पाँचौं रारा ट्रेल रनको उपाधि युवक र सुनमायालाई

मुगु । मुगु जिल्लाको रारातालमा सुरु भएको पाँचौं रारा ट्रेलरनको उपाधि जुम्लाका युवक राज बुढा र सुनमाय बुढाले हात पारेका छन् । पुरुषतर्फ जुम्ला कनकासुन्दरी गाउँपालिका– ३ लुम गाउँका युवक राज बुढा र महिलातर्फ जुम्ला पातरासी गाउँपालिका– २ की सुनमाया बुढाले रारा ट्रेलरनको उपाधि चुमेका हुन् ।

रारा तालको सौन्दर्यताको प्रचारप्रसारको लागि नेपाली सेनाले पाँच वर्षदेखि मुगुको रारामा रारा ट्रेल रनको आयोजना गर्दै आइरहेको छ । यो वर्ष पनि नेपालि सेना हनुमानध्वज गुल्मको आयोजनामा शुक्रबार भएको रारा ट्रेल रनको पाँचौं सस्करणमा महिला तर्फ ३८ र पुरुष १ सय ७५ जना गरेर २ सय २३ जनाले सहभागिता जनाएका थिए ।

एक सय ७४ जना धावकलाई पछि पार्दै जुम्ला कनकासुन्दरी गाउँपालिका– ३ लुम गाउँका युवक राज बुढा रारा ट्रेलरनको पहिले बनेका हुन् । उनले १६ किलोमिटरको दुरी एक घण्टा १२ मिनेट १८ सेकेण्डमा पार गरे ।

जुम्ला कनकासुन्दरी गाउँपालिका– १ का सोमबहादुर रावत १ घण्टा १४ मिनेट १९ सेकेण्ड दोस्रो र कनकासुन्दरी– २ जुम्लाकै चन्द्र रावतले १ घण्टा १४ मिनेट ४४ सेकेण्ड लगाएर तृतीय स्थान हासिल गरेका थिए ।

यसैबीच महिलातर्फका ३७ जना धाविकालाई पछि पार्दै जुम्ला पातारासी गाउँपालिका– २ कि सुन माया बुढा प्रथम भइन् । उनले १६ किलोमीटर दुरि निर्धारित १ घण्टा २४ मिनेट १८ सेकेन्डमा पार गरी प्रथम भइन् । जुम्ला पातारासी गाउँपालिका– २ की कल्पना बुढाले १ घण्टा २५ मिनेट ३५ सेकेण्ड द्वितीय र जुम्लाकै गुठिचौर गाउँपालिका– ३ की राज्यलक्ष्मी रावलले १ घण्टा २५ मिनेट ४६ सेकेण्ड लगाएर तेस्रो स्थान पक्का गरिन् ।

ट्रेल रनमा प्रथम,द्वितीय र तृतिय स्थान प्राप्त गर्ने महिला तथा पुरुषतर्फका विजेता खेलाडीहरुलाई जनही क्रमशस् ५० हजार,३० हजार,२० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको छ ।

मुगुका प्रमुख जिल्ला अधिकारी कमल प्रसाद पाण्डे, नेपाली सेना उत्तर पश्चिम पृथना उपरथी अनुपजंग थापा, सहायक रथी सन्जय देउजा, हनुमानध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारी लगायतले सहभागी खेलाडीहरुलाई पुरुस्कार प्रमाण पत्र र ट्रफी प्रदान गरेका थिए ।

रारा ट्रेल रनले कर्णाली प्राकृतिक सुन्दरताले मात्रै भरिपूर्ण नभइ खेल पर्यटनका हिसाबले पनि अनुकुल भएको सन्देश फैलाइरहेको छ । त्यसैले कर्णाली प्रदेशको प्रमुख पर्यटकीय स्थल राराको पर्यटन प्रर्द्धनसँगै खेलाडी उत्पादनको लागि नेपाली सेनाले हरेक वर्ष रारामा रारा ट्रेल रनको आयोजना गर्ने गरेको नेपाली सेना हनुमानध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारीले बताए ।

प्रतिक्रिया