जनयुद्धका घाइतेको पीडा : ‘दुईपटक आत्महत्याको प्रयास गरेँ’

धनगढी । जनयुद्धमा दायाँ खुट्टा गुमाएका सञ्जय कट्टेलले आर्थिक अभावका कारण खुट्टा फेर्न सकेका छैनन् । नौ वर्षअघि फेरेको कृत्रिम खुट्टाको सहायताले सामान्य हिँडडुल गर्दै आएका कट्टेलले आर्थिक अभाव हुँदा खुट्टा फेर्न नसकेका हुन् । बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–३ का कट्टेल १० कक्षामा अध्ययनरत हुँदा भूमिगत भएका थिए । तत्कालीन माओवादी जनयुद्धमा ०६१ चैत २५ मा रुकुम खारामा भएको सशस्त्र लडाइँमा कट्टेल घाइते भएका थिए ।

उक्त लडाइँमा टुइन्च मोटरको सेल लागेर खुट्टा गुमाएका थिए । नजिकको स्वास्थ्यचौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि रोल्पाको उवा गाउँमा लगेर माओवादी सेनाको स्वास्थ्यकर्मीको टोलीले उपचार गरेको उनको भनाइ छ । त्यो उपचारले मात्र सम्भव थिएन उनको घुँडाभन्दा तलको भाग टुइन्च मोटरको सेल लागेर क्षतविक्षत भइसकेको थियो । बाहिर लगेर उपचार गर्न पनि अप्ठ्यारो थियो युद्ध चर्काचर्की अवस्था भएकाले जसोतसो भारत लैजाने व्यवस्था मिलाएर १९ दिनपछि लखनउ पु¥याए पनि उनको उपचार हुन नसकेको उनले बताए ।

उनले भने, ‘लखनउमा पनि दुई÷तीन वटा अस्पतालमा उपचारका लागि गइयो तर त्यहाँ उपचार सम्भव भएन । खुट्टा कुहिएर गन्हाउन थाल्यो । त्यसपछि दिल्ली हुँदै पन्चाबको रन्दवा अस्पतालमा लगेर उपचार गर्न सुरु गरियो ।’ मलिन अनुहारमा उनले फेरी थपे, ‘डाक्टरले खुट्टा काट्नुपर्छ भने मैले नकाट्न सुझाव दिए तर काट्नै पर्ने अवस्था आयो र खुट्टा काटियो । घुँडाभन्दा तलको भाग काटियो त्यति गर्दा पनि सञ्चो नभएपछि ०६२ भदौ १८ गते दोस्रो अप्रेसन गरि फेरी घुँडाभन्दा अलि माथिसम्म काटियो । त्यसपछि सञ्चो भयो अनि दुई÷तीन महिना आराम गरेर कृत्रिम खुट्टा हाल्न पार्टीले दिल्ली लग्यो र खुट्टा हालियो अनि नेपाल आएँ ।’ कलकलाउँदो २२ वर्षको उमेरमा कृत्रिम खट्टाको सहायताले हिँड्नुको पीडा त छँदैथ्यो नेपालमा युद्ध चर्काचर्कीको अवस्था हुनाले बस्न पनि गाह्रो भएको पीडा सुनाए ।

कमसलखालको खुट्टा प्रयोग गरिँदा पटकपटक खुट्टा फेरी रहनुपर्ने भएकाले उनले पाँचपटक फेरीसके । पछिल्लोपटक फेरिएको खुट्टा अलि महँगो भएकाले नौ वर्ष टिकेको उनले बताए । तर, त्यसको पनि एक वर्षअघि म्याद समाप्त भएको र चिकित्सकले फेर्न सुझाव दिए पनि आर्थिक अवस्था कमजोर भएका कारण खुट्टा फेर्न नसकेको उनको भनाइ छ । पछिल्लोपटक फेरिएको खुट्टाको तीन लाख पर्ने भएको र पैताला धेरै नटिक्ने भएकाले राम्रै खुट्टा हालेर पारा ओलम्पिकसमेत खेल्ने चाहाना रहेको उनले बताए । तर, आर्थिक अवस्था कमजोरका कारण खुट्टा फेर्न सकिरहेका छैनन् ।

पटकपटक मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय धाउँदा पनि आर्थिक सहयोग नभएको उनको गुनासो छ । प्रदेश सरकारले जनयुद्धको घाइतेको उपचारका लागि ५० लाख विनियोजन गरेको भए पनि कार्यविधि पास नभएकाले आफूहरूले उपचार खर्च नपाएको बताउँदै उनले भने, ‘कहिले कार्यविधि पास हुन्छ आर्थिक वर्ष सकिन लाग्यो कहिले हामी उपचार खर्च पाउँछौँ ।’

पढ्ने लेख्ने उमेरमा जनयुद्धमा लागेका कट्टेलको ११ जनाको परिवार भएको बताउँदै भने सबै मेरै निर्भरमा छन् म केही काम गर्न नसक्ने अवस्थामा छु । आर्थिक अवस्था कमजोर भएकै कारण आफूपनि डिप्रेसनमा गएको उनको भनाइ छ । दुईपटक आत्महत्याको प्रयास गरेँ तर परिवारले बचाए उनले भने डिप्रेसनमा गएर १५ महिना औषधि खाएँ । समस्या धेरै छन् आर्थिक अवस्था कमजोर छ, केही व्यवसाय गरौँ भने पैसा छैन के गरेर घरपरिवार पाल्ने, कसरी उपचार गर्ने कट्टेलले दुःखेसो पोखे । पटकपटक आफ्नो पार्टीको सरकार बन्दा पनि आफूहरूलाई सधैँ सरकारले उपेक्षा गरेको उनको गुनासो छ । उनले भने हामी जनवादी व्यवस्था ल्याउनका लागि युद्धमा लाग्यौँ शरीरका अंग गुमायौँ तर अहिले सडकछापको भूमिकामा छौँ ।

आफूले लडेर ल्याएको व्यवस्थामा आफैं नअटाएको उनको भनाइ छ । राज्यले सबै घाइतेको घरघरमा पुगेर समस्या बुझ्न नसके घाइतेको तथ्यांक लिएर केयर सेन्टर बनाएर राख्नुपर्ने उनको भनाइ छ । धेरै घाइतेका बस्ने घर नभएको दुई छाक खान पनि मुस्किल भएको र उपचार नपाएको उनले बताए । उनले भने घाइतेको आर्थिक अवस्था कमजोर भएकै कारण पत्नी घाइते भए पतिले छाड्ने र पति घाइते भए पत्नीले छाड्ने समस्या आएको छ । सरकारले रोजगारी दिनुपर्ने, बस्ने व्यवस्था गर्नुपर्ने र बच्चाहरूलाई पढाउने व्यवस्था गरिदिनुपर्ने उनको भनाइ छ ।

प्रतिक्रिया