मेयर कपको विजेताले पाँच लाख पाउने

काठमाडौं । काठमाडौं मेयर कप–२०७७ को विजेताले पाँच लाख रुपैयाँ पाउने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार पत्रकार सम्मेलन गर्दै विजेताले पाँच र उप विजेताले ३ लाख रुपैयाँ प्राप्त गर्ने जनाएको छ । प्रतियोगिता सर्वोत्कृष्ट खेलाडी (प्लेयर अफ द टुनामेन्ट) ले ५० हजार पाउने छ । प्रतियोगिता सर्वोत्कृष्ट ब्याट्सम्यान र बलरले २५–२५ हजार पाउने छन् । प्रतियोगिता उदीयमान खेलाडीको अवार्ड भने दिइने छैन । क्यानका म्यानेजर विनोद दासले सबै प्रधानमन्त्री कप खेलेर आएका खेलाडी हुँदा उदीयमान खेलाडीको अवार्ड नराखिएको बताए ।

प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार पाउने छन् । प्रत्येक खेलमा खेलाडीको म्याच फि २ हजार रहेको छ । खेलाडीको दुर्घटना विमा पनि हुने छ । प्रतियोगितामा माघमा सम्पन्न प्रधानमन्त्री कप पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका चार वटा सेमिफाइनलिस्ट टिमहरू त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशसँगै काठमाडौं महानगरपालिका काठमाडौं मेयर–११ टोली छन् । काठमाडौं मेयर–११ टोलीमा बागमती बाहेक अन्य ६ प्रदेशका खेलाडी छन् ।

क्यानले प्रधानमन्त्री कपमा राम्रो प्रर्दशन गरेका प्रदेशका खेलाडी मिलाएर काठमाडौं मेयर–११ टोली बनाएको छ । काठमाडौं मेयर–११ को कप्तानी नेपाली लेगस्पिनर सन्दीप लामिछानेले गर्ने भएका छन् । पाकिस्तान सुपर लिग खेल्न शनिबार कराँची गएका सन्दीप कोरोना कारण स्थगित भएपछि शुक्रवार नेपाल आइपुग्ने छन् ।

उद्घाटन खेलमा आर्मी र एपिएफ शनिबार टियु मैदानमा प्रतिस्पर्धा गर्ने छन् । सिंगल राउन्ड रोविनको खेलपछि शीर्ष स्थानमा रहने दुई टोली फाइनलमा पुग्ने छन् । फाइनल फागुन २९ मा टियु मैदानमा हुने छ । यस प्रतियोगिता काठमाडौं महानगरपालिकाको आर्थिक सहयोगमा क्यानले आयोजना गर्न लागेको हो । क्यानलाई काठमाडौं महानगरपालिकाले मेयर कपको लागि ५० लाख रुपैयाँ प्रदान गर्ने छ । प्रतियोगिता प्रत्यक्ष प्रसारण एक्सन स्पोर्टस् एचडी च्यानलले गर्ने छ ।

प्रतिक्रिया