पर्सा । कलैया उपमहानगरपालिका– ३ गगांपुरस्थित रहेको मधेस प्रदेश सरकारअन्तर्गत रहेको श्रम तथा यातायात मन्त्रालयको मातहतमा पर्ने यातायात व्यवस्था कार्यालय कलैयाले सन्तोषजनक राजस्व संकलन गरेको छ ।
चालु आव २०८१–८२ को साउन १ गतेदेखि जेठ ६ गते सम्मको ८ महिना ५ दिनको अवधिमा ८ करोड २१ लाख ७० हजार १३२ रुपैयाँ बराबरको राजस्व संकलन गरेको कार्यालय प्रमुख अरविन्दर दासले जानकारी दिए । साथै सो कार्यालयले सबैभन्दा बढी सवारी कर शीर्षकमा राजस्व संकलन गरेको हो उनको भनाइ छ । तसर्थ जसमा ३ करोड ८३ लाख ८७ हजार रुपैया संकलन भएको प्रमुख दासले बताए ।
सो कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार अनुमती पत्र पास (नयाँ) शिर्षकबाट रु एक करोड ७९ लाख ६५ हजार राजस्व संकलन गरिएको छ । त्यसपछि अनुमति पत्र दर्ता (नयाँ) शिर्षकमा रु ८३ लाख ७६ हजार तथा पटके शिर्षकबाट रु ३९ लाख ९२ हजार ४० संकलन भएको तथ्यले देखाएको छ । साथै, दर्ता थपमा रु ३३ लाख ६२ हजार र नवीकरण शिर्षकमा रु २७ लाख १६ हजार राजस्व संकलन गरेको सो कार्यालयले जनाएको छ ।
सवारी नवीकरण, विविध, शुल्क आयकर र अन्य शिर्षकहरुबाट पनि मनग्य आम्दानी भएको तथ्यांकले देखाएको छ । साथै, यस दैनिकसँग कुरा गर्ने क्रममा प्रमुख दासले सेवाग्राहीलाई सहज रुपमा पनि सेवा, सुविधा लिने कार्यामा कुनै अप्ठ्यारो नहुने जिकिर गरेका छन् । उनले सेवाप्रवाहलाई सहज, पारदर्शीता र जनमुखी बनाउन कुनै समस्या बाँकी नरहेको बताए ।
कर्मचारी व्यवस्थापन, अनुगमन र प्रविधिको प्रयोगमा विशेष ध्यान दिइएको छ । दासका अनुसार डिजिटल प्रणालीको प्रभाकारिताले सेवाग्राहीहरु सन्तोषजनक रहेको छ । राजस्व तिर्न र सवारी साधनसम्बन्धी काम गर्न सजिलो भएको छ ।
कार्यालय प्रमुखले माघ ८ गतेदेखि आफू कार्यालयको जिम्मेवारी सम्हालेको र आफ्नो कार्यकालपछि मासिक राजस्व रु ६१ लाखले बढेको दाबी गरे ।
भारतीय सीमावर्ती क्षेत्रसँग जोडिको कलैयामा देखिएको यो सुधार प्रदेश सरकारको प्रशासनिक सक्रियता र संस्थागत क्षमताको उदाहरणको रुपमा लिइएको हो । आगामी दिनमा प्राविधिमैत्री, पारदर्शी र सेवामुखी प्रक्रियाबाट राजस्व संकलनमा थप फड्को मार्ने प्रमुख दासले बताए ।
प्रतिक्रिया