खेल-खेलाडी

पुलिसलाई हराउँदैं हेल्प नेपालको चौथो जित

सौर्य अनलाइन २०७७ चैत २३ गते २१:२३ मा प्रकाशित

काठमाडौं । उपाधि दावेदार टिप टप हेल्प नेपाल स्पोर्ट्स क्लबले राजधानीमा जारी पाँचौ संस्करणको आरबीबी एनभिए कप राष्ट्रिय महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिपको पुरुषतर्फ लगातार चौथो जित निकाल्दै फाइनल नजिक पुगेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा सोमबार भएको खेलमा हेल्प नेपालले विभागीय नेपाल पुलिस क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै लगातार चौथो जितसहित फाइनल नजिक पुगेको हो । अब हेल्प नेपालालाई फाइनल प्रवेश गर्न बाँकी दुई मध्ये एक खेलमा जित निकाले पर्याप्त हुनेछ । हेल्प नेपालले अब आर्मी र एपिएफसँग खेल्न बाँकी छ । लगातार चौथो जित निकालेको हेल्प नेपालको १२ अंक छ । पराजित पुलिसको चार खेलबाट ६ अंक छ ।

हेल्प नेपालले पहिलो सेट २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेट २५–१६ ले जितेको हेल्प नेपालले तेस्रो सेट २५–२० ले आफ्नो पक्षमा पारेको थियो । तीन भारतीय खेलाडी र गण्डकी प्रदेशका खेलाडी सम्मिलित हेल्प नेपालसामु पुलिसको प्रदर्शन फितलो देखिएको थियो । लिगमा सोमबार पुरुषतर्फ आर्मी तथा मणि मुकुन्द र नयाँबजारबीच प्रतिस्पर्धा हुनेछ ।

२६ चैतसम्म हुने प्रतियोगितामा पुरुषतर्फ ७ तथा महिलातर्फ ६ टोलीको सहभागिता छ । लिगपछि शीर्ष दुई टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । लिग अवधिभर खेलाडी र अफिसियलको बिमा गरिने संघले जनाएको छ । प्रतियोगिताको पुरुष र महिला दुवैतर्फको विजेताले ३ लाख रुपैयाँ हात पार्नेछन् । दोस्रो हुनेले १ लाख ७५ हजार, तेस्रोले ७५ हजार तथा चौथो हुने टोलीले ३७ हजार ५ सय प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले समान २५–२५ हजार प्राप्त गर्नेछन् । व्यक्तिगत विधाका उत्कृष्ट लिवेरो, स्पाइकर, ब्लकर, सर्भर, सेटर र प्रशिक्षकले जनही १०–१० हजार रहात पार्नेछन् ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय