अमलेगन्ज– लोथर पेट्रोलियम पाइपलाइन १३ अर्ब लाग्ने प्राविधिक प्रतिवेदन

काठमाडौं । बाराको अमलेखगञ्जदेखि चितवनको लोथरसम्म पेट्रोलियम पमाइपलाइन निर्माण गर्न १३ अर्ब लाग्ने प्राविधिक पतिवेदन तयार भएको छ । पाइपलाइन परियोजनाको अध्ययन गर्न बनेको अध्ययन समितिले सो रकम बराबरको खर्च लाग्ने प्राविधिक प्रतिवेदन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा बुझाएको हो । मोतिहारी—अमलेखगञ्ज पेट्रोलियम पाइपलाइन परियोजनाको सफलतापछि सरकारले उक्त प्रतिवेदन तयार पारेको हो ।

अध्ययन टोलीले सो पाइपलाइन निर्माण कसरी अगाडि बढाउने, कति क्षमताको पेट्रोल भण्डार गर्ने ट्याङकी बनाउने, कति खर्च लाग्ने, निर्माण गर्न कति समय लाग्ने तथा यो पाइपलाइनको सञ्चालनमा आएपछि हुने फाइदाको समेत अध्ययन प्रतिवेदन सरकारलाई बुझाएको हो । पेट्रोलिय पदार्थ भण्डारण गर्न १ लाख किलोलिटर क्षमता भएको अत्याधुनिक पेट्रोल ट्याङकी निर्माण गर्नुपर्ने सो प्रतिवेदनमा उल्लेख गरिएको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताएका छन ।

लोथलरमा १ लाख ३ हजार किलोलिटर पेट्रोल भण्डार क्षमताको टयाङकी निर्माण गर्ने बताइएको छ । खर्चका विषयमा भने कुन मोडालिटीमा कसरी काम गर्ने भन्ने बिषयमा खासै उल्लेख गरिएको छैन । पेट्रोलियम पाइपलाइन समेत निर्माण भएपछि आयल निगमलाई वार्षिक २ अर्ब बचत हुने अनुमान गरिएको छ । डिजेललाई पाइपलाइनबाट ल्याउँदा निगमलाई साढे १ अर्ब रुपैयाँ बचत भएको पनि निगमले जनाएको छ । मासिक रुपमा ६० हजार किलोलिटर पेट्रोल आयात हुने गरेको छ भने १६० देखि १७० किलोलिटरसम्म डिजेल आयात हुने गरेको पनि निगमले बताएको छ ।

भारतको मोतिहारीदेखि अमलेखगञ्जसम्म सञ्चालनमा रहेका पेट्रोलियम पाइपलाइनमै पाइप जोडेर लोथरसम्म विस्तार गरिने पनि प्रतिवेदनमा उल्लेख छ । यसको लागि नेपाल तथा भारत सरकारबीच छलफल भएर स्वीकृत भइसकेको छ । बाराको अमलेखगञ्जदेखि चितवनसम्मको ६९ किलोमिटर लम्बाइ रहेको सो पाइपलाइन निर्माण कार्य मन्त्रालयमा शुरु भएको ३ वर्षमा सम्पन्न हुने आकलन गरिएको छ । यसअघि २०७६ भदौ महिनादेखि भारतको मोतिहारीबाट सो पाइपलाइन मार्फत अमलेखगञ्जस्थित नेपाल आयल निगमको डिपोमा डिजल ल्याउने गरिएको थियो ।

अमलेखगञ्जस्थित निगमको कार्यालयमा पेट्रोल आपूर्ति गर्नको लागि आवश्यक पर्ने पूर्वाधारको काम अगाडि बढाइ सकिएको छ । सो स्थानको ६ बिघा क्षेत्रफलमा रहेको जग्गाको नक्सापास, लागत अनुमान तथा माटो परीक्षणसमेत भइसकेको छ । आयोजना निर्माणको कागजी प्रक्रिया अन्तिम चरणमा पुगेको आयल निगमले बताएको छ ।

प्रतिक्रिया