रुष्ट रोनाल्डो

लण्डन । सर्बियाविरुद्ध अन्तिम समयमा आफूले गरेको विजयी गोललाई रद्द गरिएकोमा रुष्ट बनेका पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो कप्तानको आर्मब्यान्ड च्यातेर सिधै ड्रेसिङ रुममा हानिए । रोनाल्डोको निर्णायक गोल रद्द हुँदा शनिबार विश्वकप छनोटअन्तरगको खेलमा पोर्चुगल सर्बियासँग २–२ को बराबरी खेल्न बाध्य बन्यो ।

दुई गोलको अग्रता गुमाएको पोर्चुगललाई युभेन्टसका स्टार खेलाडीले जीत दिलाएको ठानेका थिए । तर, उनको गोललाई गलत रुपमा रद्द गरिँदा सर्बियाले बराबरीको खुसियाली मनाउन पायो । पहिलो छनोट खेलमा अजरबैजानलाई १–० ले हराएको युरोपियन च्याम्यिनले शनिबारको खेल जित्दै ६ अंक बटुल्ने आशामा थियो । डिएगो जोटाले दुई गोल गर्दै टोलीलाई अग्रता पनि दिलाए । तर, हार नमानेको सर्बियाले त्यसपछि दुई गोल फर्काउँदै खेल बराबरी गर्यो ।

यद्यपि, अन्तिम मिनेटमा सर्बियाको प्रयास खेर जाने लागेको थियो, जब रोनाल्डोको प्रहारले गोललाइन पार गर्यो । टेलिभिजन रिप्लेमा बलले लाइन पार गरेको प्रष्ट देखिए पनि रेफ्रीले सो गोललाई मान्यता दिएनन् । गोलको खुसियाली मनाउन शुरु गरिसकेका रोनाल्डो त्यसपछि रेफ्रीसँग वादविवाद गर्न पुगेका थिए । उनलाई त्यसका लागि पहेँलो कार्ड पनि देखाइयो । क्रुद्ध बनेका रोनाल्डो खेलको अन्तिम सिटी फुक्न अघि नै कप्तानको आर्मब्यान्ड च्यात्दै मैदान छाडेर निस्किए । यस्तो गल्ती नहोस् भनेर फुटबलमा गोल लाइन प्रविधि र भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) गर्न थालिएको छ । तर, यस्तो प्रविधि छनौट खेलमा राखिएको थिएन । जसले गर्दा गोल भए पनि रोनाल्डो छनोट खेलमा पहिलो गोल गर्नबाट बञ्चित भए ।

प्रतिक्रिया