रित्तिँदै जैमनी : २ वर्षमा १ हजार ७०० बढीले छाडे गाउँ

ढोरपाटन । बढ्दो बसाइँसराइका कारण बागलुङको जैमिनी नगरपालिकाका ग्रामीण बस्ती सुनसान बन्दै गएका छन् । धमाधम स्थानीयले गाउँ छाड्न थालेपछि खेतीयोग्य जमिन बाझिँदै गएका छन् भने घर जीर्ण बन्दै गएका छन् । सेवासुविधाको खोजीमा गाउँबाट सहर बजार झर्ने प्रचलन बढेको हो । जिल्लामै सबैभन्दा बढी बसाइँसराइ हुने पालिकाका रुपमा जैमिनीलाई लिइन्छ ।

जैमिनीबाट पछिल्लो २ वर्षमा ४८२ घरपरिवारका १ हजार ७०९ जनाले गाउँ छाडेका छन् । २०८० सालमा २६३ घरपरिवारका ९४७ जनाले बसाइँसराइ गरेका छन् भने २०८१ सालमा २१९ घर परिवारबाट ७६२ जनाले गाउँ छाडेका छन् । २ वर्षको अवधिमा २६ घरपरिवारका ८६ जना बाहिरबाट जैमिनी आएको नगरपालिकाले जनाएको छ । २०८० सालमा ९ परिवारका ४२ जना आए र २०८१ मा १७ परिवारका ४४ जना जैमिनी आएका छन् ।

नगरपालिकाका पञ्जीकरण शाखा प्रमुख ताराप्रसाद पौडेलका अनुसार जैमिनीबाट बसाइँसराइ गरेर अधिकांश चितवन, नवलपरासी र बुटवलमा गएका हुन् ।

नगर उपप्रमुख हरिहर शर्माले बसाइँसराइ रोक्नका लागि स्थानीयलाई गाउँमै उद्यमी बनाउने र आत्मनिरर्भर बनाउने खालका कार्यक्रम सञ्चालन गरिरहेको बताए । बस्तीबस्तीसम्म सडक, खानेपानी, विद्युत्, स्वास्थ्य, शिक्षा क्षेत्रको विकास गरेको उनको भनाइ छ । गाउँमा ठूलो सम्भावना हुँदाहुँदै पनि धेरैले सहर बजार रोज्ने गरेको शर्मा बताउँछन् ।

उनले भने, ‘मानिसका चाहना असीमित हुन्छन्, स्थानीय सरकारले गर्नसक्ने विकास गरिरहेका छौँ, पर्याप्त नहोला तर गाउँमा पहिलेको जस्तो विकास नपुगेको भन्ने छैन, जताततै अहिले गाडी गुड्छन्, खानेपानीको सुविधा छ, शिक्षा र स्वास्थ्य क्षेत्रमा पनि ठूलो लगानी गरेका छौँ, हुने खानेहरू धेरैले सहर बजार रोज्न थाले, गाउँमा भएकालाई गुणस्तरीय सेवा प्रदान गर्न हामी प्रतिबद्ध छौँ, नागरिकलाई उद्यमी बनाउने र आय आर्जनसँग जोड्ने खालका कार्यक्रम पनि चलाइरहेका छौँ ।’

प्रतिक्रिया