एन्फा प्रेसिडेन्ट लिग : धम्बोझी र धादिङ समाज विजयी

नेपालगन्ज । लुम्बिनी प्रदेशको च्याम्पियन धम्बोझी क्लब बाँके र बागमती प्रदेशको च्याम्पियन धादिङ समाज धादिङले एन्फा प्रेसिडेन्ट लिगमा विजयी सुरुआत गरेका छन । धम्बोझीले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लब लमजुङलाई १–० ले पराजित गरेको छ । नेपालगन्जस्थित रंगशालामा मंगलबार भएको खेलमा धम्वोझीको जितमा पुर्ण बहादर गुरुङले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ४२औं मिनेटमा गोल गरेका थिए । गोलकर्ता पुर्ण नै खेलको म्यान अफ द म्याच भए । उनले ५ हजार रुपैयाँ हात पारे ।

मंगलबार नै भएको अर्को खेलमा धादिङ समाजले कर्णाली प्रदेशको च्याम्पियन लेकाली युवा क्लब जुम्लामाथि ९–१ को फराकिलो जित निकालेको छ । धादिङको जितमा कप्तान अमिर श्रेष्ठले ह्याट्रिकसहित ४ गोल गर्दा शिशिर लेखीले ह्याट्रिक पुरा गरे । उमेश राई र बिपिन कँडेलले समान एक गोल गरे । लेकालीका कप्तान संगम शाहीले एक गोल फर्काए ।

गोलको वर्षा भएको खेलमा अमिरले खेलको १७, ३६, ६० र ६२औं मिनेटमा गोल गरे । शिशिर लेखीले ६४, ७९ र ८२औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे । उमेश राईले ८९ औं मिनेट र बिपिन कँडेलले २४औं मिनेटमा गोल गरे । लेकालीका संगम शाहीले ५५ औं मिनेटमा गोल फर्काए । अमिर श्रेष्ठ खेलको म्यान अफ द म्याच हुँदै नगद ५ हजार रुपैयाँ हात पारे ।

कपमा बुधबार एकमात्र खेल प्रदेश १ को सैनिक फुटबल क्लब झापा र सुदुरपश्चिमको स्टार सिटी युवा क्लब कैलालीबिच हुनेछ । प्रेसिडेन्ट कपमा सातै प्रदेशक च्याम्पियन ७ टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन् । यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया