म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा रहेका भिरहरूमा महसिकार सुरु भएको छ । स्वाँतवासीले हरेक वर्षको जेठ महिनाको पहिलो हप्ता सामूहिक रूपमा गाउँ वरपरको भिरमा सामूहिक महसिकार गर्ने वर्षौंअघिदेखिको चलनलाई निरन्तरता दिएका छन् । स्थानीय लोकबहादुर पाइजाको नेतृत्वमा मंगलबार छहरे भिरबाट ४० लिटर मह निकालिएको छ ।
डोरीमा झुन्डिएर मह निकाल्ने टोलीमा पाइजाको साथमा ७२ वर्षीय केशबहादुर तिलिजा पुनदेखि तुलबहादुर पुर्जा, सुजन तिलिजा र सनम पाइजा लगायतका युवाहरू सहभागी भएका थिए ।
अक्करे भिरमा सिकारीले भाडामा झिक्ने महलाई संकलन, प्रारम्भिक प्रसोधन गर्ने र सहयोगीसहित करिब २० जना सहभागी थिए । महसिकार गर्ने चलन लोप हुन नदिनका लागि अग्रजहरूले युवाहरूलाई यससम्बन्धी सीप सिकाएर हस्तान्तरण गरेका छन् ।
स्वाँतबासीहरू घरको काम सकेर दिनभर महसिकार अवलोकन गर्न छहरेभिर गएका थिए । महसिकार गर्नुअघि भिरको नजिकै मगर संस्कृतिअनुसार अशुभ नहोस् भन्ने कामना गर्दै पूजाआजा गरिएको थियो । गत वर्ष २०० लिटर मह निकालिएको छहरे भिरमा यसपालि ५ गुणा कम मह उत्पादन भएको छ ।
केही दिनदेखिको वर्षाका कारण मौरी चरन क्षेत्रमा जान नपाउँदा गोलाको मह खाएकाले मह कम भएको सिकारी पाइजाले बताए । छहरीको भिरमा ११ वटा गोला थियो । बुधबार स्वाँतदेखि खोपारा जाने पदमार्गमा पर्ने छिसको टाउको भिरमा महसिकार गर्ने तयारी छ । त्यहाँ करिब २० वटा गोला छन् ।
खोल्साको नजिकैको ओसेपिलो ठाउँको अक्करे पहाडको बीच भागमा भिरमौरीको बासस्थान हुन्छ । वनजंगलमा फुल्ने फूल भिरमौरीको आहारा हो । हिउँदमा न्यानो खोज्दै बेसी झर्ने भिरमौरी गर्मी बढ्न थालेसँगै माथिल्लो क्षेत्रमा बसाइँसराइ गर्छन् ।
महसिकार अवलोकनका लागि पर्यटकहरू पनि आएका थिए । काठमाडौँका सागर पराजुलीले रसीमा झुन्डिएर भिरबाट मह निकालेको साहसिक दृष्य अवलोकन गर्ने सौभाग्य मिलेको बताए ।
‘मह सिकारीले डोरीको सहायताले भिर मौरीको गोला भएको डरलाग्दो भिरमा झुन्डिएर मह निकालेको पहिलोपटक देख्दा शरीर नै जिङ्रिंग भयो’, उनले भने ‘भिरमह खाँदा जति स्वादिलो र रसिलो हुन्छ यसलाई निकाल्न भने अत्यन्तै जोखिम मोल्नुपर्ने रहेछ ।’
भिरमा भिरमौरीले लगाएका गोला काट्नका लागि मह सिकारी डोरी (पराङ) मा झुन्डिएर मह सिकार गर्ने गर्दछन् । वसन्त र शरद ऋतु मह सिकारका लागि उपयुक्त समय मानिन्छ । वसन्त ऋतुमा बेँसी र शरदमा लेकमा पुगेर भिरमह निकाल्न उपयुक्त समय हो ।
मह निकाल्नका लागि भिरको माथिल्लो भाग र तल्लो भागमा दुई समूहमा सिकारी बाँडिएका हुन्छन् । एक समूहले भिरको माथिबाट तल भुइँसम्म डोरी (स्थानीय भाषामा परङ) झुन्ड्याउँछन् भने भिरको अर्को समूहले मह थाप्ने र स्याहार्ने गर्दछन् ।
महको चाका वरिपरि माहुरी घेरिएर बसेका हुन्छन् । धुवाँ लगाइदिएपछि मौरी भाग्छन् । त्यतिबेला मह निकाल्न विशेष ध्यान पु¥याउनु पर्छ । जब परङमार्फत गएका सिकारीले गोलामा धुँवा झोस्न सुरु गर्छन् माहुरीले टोक्ने डरले वरपरका सबै सिकारी रूख र ओडारमा लुक्छन् ।
माहुरी अन्यत्रै भागेपछि मात्र उनीहरूलाई बाहिर आएर मह निकाल्न सजिलो हुने गर्छ । मुख्य सिकारीले हतियार प्रयोग गरी निकालेको महको भाँडालाई डोरीको सहायताले तलमाथि गराइन्छ ।
१४ वर्षदेखि महसिकार गर्दै आएका ७२ वर्षीय केशबहादुरले पछिल्लो समय मौरीको टोकाइबाट बच्न सकिने कपडा, सेफ्टी बेल्ट प्रयोग गर्न थालेपछि जोखिम घटेको अनुभव बताए । ‘८–१० वर्षअघिसम्म सिकार गर्दा एकातर्फ मौरीले टोक्ने अर्कोतर्फ रसी फुत्किएर खस्ने डर हुन्थ्यो’, उनले भने ‘अहिले सेफ्टीका सामान भएपछि सुरक्षित र सजिलो भएको छ ।’
स्वादिलो, स्वास्थ्यका लागि हितकर भिरमह शक्तिवद्र्धक हुने स्वाँतका बासिन्दा बलबहादुर तिलिजाले बताए । मह धार्मिक कार्यमा पनि प्रयोग हुने भएकाले यसको थप महत्व छ । विदेश गएका र सहरमा बस्नेहरूले भिरमह कोसेलीका रूपमा लैजाने गर्छन् ।
स्वाँतका सबै भिरबाट निकालिएको मह संकलन गरेपछि बैठक बसेर वितरण गर्ने चलन छ । पराङमा चढ्ने, उनीहरूलाई सहयोग गर्ने र गाउँमा बसोबास गर्नेहरूलाई ३ वर्गमा विभाजन गरेर मह वितरण गर्ने चलन छ । गाउँमा वितरण भएपछि बढी भएको मह बाहिर बिक्री गर्ने गरिन्छ ।
स्वाँतको भिरमहको मूल्य प्रतिलिटर ३ हजार रुपैयाँ कायम गरिएको छ । बसाईं सरेर बेनी, पोखरा, काठमाडौँ, चितवन गएकाहरू मह सिकार गर्ने समयमा स्वाँत आउँछन् । पोखरामा बस्दै आएकी स्वाँतकी चन्द्र पुनले महसिकार हेर्न, ताजा मह खान र किनेर लैजान हरेक वर्ष गाउँमा आउने गरेको बताइन् । स्वाँतमा बस्ती बसेदेखि नै महसिकार गर्ने प्रचलन सुरु भएको बताइन्छ ।
अन्नपूर्ण गाउँपालिका–५ शिखका वडा अध्यक्ष राजेश तिलिजा पुन महसिकारलाई व्यवस्थित, आधुनिक र सुरक्षित तथा व्यावसायिक बनाउँदै पर्यटनसँग जोड्ने योजना रहेको बताउँछन् । महसिकारको समयमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउने, महलाई व्यवस्थित रूपमा प्रसोधन र भण्डारण गरी बजारीकरणको व्यवस्था मिलाउन पहल गर्ने वडा अध्यक्ष तिलीजाले बताए ।
प्रतिक्रिया