
मुगु । नेपाली सेनाले मुगु जिल्लाको दुर्गम तथा विकट पालिकामा हेलिप्याड बनाएर पालिकालाई हस्तान्तरण गरेको छ ।
मुगु जिल्ला स्थित मुगम कार्मारोङ गाउँपालिकाको केन्द्र पुलुमा हेलिप्याड बनाइ मुगुम कार्मारोङ गाउपालिकालाई हस्तान्तरण गरिएको हो ।
शुक्रबार उत्तर पश्चिम पृतनाका पृतनापति उपरथी अनुपजंग थापाले मुगुम कार्मारोङ गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामालाई नेपाली सेनादारा निर्मित हेलिप्याड हस्तान्तरण गरेका थिए । हस्तान्तरण कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले नेपाली सेनाको प्रसंशा गरे ।
मुगुका जनताले विभिन्न विपदमा उद्धार तथा राहत समयमै पाएका थिएनन् भने सुत्केरी आमा र विरामी जनताले समयमै उपचार नपाउँदा अकालमै ज्यान गुमाउनु परेको थियो । पैसा भएर पनि समय मै सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न नपाउँदा ज्यान गुमाउनु परेको थियो अब पालिका मै मापदण्ड अनुसारको हेलिप्याड बनेकाले आवश्यक परेको बेला जनताले हेलिकप्टरको सेवा लिने छन भने राज्यले दिने सेवा सुविधा जनताले समयमै पाउने छन् ।

नेपाली सेना नेपाली जनताको भएकाले नेपाली जनता विपतमा पर्दा दुर्गमता,विकटता महसुस गर्न नपाइ राज्य छ भन्ने जनताले देख्न, भोग्न सकुन् भनेर नेपाली सेनाले विकट तथा दुर्गम क्षेत्रमा हेलिप्याड बनाइ स्थानिय सरकारलाइ हस्तान्तरण गर्दै आएको हेलिप्याड निर्माणले विपत उद्धार,जटिल प्रसुती आमाको उद्धार तथा प्रकोपहरुमा उद्धार तथा राहत उपलब्धतामा सरोकार निकाय तथा तिनै तहका सरकारहरुलाइ सहज हुने पृतनापति अनुपजंग थापाले बताए ।
मुगु जिल्लाको मुगुम कार्मारोङका २ दर्जनभन्दा बढी पाटनहरुमा बहुमूल्य बुटी यार्सागुम्बा पाइने भएकाले जिल्लाभित्र र बाहिरका गरेर हजारौँ मानिस यार्सा टिप्न यहाँ पुग्ने गर्दछन् । उच्च हिमाली भू–भाग, मौसममा फेरबदल आइरहने, अक्सिजनको कमी, अत्याधिक चिसोका कारण बर्सेनी दजनौँ यार्सा संकलकहरु बिरामी हुने र समयमै उपचार नपाउँदा मृत्युको मुखमा पुग्ने भएकाले हेलिप्याड निर्माणले पाटनहरुमा बिरामी हुनेहरुको समयमै उद्धार भएर उपचार सेवा पाउने हनुमान ध्वज गुल्मका गुल्मपति खिमबहादुर अधिकारिले बताए ।

हेलिप्याड निर्माणका लागि लागत अनुमान बजेट १६ लाख ४७ हजार ६३० रुपैयाँ ६० पैसा भए पनि निर्माण कम्पनी नवीन निर्माण सेवाले ८ लाख ४४ हजार १७३ रुपया ६० पैसामा निर्माणको जिम्मा लिइ २०८२ साल असार १ गतेभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो ।
नेपाली सेनाको हनुमान ध्वज गुल्म हुटु राराले हेलिप्याड निर्माणको जिम्मेवार युनिट रहेर नवीन निर्माण सेवाले २०८१ साल माघ २५ गते निर्माण सुरु गरी २०८२ जेठ २ गते हेलिप्याड निर्माण सम्पन्न गरेपछि शुक्रबार नेपाली सेनाले उक्त हेलिप्याड पालिकालाई हस्तान्तरण गरेको हो ।


मुगु
प्रतिक्रिया