एनएसएल अक्सन – कुन खेलाडी कतिमा बेचिए

काठमाडौं । अर्को महिना आयोजना हुने नेपाल सुपर लिग (एनएसएल) का लागि शुक्रबार भएको अक्सनमा राष्ट्रिय टोलीका सुजल श्रेष्ठसहित ८ खेलाडी सर्वाधिक रकममा बिक्री भएका छन् । अक्सनका लागि ए, बी, सी गरि ३ श्रेणीमा विभाजन गरिएको थियो । ए श्रेणीका खेलाडीका लागि न्यूनत्तम १ लाख र अधिक्तम २ लाख रुपैयाँ तोकिएको थियो । २ लाखमा सुजलसहित विकास खवास, एरिक बिष्ट, दीनेश राजवंशी, दिप कार्की, विशाल सुनुवार, सुनिल बल र तेज तामाङ छन्।

यी ८ जना खेलाडीका लागि एक भन्दा बढी फ्रेन्चाइज टोलीले खरिद गर्ने इच्छा देखाएपछि गोला प्रथामा टोली तय भएको थियो । गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा नेपालले स्वर्ण पदक जित्दाका कप्तान सुजललाई लिन लागि ४ टोलीले बोली लगाएका थिए । सहिद स्मारक ए डिभिजन लिग विजेता मच्छिन्द्र क्लबका सुजललाई गोलाप्रथामा पोखरा थण्डर्सले प्राप्त गर्यो । ४ टोलीले बोली लगाएपछि त्रिभुवन आर्मी फुटबल क्लबका डिफेण्डर विकासलाई एफसी चितवनले पाएको थियो । एरिकका लागि दुई टोलीबीच प्रतिस्पर्धा हुँदा ललितपुरले बाजी मारेको थियो ।

पोखराले मनाङ मस्र्याङ्गदी क्लबका गोलरक्षक दिप कार्कीलाई पनि तीन टोलीको भिडन्तमा घम्सा बाजी मार्यो । तेज २ लाखमा बिक्री हुने पहिलो खेलाडी बने । सर्वाधिक ६ टोलीको रुचीमा परेका तेज काठमाडौं रेजर्समा पुगे । ३ टोलीको नजरमा रहेका अर्का गोलकिपर विशालको एफसी चितवनको भागमा परे । २ टोलीको प्रतिस्पर्धामा सुनिल विराटनगर सिटी एफसी र दीनेश धनगढी एफसीमा परे ।

७ टोलीको सहभागितामा वैशाख ११ देखि २५ गतेसम्म एनएसएल दशरथ रंगशालामा हुनेछ । बी श्रेणीका खेलाडीका लागि न्यून्तम ५० हजारदेखि अधिक्तम १ लाख २० हजार तथा सीका लागि कम्तीमा २० हजार र बढीमा ७५ हजार रुपैयाँ तोकिएको थियो ।अ क्सनबाट हरेक टोलीले १४ खेलाडी किने । अक्सनमा एउटा टोलीले कम्तीमा १० लाख र बढीमा १५ लाख ५० हजार रुपैयाँ खर्च गर्न पाउथे । त्यसमा एका ३, बीका ४ देखि ६ र सीका ५ देखि ७ खेलाडी किन्न पाउने प्रावधान थियो ।

प्रतिक्रिया