प्रश्न उठाएर मेयर शाहलाई खुइल्याउने नियतका साथ प्रधानमन्त्री ओलीको पछिल्लो टिप्पणी आएको अनुमान लगाउन गाह्रो छैन । तर गणतन्त्र प्रति ओलीबढी निष्ठावान कि, बालेन ? भन्ने प्रश्नको उत्तर दिमागका तरंगहरू यन्त्रद्वारा मापन गरेर होइन कि, उनीहरू दुबैका अभिव्यक्ति तथा क्रियाकलापका आधारमा खोज्नु उचित हुन्छ । विश्वव्यापी कोभिड–१९ को महामारीका कारण चुनाव नै हुन नसक्ने अवस्थामा कतिपटक सांसद विघटन गरे ? के कस्ता अध्यादेश ल्याए ? भन्ने कुरा राज्यको रेकर्डमा मात्रै होइन, दिमागमा धमिरा नलागेका हरेक व्यक्तिलाई थाहा छ । ‘मलाई ‘तिमी’ भन्ने शब्द राखेर किन लेख्यौ ? किन बोल्यौ ?’ भनेर खप्की खाएका धेरै सम्पादकहरू ओलीको अधिनायकवादी चिन्तनबारे जानकार छन् । त्यसो त देशका गणतन्त्र स्थापनाका लागि जनता ज्यान हत्केलामा राखेर संघर्षमा उत्रिइरहेका बेला तत्कालीन एमाले स्थायी समितिका सदस्यका रूपमा ओलीको भूमिका के थियो ? भन्ने कुरा पनि धेरैलाई थाहा छ । त्यतिबेला ओलीले भनेका थिए, ‘अहिलेको आन्दोलनले गणतन्त्र आउँछ भन्ने आशा गर्नु र बयलगाढा चढेर अमेरिका जाने यात्रा सफल हुन्छ भन्ने ठान्नु उस्तै उस्तै हो ।’ ओलीको यो अभिव्यक्ति गणतन्त्रको पक्षमा थियो कि, निरंङ्कुश राजतन्त्रको पक्षमा थियो ? भन्ने यथार्थता बुझ्न दिमाग खियाइरहनु पर्दैन ।

तर, अधिनायकवादी चिन्तनबाट मेयर शाह पुरै मुक्त छन् भन्नु अर्को भ्रम हो । किनकी मान्छेको जन्मजात गुण हो यो । तर कम्तिमा पनि तीनकुने आगजनी र विध्वंश प्रकरणमा मेयर शाहले निर्मल निवासमा बसेका ज्ञानेन्द्र शाहलाई जरिवाना पत्र काटेर देशमा गणतान्त्रिक शासन व्यवस्था रहेको संकेत दिए । तर, प्रधानमन्त्री ओलीले हेल्मेट लगाउन अटेरी गरेका पूर्व अधिराजकुमार पारस शाहलाई नियन्त्रण गर्न गएका प्रहरी के कारणले गाली खाएर फर्के ? भन्ने प्रश्नको उत्तर अहिलेसम्म दिन सकेका छैनन् । गणतन्त्र समारोह मूल समितिमा अलंकारिक रूपमा रहेको बालेन शाहको नाम हटाएर गणतन्त्र बलियो हुन्छ भन्ने ठम्याइमा रहेका प्रधानमन्त्री ओली स्वयं गणतन्त्रका रक्षक होइनन् । जनस्तरमा गणतन्त्र बद्नाम हुँदै जानुमा कारक तत्वहरू धेरै होलान्, तर मुख्य कारक ओली हुन् ।


चाडपर्व तथा समारोहमा अलंकारिक उपस्थिति तथा मनोविज्ञानको सन्दर्भबारे पूर्वमन्त्री जेपी गुप्ताको टिप्पणी अर्थपूर्ण छ । उनले २०४६ सालको परिवर्तन पछिको एउटा सान्दर्भीक उदाहरण दिए । पञ्चायतकालका केही उदाहरणहरू पनि रोचक छन् । तत्कालीन मन्त्री जोगमेहर श्रेष्ठले यस पंक्तिकारलाई बनाए अनुसार २०३३ सालमा स्वदेश फर्केपछि बिपी कोइरालालाई पूर्वप्रधानमन्त्रीको हैसियतमा दरबारमा आयोजित समारोहमा बोलाउने कि नबलाउने ? भन्ने विवाद भयो । तत्कालीन प्रधानमन्त्री डा. तुल्सी गिरीले बोलाउनै पर्ने अडान राखे । बिपी कोइराला समारोहमा पुगे । राजालाई नमस्कार गरे । तर, प्रधानमन्त्री डा. गिरीलाई वास्तै गरेनन् । जुन प्रयोजनका लागि बिपी कोइरालालाई निमन्त्रणा गर्न प्रधानमन्त्री गिरीले चासो देखाएका थिए, त्यो प्रयोेजन पूरा भएन । त्यसपछिको अर्को समारोहमा जुत्ताको रंग नमिलेको भन्दै बिपी कोइरालालाई दरबार परिसरको मूलगेटबाटै फिर्ता गरेर प्रधानमन्त्री गिरीले बदला लिए ।

यतिबेला ओलीले मेयर शाहको अनिवार्य उपस्थिति खोज्नुको कारण पनि यस्तै हुन सक्ने ओलीको निकट रहेर काम गरिसकेकाहरूको अड्कल छ । पहिलोपटक प्रधानमन्त्री हुँदा सांसदको गणितीय संख्या आफ्नो पक्षमा प्रचुर हुँदा हुँदै पनि नेकपा मालेका महासचिव सिपी मैनालीलाई उपप्रधानमन्त्री बनाइएको सन्दर्भमा एक कार्यकर्ताको जिज्ञासामा ओलीले भनेका थिए, ‘यिनले मलाई नमस्कार गर्ने गरेका थिएनन्, अब मन्त्रिपरिषद्को बैठकमा भेट हुँदा नमस्कार गर्न थालेका छन् ।’

निकटस्थहरूका अनुसार पूर्वाग्रहका आधारमा कसैसँग बदला लिने मामिलामा ओलीलाई कसैले भेट्दैन । केही महिनाअघि एमालेकी सांसद रेखाकुमारी शर्माले बालश्रम शोषण गरेको मामिलामा पनि प्रधानमन्त्री ओली र मेयर शाहबीच जुहारी चलेको थियो । त्यतिबेला जुहारी नखेल्न दुवै जनालाई आग्रह गर्दै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष विश्व पौडेलले आफ्नो फेसबुकमा लेखेका थिए, ‘गणेशमान सिंहको एउटा फेमस भनाइ थियो, नेताले कहिल्यै आफ्नो पछाडि कति मान्छे छ भनेर हेर्दैन । कहिले ऊ एक्लै हुन्छ, कहिले उसका पछाडि लाखौँको भिड हुन्छन् । फलोअर गनेर सेलिब्रिटी भइन्छ, नेता भइँदैन ।’ यतिबेला नेपाली कांग्रेसले गभर्नरका लागि उनलाई सिफारिस गर्दा प्रधानमन्त्री ओलीले सोधेका थिए रे, ‘त्यही विश्व पौडेल हो ?’

नेकपा (एमाले) जनमतको हिसाबले नेपालकै सबैभन्दा ठूलो राजनीतिक पार्टी हो । संगठनका हिसाबले पनि नेकपा एमाले सबैभन्दा बलियो पार्टी हो । देशका ७७ वटै जिल्लाका ७५३ वटै पालिकामा एमालेको बलियो संगठन छ । त्यति मात्रै होइन, देशका सबै वडामा एमालेको संगठन छ । तर बालेन्द्र शाह काठमाडौँ महानगरपालिकाका मेयर मात्रै हुन् । त्यसमा पनि स्वतन्त्र । उनका पछाडि कुनै संगठन छैन । काठमाडौँ महानगर भनेको देशका ७५३ पालिकामध्ये एउटा हो । यद्यपि नेकपा एमालेले आफ्नो सिंगो शक्ति तथा भएभरको सामथ्र्य काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहविरुद्ध खर्च गरिरहेको छ । किन र के का लागि एमालेले यो सामथ्र्य खर्च गरिरहेको छ ? भन्ने प्रश्नले पक्कै पनि राजनीतिक विश्लेषकहरूको दिमाग चक्कराएको हुनुपर्छ ।

तर, यो द्वन्द्वको बास्तविक कारण भनेको सिंहदरबार र बागदरबारबीचको शक्ति बाँडफाँडको मामिला हो । काठमाडौँका मेयर बालेन्द्र शाह संविधानले दिएको अधिकार प्रयोग गर्न चाहन्छन् । किनकी उनी स्वतन्त्र हुन् । तर अन्य पालिकाका मेयरहरू भने संविधानले दिएको अधिकार प्रयोग गर्न डराइरहेका छन् । किनकी उनीहरू राजनीतिक दलका हुन् । आफ्नो नेताले दिएको निर्देशन मान्न उनीहरू वाध्य छन् । निर्देशन नमाने पार्टीले कारबाही गर्छ । स्थानीय तहमा दलको प्रतिनिधिभन्दा स्वतन्त्र प्रतिनिधि उपयुक्त हुने सन्देश बालेन्द्र शाहको क्रियाकलपद्वारा प्रवाह भएको छ । यो सन्देशलाई एमालेले खप्न सकेको छैन ।

प्रतिक्रिया