पूर्वीनाकामै छैन होल्डिङ सेन्टर

झापा । पूर्वी नाका काँकडभिट्टामा दैनिक सयौंको आवतजावत भइरहे पनि कोरोनाका शङ्कास्पद बिरामीलाई राख्ने होल्डिङ सेन्टरको व्यवस्था छैन । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाको अध्यक्षतामा सोमबार बसेको सङ्कट व्यवस्थापन केन्द्रको बैठकले काँकडभिट्टामा एक हजार क्षमताको होल्डिङ सेन्टर आवश्यक रहेको निष्कर्ष निकालेको छ ।

स्थानीय श्रोत साधन अपर्याप्त भएको जनाउँदै बैठकले यसको निर्माणका लागि प्रदेश र संघीय सरकारसँग सहयोगको आग्रह गरेको उनले जानकारी दिए । भारतमा कोरोना भाइरसको संक्रमण तीब्र दरमा फैलिएपछि स्वदेश फर्किनेहरुका नाकामा भीड लाग्न थालेको छ । अहिले नाका भित्रिनेहरुलाई सुरक्षा निकायले निर्माण गरेको चेकजाँच स्थलमा केहीबेर राखेर पठाइने गरेको छ ।

मेचीनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाले नाकामा होल्डिङ सेन्टर बनाउने विषय नगरको मात्र नभएर प्रदेश र संघीय सरकारको सरोकारको विषय भएको बताए । उनले जिल्ला प्रशासन कार्यालय, प्रदेश सरकार र संघीय सरकारसँग यस विषयमा सल्लाह भइरहेको जानकारी दिए ।

भारतबाट आउने व्यक्तिको एन्टिजेन परीक्षण गर्दा संक्रमण पुष्टि भएमा मेचीनगरबासी भए तत्कालै नगरपालिकाको एम्बुलेन्सले आवश्यकता अनुसार होम आइसोलेसनसम्मै पुर्याउने गरिएको उनले बताए । गत वर्ष काँकडभिट्टा माध्यमिक विद्यालयमा होल्डिङ सेन्टर सञ्चालन गरिएको थियो । विद्यालय सञ्चालन गरिने भएपछि होल्डिङ सेन्टर बन्द गरिएको थियो ।

नाकाको मेची पुलको मुखमै हाल नेपाली सेनाले तीन वटा टेन्ट टाँगेर कामचलाउ होल्डिङ सेन्टर निर्माण गरिदिएको र त्यहाँ २५ जनासम्म राख्न सकिने क्षमता रहेको मेचीनगर नगरपालिका – वडा ६ का अध्यक्ष ललित तामाङले जानकारी दिए ।

उनले नाकामा गत वर्षको झैँ होल्डिङ सेन्टर व्यवस्थित गर्न आवश्यक रहेको जनाउँदै क्वारेन्टाइन र कोभिड हस्पिटल समेत नाका नजिक सञ्चालन गर्न आवश्यक भइसकेको बताए । जिल्लामा हालसम्म सङ्क्रमितको सङ्ख्या ४८१९, डिस्चार्ज ४५१९, आइसोलेसनमा १६९ जना, कूल सङ्क्रमित एन्टिजेन २९ जना र मृत्यु हुनेको सङ्ख्या १३१ जना पुगेको छ ।

प्रतिक्रिया