बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसन एनपीएलका लागि पोखरा एभेन्जर्समा अनुबन्धित

काठमाडौं । बंगलादेशका चर्चित क्रिकेटर शकिब अल हसनले पोखरा एभेन्जर्सबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन्। पोखरा एभेन्जर्सले एनपीएलको आगामी तेस्रो सिजनका लागि शकिबलाई अनुबन्ध गरेको छ ।

शकिब एनपीएलको आउँदो सिजनमा सहभागी हुने पोखरा एभेन्जर्सले जनाएको छ । अलराउन्डर शकिब बंगलादेशका पूर्वकप्तान पनि हुन् । ३९ वर्षीय शकिबले बंगलादेशबाट ७१ टेस्ट र २४७ एकदिवसीय खेल खेलिसकेका छन् ।

त्यस्तै, उनले १२९ वटा टी–२० आई खेलेका छन् । जसमा उनले दुई हजार ५५१ रन बनाएका छन् । उनले भारतीय प्रिमियर लिग (आईपीएल) पनि खेलेका छन् । आईपीएलका ७१ खेलमा ७९३ रन बनाएका छन्।

उनले बंगलादेश प्रिमियर लिगसँगै श्रीलंका प्रिमियर लिग, पाकिस्तान प्रिमियर लिग, क्यारेबियन प्रिमियर लिगलगायत सबैजसो चर्चित अन्तर्राष्ट्रिय लिगबाट खेलिसकेका छन् ।

आगामी एनपीएलका लागि पोखरासँगै आठवटै फ्रेन्चचाइज विदेशी खेलाडी अनुबन्धित गर्न सुरु गरेका छन् । पोखराका लागि कुशल भुर्ते मार्की खेलाडीका रुपमा छन् ।

प्रतिक्रिया