कविता ‘सुकेको जरा’

तेजविलास अधिकारी

पटक–पटक
राखेर उम्रने चाहना
जसरी मरिरहेछ
प्याजको जरा
अलिकता हरियो रङ
अलिकता थपिएको चाउरीपन
माटो नपाएर थाकेका जरा ।

न पायो माटो
न पुग्यो मुक्त हुने चाहना
टुलुटुलु हेर्दै
मान्छेको भान्सामा
नचढिएको बलि
अनि
नपाएको माटो ।

सुकेको जरा
जरा छ तर
उम्रने आशामा पनि
प्रयासमा पनि
प्रत्येक क्षण मर्दै–मर्दै
आशै आशामा
मान्छे
प्याजकै नियति भोगिरहेछ
दिन प्रतिदिन ।

व्यवस्थाको परिवर्तनमा
उत्साही ऊ
अवस्था देख्दा–हेर्दा
छक्क छ–दिक्क छवाक्क छ
नयाँ मुहारहरू
फेरिरहेछन् पोशाक
बजाइरहेछन् कर्कश वाद्य
भद्दा बन्दै गएको
जनाधिकारको नारा ।

दिउँसै लुटपाट छ
राज्यको निकाय रक्षक बन्दै
श्रमिकको श्रम लुटिरहेछ
चलाएर सवारी फेरि पनि
दिइरहेछ नारा
प्लास्टिकका फूलको
जरा सुकेको छ
जराको काटिएको छ चित्त
जतिसुकै घोक्रो फुलाएर
गरुन् भाषण
तथाकथित माननीयहरू
जरा सुक्नु राम्रो लक्षण होइन
हुँदै होइन
हेर त फैलन नपाएको जराको
हेर त शिर
कति होला तरोताजा
कति होला स्वस्थ ।

प्रतिक्रिया