एआरए विजय स्मृति गोल्ड कप च्याम्पियन

चितवन । अफ्रिकन रुट्स एसोसिएसन (एआरए) क्यामरुनले सेन्ट्रल कलेज स्व विजय खड्गी स्मृति गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । नारायणगढको क्याम्पाचौरमा शनिबार भएको फाइनलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई ३–१ ले हराउँदै एआरए च्याम्पियन बनेको हो । एआरएको जितमा किउटे, बास्सेक र मौसाले गोल गरे । आर्मीका सुशान्त चौधरीले एक गोल फर्काए । खेलको पहिलो हाफमा विदेशी टोलीले आर्मीलाई निकै दबाबमा राखेको थियो । ४० औं मिनेटमा किउटेले गोल गर्दै एआरएलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा एआरएले २ गोल थप्यो । ४८ औं मिनेटमा नै बास्सेकले एआरएको अग्रतालाई दोब्बर बनाए ।

६१ औं मिनेटमा मौसाले गोल गर्दै एआरएलाई ३–१ को अग्रता दिलाए । ७३ औं मिनेटमा सुशान्तले आर्मीका गोल फर्काए । आर्मीले थप गोलको अवसर सृजना गरे पनि सफल भएन । खेल अवधिभर क्यामरुनले आर्मीलाई खुलेर खेल्न दिएन । खेलको म्यान अफ दि म्याच एआरएका केउटे घोषित भए । उपाधिसँगै एआरएले उपाधिसहित ३ लाख र आर्मीले १ लाख ५० हजार रुपैयाँ प्राप्त गर्यो । विजेता टोलीका मौसा प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै २० हजार रुपैयाँ प्राप्त गरे ।

एआरएका गुएमो उत्कृष्ट डिफेन्डर, आर्मीका रमेश भुजेल उत्कृष्ट मिडफिल्डर, ५ गोल गरेका आर्मीकै सुशान्त सर्वाधिक गोलकर्ता, नुवाकोट युनाइटेड एफसीका प्रयास तामाङ उदयमान खेलाडी र क्यामरुनका सर्ज बोरिस उत्कृष्ट प्रशिक्षक घोषित भए । उत्कृष्टले समान ५ हजार रुपैयाँ प्राप्त गरे । चितवन जिल्ला फुटबल संघको आयोजनामा भएको प्रतियोगिताबाट बचत रकम स्वर्गिय विजय खड्गीको छोराको अध्ययनका लागि सहयोग गरिनेछ बताइएको छ । एन्फा २०५७ ब्याचका खड्गीको वैदेशिक रोजगारका क्रममा कतारमा ३२ वर्षको उमेरमा निधन भएको थियो । उनले नेपालको यू १३ र यू १४ गरी दुई उमेर समूहका खेल खेलेका थिए । उनले चितवनका लागि थुप्रै प्रतियोगिता खेलेका थिए । खड्गीकी श्रीमती र ३४ महिनाका छोरा छन् ।

प्रतिक्रिया