भारत र पाकिस्तानबीचको पछिल्लो युद्धमा कसले बाजी मा¥यो ? यी २ देशहरूले अब समस्या समाधानको पहल गर्लान कि, फेरि अर्को युद्धको तयारी थाल्लान् ? भन्ने जिज्ञासा सर्वत्र देखिएको छ । त्यसमा पनि नयाँ पुस्ताका नेपालीहरूमा यो जिज्ञासा बढी देखिएको छ । किनकी जसरी नेपाली भूमि लिपुलेक तथा कालापानी क्षेत्रमा भारतले शासन गरिरहेको छ, त्यसरी नै कश्मिरको उत्तरी तथा पश्चिमी क्षेत्रमा पाकिस्तानले शासन गरिरहेको धेरैजसो नेपालीको बुझाइ छ । तर यो बुझाइ अर्धसत्य हो ।
भारत र पाकिस्तानबीच बेलाबेलामा लडाइँ भइरहनुको कारणबारे सामान्य ज्ञान राख्नका लागि बुझ्नै पर्ने ३ वटा पाटा छन् । पहिलो कश्मिर राज्यको इतिहास, दोस्रो भौगोलिक अवस्थिति तथा धर्म संस्कृति र तेस्रो पाटो प्राकृतिक स्रोत हो ।
इतिहास
कश्मिर अविछिन्न इतिहास बोकेको पुरानो देश होइन । जुन भूभागहरूलाई कश्मिर भनिन्छ, ती भूभागहरू अंग्रेजले शासन गर्नु भन्दाअघि पन्जाब राज्यअन्तर्गत थिए । अंग्रेजको शासनकालमा कश्मिर फेरि छुट्टै अधिराज्य बन्यो । सन् १८४६ मा गुलाब सिंहले अग्रेजसँग ७५ लाख रुपैयाँमा किनेर जम्मु तथा कश्मिरमा आफ्नो डोग्रा वंशको राजतन्त्रात्मक शासन सुरु गरेका थिए । उत्तरी पन्जाबलाई विभाजन गरेर अंग्रेजहरूले छुट्टै कश्मिर अधिराज्यको अस्तित्व किन पुनर्जीवित गरे ? भन्ने कुरा विश्लेषणको छुट्टै पाटो हो । यसको कथा निकै लामो छ ।
कश्मिर समस्याको बास्तविक कथा अंग्रेजहरूले दक्षिण एसियाको शासन छाडेको दिनदेखि सुरु हुन्छ । अंग्रेजहरूले दक्षिण एसिया नछाड्दासम्म न भारत भन्ने देश अस्तित्वमा थियो, न पाकिस्तान नै । तर, कश्मिर भने अस्तित्वमा थियो । अंग्रेजहरूले शासन गरेको यो भूभागमा कश्मिर जस्तै करिब ६०० राज्य थिए । जसलाई प्रिन्स्ली स्टेट भनिन्थ्यो । प्रिन्स्ली स्टेटमध्ये पनि केहीको दर्जा माथि थियो, उनीहरू स्वायत्त थिए । त्यसमध्ये कश्मिरका राजाको हैसियत बेलायतको मन्त्रीसरह थियो, तर अन्य राज्यका राजाहरूको हैसियत बेलायतले नियुक्ति गर्ने गभर्नरको भन्दा तल थियो ।
स्वतन्त्रता आन्दोलन सफल भएपछि बेलायतले शासन गरेको क्षेत्रमा हिन्दु र मुसलमानका छुट्टाछुट्टै २ वटा देश भारत र पाकिस्तान बन्ने परिस्थिति उत्पन्न भयो । यो परिस्थितिमा प्रिन्स्ली स्टेटका राजाहरूलाई २ वटा विकल्प दिइयो । भारत या पाकिस्तानमध्ये एउटामा गाभिने कि, स्वतन्त्र देशका रूपमा कायमै रहने ? धेरैजसो राजाहरूले गाभिने निर्णय लिए, तर कश्मिरका राजा हरि सिंहले स्वतन्त्र देशका रूपमा रहने निर्णय लिए । राजा हरि सिंहको यो निर्णय बुद्धिमत्तापूर्ण थिएन भन्न मिल्दैन, यद्यपि बदलिँदो परिस्थितिअनुसार ढंग पु¥याएर शासन गर्न जानेनन् ।
पाकिस्तानको संलग्नतामा भएको आन्दोलनका अघि राजा हरि सिंहको निरंकुशतन्त्रले प्रतिकार गर्न सक्ने अवस्था रहेन । उनी गुहार माग्न भारतको राजधानी दिल्ली पुगे । तर त्यतिन्जेल समय घर्किसकेको थियो । यही मौकामा भारतले पनि सर्त राख्यो । देशको रक्षा, परराष्ट्र र मुद्रा मामिला आफूलाई दिने कागजमा हस्ताक्षर गरे मात्रै सैन्य सहयोग प्रदान गर्ने सर्त भारतले अघि सा¥यो । भारतको त्यो सर्त स्वीकार गर्नुबाहेक राजा हरि सिंहसँग अर्को विकल्प रहेन । राजाको हस्ताक्षर लगत्तै भारतले कश्मिरमा आफ्ना सेना पठायो । उता पाकिस्तानले पनि सेना परिचालन ग¥यो । भारतीय सेना र पाकिस्तानी सेनाबीच युद्ध भयो । युद्धमा भारतको पल्ला भारी थियो । तर पाकिस्तानलाई भौगोलिक परिस्थिति तथा स्थानीय जनताको साथ थियो । त्यसैले कश्मिरको करिब ३० प्रतिशत भूभाग भारतले पाकिस्तानबाट मुक्त गर्न सकेन । यसरी साविकको कश्मिरको ७० प्रतिशत भूभाग भारतको अर्धउपनिवेशिक हुने र ३० प्रतिशत भूभागमा पाकिस्तानको शासन हुने गरी प्रारम्भिक संझौता भयो ।
यो मुद्दाको अन्तिम टुंगो लगाउने जिम्मा संयुक्त राष्ट्र संघलाई दिने कुरामा दुवै देश राजी भए । संयुक्त राष्ट्र संघले जनमत संग्रहद्वारा यो मुद्दाको टुंंगो लगाउने फैसला ग¥यो । तर मुस्लिम बाहुल्य जनसंख्या भएका कारण जनमत संग्रहद्वारा मुद्दाको किनारा लगाउन भारत तयार भएन । त्यही सेरोफेरोमा चीनले तिब्बतको साविक भूमि सिमांकन अभियान सुरु ग¥यो । यस क्रममा कश्मिरको उत्तर–पश्चिम क्षेत्रको १० प्रतिशत भूमागमा दाबी गर्दै चीनले आफ्नो झन्डा गाड्यो । लद्दाखभन्दा उत्तरतर्फको यो भूभागलाई अक्साई चीन भनिन्छ ।
भौगोलक अवस्थिति
हाल साविकको कश्मिरमा ३ वटा देशको शासन छ । जसमध्ये ६० प्रतिशत भूभागमा भारतको, ३० प्रतिशत भूभागमा पाकिस्तानको र १० प्रतिशत भूभागमा चीनको शासन छ ।
आणविक हतियारलाई बाहिर राखेर विश्लेषण गर्दा आर्थिक तथा सामरिक दृष्टिले भारत पाकिस्तानको तुलनामा कैयौँ गुणा बलियो छ । तर ३० प्रतिशत भूभागमा पाकिस्तानले मज्जासँग शासन गरिरहेको छ । यता भारतले शासन गरेको ६० प्रतिशत भूभागमा निरन्तरजसो अशान्ति छ । आखिर किन भइरहेको छ त यस्तो ? पाकिस्तानी कश्मिरमा शासन सत्ताको पकड दह्रो बन्दै जानु तर भारतीय कश्मिरमा शासन सत्ताको पकड कमजोर हुनुका विविध कारण छन् । जसमध्ये सबैभन्दा महत्वपूर्ण कारण भनेको भौगोलिक अवस्थिति हो ।
पाकिस्तानी कश्मिरभित्र पनि २ वटा क्षेत्र छन् । एउटा क्षेत्र हो, आजाद कश्मिर । अर्को क्षेत्र हो, गिलगिट बाल्तिस्तान । आजाद कश्मिरको क्षेत्र खासै ठूलो छैन तर जनघनत्व बढी छ । सबैजसो मुस्लिम जनसंख्या छ । यो जनसंख्याले आफूलाई पाकिस्तानको अभिन्न अंग मान्छ । पाकिस्तानले पश्चिम तर्फको दुर्गम क्षेत्रका जनतालाई ल्याएर आजाद कश्मिरमा बसोबास गराएको छ । किनकी आजाद कश्मिर भौगोलिक रूपमा सुगम मात्रै होइन, हवापानी राम्रो छ, खेतीयोग्य जमिन छ । खनिजस्रोतले भरिपूर्ण छ ।
यता पाकिस्तान नियन्त्रित अर्को क्षेत्र गिलगिट बाल्तिस्तान भौगोलिक रूपमा निकै ठुलो छ, तर जनसंख्या पातलो छ । बौद्धमार्गीहरूको संख्या पनि उल्लेख्य छ । गिलगिट बाल्तिस्तान क्षेत्र भारतीय कश्मिर श्रीनगर क्षेत्रबाट ठिक उत्तरतर्फ पर्छ । तर हिमालय पर्वत शृंखलाका कारण श्रीनगरबाट सिधै गिलिगिट उपत्यका पुग्न ज्यादै नै कठिन छ । श्रीनगरबाट गिलगिट पुग्न लद्दाखको लेह सहर हुँदै घुमाउरोबाट तय गर्नुपर्ने हुन्छ । लद्दाख पुग्नका लागि पनि हिमाञ्चल प्रदेश हुँदै ५ हजार ८०० मिटर उचाइको भन्ज्याङ पार गर्नपर्ने हुन्छ । त्यसैले विगतमा भारतीय सेना चाहेर पनि गिलगिट बाल्तिस्तान क्षेत्र नजिक पुग्न सक्ने अवस्था थिएन । तर, अहिले सडक यातायत पुगेका कारण लद्दाखको लेहभन्दा निकै पश्चिमोत्तर क्षेत्रमा भारतीय सेना गर्मी मौसममा पुग्न थालेको छ ।
यता पाकिस्तानको इस्लामावादबाट भने सिन्धुनदीको कोरिडोर हुँदै गिलगिट बाल्तिस्तान उपत्यका पुग्न निकै सहज छ । आम नेपालीले बुझ्ने गरी सजिलो भाषामा भन्नुपर्दा मनाङ उपत्यकाको उदाहरण दिन सकिन्छ । मनाङ उपत्यकाको सिधा दुरी पोखराबाट करिब ४० किलोमिटर छ । तर, हिमाली शृंखलाका कारण अवात जावत संभव छैन । यता लमजुङको बेशीसहरबाट मनाङ उपत्यका दुरीको हिसाबले टाढा छ, तर मस्र्याङ्दी कोरिडोर प्रयोग गर्न सकिने भएकोले बेसीसहरबाट मनाङ पुग्न सहज छ । गिलगिट बाल्तिस्तान क्षेत्रको अवस्था पनि त्यस्तै हो । नजीक भएर पनि भारतबाट बाटो छैन, तर टाढा भए पनि पाकिस्तानबाट बाटो छ ।
गिलगिट बाल्तिस्तान क्षेत्रको अर्को विशेषता भनेको उचाइ कम हो । हिमालय पर्वत श्रेणी र काराकोरम पर्वत श्रेणीको सिमा छुट्याएको सिन्धु नदीको बेसी क्षेत्र निकै कम उचाइमा छ । गिलगिट बाल्तिस्तान क्षेत्रमा पर्ने सिन्धु तथा यसका सहायक नदीहरूले बनाएका फाँटहरूको उचाई समुन्द्रको सतहबाट ८०० देखि २ हजार २०० मिटर सम्मको छ । यस्तो ठाउँ भनेको मानव बसोबास तथा कृषिकर्मका लागि अत्यन्त उपयुक्त मानिन्छ ।
गिलगिट बाल्तिस्तान आवतजावतको दृष्टिले पाकिस्तानबाट अत्यन्त सुगम र भारतबाट अतन्त दुर्गम रहेको छ । यति हुँदाहुँदै पनि यो क्षेत्र हात पार्न भारत किन मरिमेटेर लागेको छ ? भन्ने प्रश्नको उत्तर पनि जान्नुपर्ने हुन्छ । पहिलो कुरा त विश्वको दोस्रो ठूलो हिमशिखर के टु यसै क्षेत्रमा पर्छ । दोस्रो कुरा यो क्षेत्र अफगानस्तानसँग सिमा जोडिएको छ । तेस्रो कुरा चीनले यही क्षेत्र हुँदै पाकिस्तानको इस्लामाबादबाट अरब सागरसम्म फराकिलो सडक मार्ग जोडेको छ । चौथो कुरा यो क्षेत्रबाट पूर्वी युरोप पुग्न सहज छ ।
प्राकृतिक सम्पदा जलस्रोत
कश्मिरलाई भारत र पाकिस्तानले आफ्नो अस्तित्वको लडाइँ बनाउनुका महत्वपूर्ण कारणहरूमध्ये एउटा कारण यस क्षेत्रको अथाह जलस्रोत हो । आफ्नो देशका लागि पानीको संकट आगामी दिनमा अझै बढ्ने अनुमान भारतको छ । पाकिस्तानको जीवनदायिनी भनेको सिन्धु नदी हो । सिन्धु तथा यसका सहायक नदीहरूमा हिउँद याममा जति पानी प्रवाह हुन्छ त्यसको ६० प्रतिशत पानी कश्मिरको जलाधार क्षेत्रबाट आपूर्ति हुने गर्छ । सिन्धुनदीबाट पाकिस्तानको करिब ५ लाख वर्गकिलोमिटर क्षेत्रमा सिँचाइ सुविधा उपलव्ध भएको छ ।
कश्मिरको पनि गिलगिट बाल्तिस्तान क्षेत्रले मुख्य सिन्धुनदीको जलाधारमा ६० प्रतिशतभन्दा बढी योगदान पु¥याउँछ । सिन्धुका सहायक नदीहरू सतलज, रावि तथा चेनवको ८० प्रतिशत पानी भारतले उपभोग गरिरहेको छ । कुनै पनि बेला यी नदीको २० प्रतिशत पानीसमेत ठप्प पार्न भारतपछि नपर्ने बुझाइ पाकिस्तानको छ । त्यसैले मुख्य सिन्धुनदीलाई कुनै पनि हालतमा जोगाउनका लागि पाकिस्तानले गिलगिट बाल्तिस्तान क्षेत्रलाई जीवनमरणको सवाल बनाएको छ । यता गिलगिट बाल्तिस्तान क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिनसके पानी आपूर्ति अवरुद्ध गर्ने त्रास देखाएर पाकिस्तानलाई सदाको लागि आफ्नो टाङमुनि छिराउन सकिने संभावना भारतले देखेको छ ।
गिलगिट बाल्तिस्तान गुम्यो भने भारतको हात माथि हुन्छ भन्ने कुरा पाकिस्तानले बुझेको छ । सायद पाकिस्तानले आणविक हतियारको जोहो गरेको यसैका लागि हो । गिलगिट बाल्तिस्तान आफ्नो नियन्त्रणमा रहँदासम्म पानीको मामिलामा पाकिस्तान ढुक्क हुने अवस्था छ । किनकी अफगानस्तानबाट सिन्धु नदीमा मिसिने काबुल, गोमल, काराकोरम, झोव लगायतका करिव १ दर्जन नदीसमेत पाकिस्तानको पानीका स्थायी स्रोत हुन् ।
प्रतिक्रिया