सहिद स्मृति गोल्ड कप : कठिन जितसँगै आर्मी फाइनलमा

हेटौंडा । दोश्रो सेमिफाइनल खेलमा क्यामरुनी टोलीलाई पाखा लगाउँदै हेटौंडामा जारी स्थानीय तह शहीद स्मृति राष्ट्रिय गोल्डकप तेस्रो संस्करणको फाइनलमा नेपाल आर्मी क्लब प्रवेश गरेको छ । हेटौंडाको वन विज्ञान खेल मैदानमा भएको निकै प्रतिस्पर्धात्मक खेलमा विदेशी टोली अफ्रिकन रुट्स एशोसिएसन (अरास) लाई १–० ले पाखा लगाउँदै आर्मीले आयोजकसँगको फाइनल भिडन्तलाई पक्का गराएको हो ।
बलिया र अग्ला विदेशीका खेलाडीका सामू रक्षात्मक भूमिकामा मैदान उत्रिएको आर्मीले खेलको ६८ औं मिनेटको स्कोर निकालेको थियो । क्रस बललाई सदुपयोग गर्दै आर्मीका आशिष शाक्यले गरेको एक मात्र गोल निर्णायक बनेको थियो । आरसको डि–बक्समा रुमलिएको बललाई शाक्यले सुन्दर गोलमा परिणत गर्दा आर्मीले उपाधि भिडन्तको लागि अन्तिम दुईमा स्थान बनाएको हो ।

अधिकांश बल अरासको नियन्त्रणमा भएता पनि आर्मीले नतिजा निकालेको थियो । उपाधि नजिक पुगेको त्रिभुवन आर्मीले शनिबार आयोजक रिगल रिर्सोट मकवानपुर ११ खेल्नेछ । आर्मीका कप्तान टेकबहादुर बुढाथोकी ‘म्यान अफ दी म्याच’ भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरेका छन् । आर्मीको तुलनामा विदेशी टोली अरासले बलियो प्रदर्शन गरेता पनि फिनिसिङमा चुक्दा अरासले फाइनलको यात्रा गुमाएको छ .
खेलपछि प्रतिक्रिया जनाउँदै आर्मीका प्रशिक्षक नवीन न्यौपानेले खेलाडीहरुले शतप्रतिशत खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । अफ्रिकन टिम बलियो भएता पनि खेलाडीहरुले रणनीति अनुसार खेल्दा नतिजा आफ्नो पक्षमा आएको बताए । यस्तै अरास क्यामरुनका प्रशिक्षक बोरिसले खेलाडीहरुले सोचेको जस्तो खेल्न नसकेको बताए । उनले मैदानमा राम्रो प्रदर्शन गरेता पनि पोष्ट चार्जमा उत्कृष्ट लय नसमातेको बताएका हुन् ।

पहिलो सेमिफाइनलमा लिग विजेता मछिन्द्रलाई स्तब्ध बनाउँदै फाइनल प्रवेश गरेको आयोजक रिगल रिर्सोट मकवानपुर ११ सँग आर्मीले फाईनल खेल्ने छ । रोमाञ्चक खेलमा ४–३ गोल अन्तरले मछिन्द्रलाई हराउँदै मकवानपुर ११ ले घरेलु मैदानमा फाइनल स्थान बनाएको थियो ।
नेपाल आएर पहिलो प्रतियोगितामा सहभागी भएको अरासले आहा रारा गोल्डकप र विराट गोल्डकप खेल्नेछ । क्यामरुनको ‘सेकेण्ड पोजिशन’ को क्लबमा खेल्ने खेलाडीहरुको सहभागितामा अरास नेपालको मोफेसलमा हुने तीन वटा गोल्डकप खेल्न आएको हो । अरासको नेपालमा वैशाखसम्मको भिसा रहेको छ ।

प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख तथा उपविजेताले ५ लाख पाउनेछ । त्यस्तै विधागत उत्कृट हुने खेलाडी ट्रफिसहित नगद २५–२५ हजार प्राप्त गर्नेछन् । प्रतियोगिताका सर्वोत्कृष्ट हुने खेलाडी रोयल इन्फिल्ड ‘बुलेट’ बाईक प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीको लागि नेपालमा हुदै आएको प्रतियोगिताहरुमा सबैभन्दा ठुलो राशीको पुरस्कार रुपमा बुलेट बाइक रहेको आयोजकको दाबी छ ।

प्रतिक्रिया